गोरक्ष समाचारदाता
दाङ, १८ मङ्सिर । तुलसीपुर मेट्रो कलेज कानुन सङ्कायमा अध्ययन गर्ने नविन केसी यतिबेला ग्रामीण भेगका विद्यालयमा पुगेर विद्यार्थीलाई कानुनी ज्ञान बाँडिरहेका छन् ।
विद्यार्थीका लागि आवश्यक पर्ने बालविवाह, बाल अधिकार, लैङ्गिक हिँसालगायतका विविध विषयमा उनीहरूले विद्यार्थीलाई ज्ञान बाँडिरहेका छन् । दंगीशरण गाउँपालिकाको माध्यमिक विद्यालय मधपुरमा कक्षा ९ र १० का विद्यार्थीलाई कानुनी ज्ञान बाँडेका केसीले विद्यार्थी कानुनका विभिन्न विषयमा जानकारी पाउँदा खुसी भएको बताए ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सञ्चालन भइरहेका बेलामा विद्यार्थीले यसरी कानुनी ज्ञान बाँडेका हुन् । ‘कतिपय स–साना कुरा पनि थाहा नहुँदा विद्यार्थीहरू आफ्नो अधिकारबाट बञ्चित भएको पाइयो’, कानुन सङ्कायमा अध्ययनरत विद्यार्थी सविना रानाले बताइन् । उनले बालविवाहबारे कानुनी साक्षरता फैलाउन सकिए न्यूनीकरण गर्न सकिने बताइन् ।
विद्यार्थीले गाउँ गाउँमा कानुनी ज्ञान बाँडेर आम समुदायलाई सचेत बनाएको भन्दै दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले प्रशंसा गरे । उनले कानुन जानेको छैन भनेर कसैलाई पनि क्षमा नहुने भन्दै यसको ज्ञान अपरिहार्य रहेको कुरामा जोड दिए । तुलसीपुर उपमहानगरपालिका–२ मा रहेको माध्यमिक विद्यालय बालापुरमा पनि कानुन पढ्ने विद्यार्थीले त्यहाँका विद्यार्थीलाई कानुनी ज्ञान बाँडेको कानुनका विद्यार्थी सविन बस्नेतले बताए । विद्यार्थीमा कानुनी ज्ञानप्रति चासो बढेको उनको भनाइ थियो ।
‘कानुनले कसैलाई काखा र कसैलाई पाखा नगर्ने भएकाले यसको कार्यान्वयनमा सबै जागरुक हुनु आवश्यक रहेको भनेर हामीले कानुनी ज्ञान बाँड्दै हिँडेका हाँै’, विद्यार्थी आयुस उप्रेतीले बताए । कलेजले विगतदेखि विकट गाउँ, ठाउँमा कानुनी ज्ञान बाँड्न विद्यार्थी परिचालन गरिरहेको कलेज प्रमुख वसन्त आचार्यले बताए । उनले कानुन विद्यार्थीले करिब एक दर्जन विद्यालयमा पुगेर कानुनी ज्ञान बाँड्ने कार्यक्रम गरिएको जानकारी दिए ।