एमबिबिएस अध्ययनका लागि छात्रवृत्तिमा नाम निकाल्ने रोशनीलाई सम्मान
घोराही, १५ मंसिर । एमबिबिएस अध्ययनका लागि पूर्ण छात्रवृत्ति कोटामा नाम निकाल्न सफल विद्यार्थी रोशनी घर्तीमगर सम्मानित भएकी छिन ।
घोराही उपमहानगरपालिका–१० नारायणपुरमा रहेको सिद्धरत्ननाथ माध्यमिक विद्यालयले सोमवार विद्यालयमा कार्यक्रमको आयोजना गरेर एमबिबिएस प्रवेश परीक्षामा नाम निकाल्न सफल विद्यार्थी घर्तीमगरलाई नगद ३० हजारसहित सम्मान गरेको हो । विद्यार्थीसँगै आमाबुबालाई सम्मान गर्दै सम्मानित विद्यार्थीलाई नारायणपुर बजार परिक्रममा गराएको थियो ।
विद्यालयमा विज्ञान विषय लिएर २०८१ सालमा कक्षा १२ उत्तीर्ण गरेकी छात्रा घर्तीमगरले २०८२ सालमा चिकित्सा शिक्षा आयोगले एमबिबिएस अध्ययनका लागि लिएको प्रवेश परिक्षा पास गरी नेपाल सरकारले प्रदान गर्ने पूर्ण छात्रवृत्तिमा अध्ययन गर्ने अवसर प्राप्त गरेका हुन् । घोराही उपमहानगरपालिका–१० सौडिकुलामा रहेको मनकामना बोर्डिङ् स्कुलमा नर्सरीदेखि चार कक्षासम्म अध्ययन गरेकी घर्तीमगरले कक्षा ५ देखि १० सम्म वडा नं. १० कै जनजागृति माध्यामिक विद्यालय लमडरुवामा अध्ययन गरेकी थिइन ।
एसइइ पास गरेपछि नारायणपुरमा रहेको सिद्धरत्ननाथ माध्यामिक विद्यालयमा ११ र १२ मा विज्ञान विषय अध्ययन गरेकी घर्तीमगरले २०८२ मा चिकित्सा शिक्षा आयोगले एमबिबिएस अध्ययनका लागि लिएको प्रवेश परिक्षामा सहभागी भएर निशुल्क रुपमा अध्ययनका लागि छात्रवृत्तिमा नाम निकाल्न सफल भएकी हुन । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चित्रबहादुर डाँगीको अध्यक्षता एवं घोराही उपमहानगरपालिका–१० का अध्यक्ष दिपक पाण्डेयको प्रमुख आतिथ्यतामा भएको सम्मान कार्यक्रममा बोल्ने बक्ताहरुले सामुदायिक विद्यालयमा अध्ययन गरेर डक्टर अध्ययनका लागि पूर्ण निशुल्क कोटामा नाम निकाल्न सफल भएर सिद्धरत्ननाथसँगै समग्र सामुदायिक विद्यालयको गौरव बढाउने काम गरेको बताएका थिए ।
साथै सहभागीले सामुदायिक विद्यालयमा अध्ययन गरेर रोशनीले प्राप्त गरेको सफलताले विद्यालयमा अध्ययनरत अन्य विद्यार्थीका लागि समेत प्रेरणादायी उदाहरण भएको बताएका थिए ।सम्मान कार्यक्रममा सिद्धरत्ननाथ मावि नारायणपुरका प्रधानाध्यापक उत्तम खनाल, विद्यालय बिकास सरोकार समितिका संयोजक रमेशकुमार अधिकारी, नारायणपुर उद्योग बाणिज्य संघका अध्यक्ष अनिल बस्नेत, विद्यार्थी सविना घर्तीमगरले बधाई ज्ञापन गर्दै रोशनीको मेहेनत, अनुशासन र लगनशीलताले सफलता प्राप्त गरेको भन्दै प्रशंसा गरेका थिए ।
सम्मान कार्यक्रममा विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावकलगायत पूर्व शिक्षक, पूर्व विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलगायत स्थानीयको सहभागीता रहेको थियो । विद्यालयक सहायक प्रधानाध्यापक भुपबहादुर रावतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शिक्षक युवराज बस्नेतले गरेका थिए ।
