खेल विकासका लागि पूर्वाधार आवश्यक

गोरक्ष समाचारदाता
दाङ, १८ मङ्सिर । घोराहीमा चौथो राष्ट्रिय विद्यालयस्तरीय हाप्किडो प्रतियोगिता सुरु भएको छ । नेपाल हाप्किडो संघको आयोजना तथा दाङभ्याली कलेज हाप्किडो डोजाङको सहआयोजनामा बुधवारदेखि घोराहीस्थित दाङभ्याली कलेजको प्राङ्गणमा प्रतियोगिता सुरु भएको हो ।

दाङभ्याली कलेज हाप्किडो डोजाङका प्रमुख प्रशिक्षक एवम् प्रतियोगिताका संयोजक विशाल थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्यले गरेका थिए । स्वस्थ नागरिक र दक्ष जनशक्ति उत्पादनका लागि खेलकुदको महत्व बढ्दै गएको बताउँदै उपाध्यक्ष आचार्यले त्यही कारण विद्यालयमा शिक्षासँगै खेलकुद अनिवार्य जस्तै भएको बताए ।

खेलकुदलाई खेल्ने मात्र नभएर आफ्नो जीवन निर्वाह तथा राष्ट्र निर्माणसँग जोड्न सक्नुपर्ने बताउँदै कार्यक्रमका प्रमुख अतिथि आचार्यले वडा र जिल्लामा खेलकुद मैदान निर्माणसहित भौतिक पूर्वाधार विकासमा जोड दिनुपर्ने बताए । नेपाल हाप्किडो संघका अध्यक्ष कालीबहादुर घर्ती मगरले नेपाल हाप्किडोले नेपालमा फरक ढङ्गले खेलहरूको विकास र विस्तार गर्दै अघि बढेको बताए ।

उनले नेपालका सात प्रदेश र देशभर ७० वटा जिल्लामा हाप्किडोका शाखा र डोजाङ स्थापना गरी खेलकुदका गतिविधि बर्सेनि सञ्चालन गर्दै आएको बताए । लुम्बिनी प्रदेश विद्यालय खेलकुद महासंघको उपाध्यक्ष निर्मल आचार्यले पछिल्लो समय नेपालमा खेलकुदको महत्वसँगै खेलकुदका गतिविधि बढ्दै जानु सकारात्मक भएको बताए ।

कार्यक्रममा नेपाल हाप्किडो संघका केन्द्रीय सदस्य राजेन्द्र मदाईले विद्यालयमा भएका विद्यार्थीबिच प्रतिस्पर्धा गराउने र उनीहरूमा भएको प्रतिभालाई उजागर गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको बताए । दाङभ्याली कलेजका प्रमुख विष्णु बञ्जाडेको स्वागतबाट सुरु भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सन्तोष सुवेदी, दाङ जिल्ला उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष नारायणप्रसाद भुसाल, नेपाल हाप्किडो संघका उपमहासचिव मोहमद समिर हलुवाई, संघका प्रमुख प्रशिक्षक प्रविन गुरुङलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

उद्घाटन कार्यक्रममा खेलाडीले डेमो प्रस्तुत गरेका थिए भने विद्यार्थीले नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रमको सहजीकरण कलेजका शिक्षक थमन अधिकारीले गरेका थिए । प्रतियोगिताको उद्घाटनपूर्व घोराहीको ट्राफिक चोकदेखि ¥याली निकालिएको थियो । मङ्सिर २० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा एक सय ५४ विद्यालयका आठ सय बढी खेलाडीको सहभागिता रहेको छ । प्रतियोगितामा महिला तथा पुरुष खेलाडीले १७÷१७ तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् ।