महायज्ञमा ३३ लाख बढी दान सङ्कलन
गोरक्ष समाचारदाता
दाङ, १७ मङ्सिर । विद्यालयको शैक्षिक तथा भौतिक स्तरोन्नतिका लागि सञ्चालन गरेको श्रीमद्भागवत् धनधान्याञ्चल सप्ताह ज्ञानमहायज्ञमा करिब ३३ लाख रुपैयाँ दान सङ्कलन भएको छ । मङ्सिर ८ देखि १५ गतेसम्म सञ्चालन गरेको सप्ताह ज्ञानमहायज्ञलाई विद्यालयका अभिभावकदेखि स्थानीयले धानदेखि दान गर्दै करिब ३३ लाख रुपैयाँ दान गरेका छन् ।
२०३५ सालमा रात्रीकालीन विद्यालयका रूपमा स्थापना भएको प्राथामिक विद्यालय लगानी, संरक्षण र सक्रियता अभावका कारण अन्य विद्यालयसँग गाभिने स्थितीमा पुुगेको थियो । विद्यालयमा शैक्षिक र भौतिक संरचना फेर्न स्थानीय अगुवाको अगुवाइमा विद्यालयले धार्मिक कार्य सञ्चालन गरेर फेरिने जमर्काे गरेको छ ।
जसलाई सार्थकता दिन स्थानीयले दिल खोलेर मुठीदेखि मुरीसम्म, एकदेखि लाखौ रुपैयाँसम्म दान गरेका छन् । सप्ताह ज्ञानमहायज्ञका सदस्य सचिव तथा विद्यालयका प्रधानाध्यापक खड्कबहादुर वलीका अनुुसार सप्ताहमा ३३ लाख पाँच हजार एक सय ५६ रुपैयाँ ५७ पैसा नगद दान सङ्कलन भएको छ ।
जसमा नगद दानमार्फत् ३१ लाख ८५ हजार दुुई सय ५६ रुपैयाँ ५७ पैसा र कलशमार्फत् एक लाख १९ हजार नौ सय रुपैयाँ दान सङ्कलन भएको छ । यसैगरी अन्नबाली अर्थात् धानदानमार्फत् अन्दाजी एक सय ३० क्विन्टल धान सङ्कलन भएको जानकारी दिए । महायज्ञको सातैदिन महायज्ञका स्थानीयले धेरथोर दान गरी उक्त दान सङ्कलन भएकाले उक्त सङ्कलन रकमले सप्ताहको सङ्कल्प पुरा गर्ने प्रधानाध्यापक वलीले बताए ।
विद्यालय निर्माणका लागि पचुर्खा निवासी समाजसेवी दिलबहादुर वलीले एक लाख एघार हजार एक सय ११, विद्यालय व्यवस्थापन समितिका सदस्य जीवबहादुर खत्रीले एक लाख २१ हजार एक सय ११, घोराही उपमहानगरपाकिला–६ चैनपुर निवासी समाजसेवी खर्गबहादुर खत्री ५७ हजार पाँच सय ५५, विद्यालयका पूर्व शिक्षक तथा समाजसेवी एवम् सप्ताह ज्ञानमहायज्ञका दाता पहिचान उपसमितिका संयोजक श्रीधर महरा र उनकी धर्मपत्नी सरिता महराले एक लाख ५१ हजार पाँच सय ५५ रुपैया दिए ।
त्यसैगरी महायज्ञ सल्लाहकार संयोजक तथा अग्रज साहित्यकार गुुरुप्रसाद शर्मा रेग्मी र उनका छोराहरू सुधीर कुमार रेग्मी, सुुनिलकुमार रेग्मी गरी रेग्मी परिवारबाट एक लाख ५५ हजार पाँच सय ५५ र हाल रोजगारका लागि युुकेमा रहेका घोराही उपमहानगरपालिका–१७ उज्ज्वल टोल निवासी लीलाधर कवर मगर र उनकी धर्मपत्नी मिना कवर मगरसहित सम्पूर्ण परिवारबाट एक लाख ८१ हजार एक सय ११ रुपैयाँ, घोराही उपमहानगरपालिका वडा नं १७ चौघेरा निवासी समाजसेवी पदम केसीले ५० हजार दान गरेको प्रधानाध्यापक वलीले जानकारी दिए ।
