खेमराज रिजाल
तुलसीपुर, ११ मङ्सिर । अघिल्ला वर्षमा पर्व लक्षित बजार अनुगमनलाई थप प्रभावकारी बनाउन तुलसीपुर उपमहानगरपालिकाले ‘डे–टु–डे’ अनुगमन थालेको छ । बजार अनुगमन तथा व्यवस्थापनलाई मध्यनजर गर्दै वार्षिक क्यालेन्डर नै बनाएर उपमहानगरपालिकाले फरक फरक दिन फरक फरक क्षेत्रको अनुगमनलाई तीव्रता दिन थालेको छ । सोही क्रममा तुलसीपुर उपमहानगरपालिकाको नेतृत्वमा बुधवार निजी विद्यालयका क्यान्टिन र केही किराना पसलमा अनुगमन गरिएको छ ।
तुलसीपुर उपमहानगरपालिकाको उपभोक्ता हक, हित तथा बजार व्यवस्थापन शाखाको अगुवाइमा तुलसीपुरस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर उद्योग वाणिज्य संघ, इलाका प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालय, पत्रकार प्रतिनिधि तथा नगर प्रहरीसमेतको संयुक्त टोलीले बुधवार तुलसीपुरस्थित निजी विद्यालयहरू पब्लिक ज्ञानज्योति, गोरखा मावि तुलसीपुर, संस्कार पाठशाला, शिखा एकेडमी तथा राप्ती बाल एकेडमी स्कुलका क्यान्टिनको अनुगमन गरिएको थियो ।
अनुगमनका क्रममा विद्यालयका क्यान्टिनमा कुनै कैफियत नदेखिएको अनुगमनमा संलग्न अधिकारीहरूले बताएका छन् । ‘हामीले विद्यार्थीलाई खाजा खुवाउने क्यान्टिनको सरसफाइ व्यवस्थापन र खाद्य स्वच्छतासँगै स्वस्थतालाई हेरेका थियौँ, कतै कैफियत देखिएन’, अनुगमनमा संलग्न खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख पदम वरालले भने । अनुगमन गरिएका मध्ये सबैभन्दा उत्कृष्ट क्यान्टिनमा संस्कार पाठशालाको रहेको अनुगमनका प्रतिनिधिहरूले बताएका छन् ।
अनुगमन गर्ने समयमा ठिक्क विद्यार्थीको खाजा खाने समय भएको थियो । अनुगमनको टोलीले ती विद्यालयलाई धन्यवाद ज्ञापन गर्दै विद्यालयमा सञ्चालन गरिएका क्यान्टिन स्थानीय सरकारमा दर्ता नगरिएको भए उपमहानगरपालिकामा दर्ता हुन आउन अनुरोध गरेको छ ।
यसैगरी अनुगमन किराना पसलहरूमा पनि भएको उपभोक्ता हक, हित संरक्षण एवम् बजार व्यवस्थापन शाखाका प्रमुख राजु श्रेष्ठले बताए । ‘आजको हाम्रो अनुगमन उपभोक्ता बढी जोडिने गरेको बन्जाडे अर्गानिक किराना पसल एवम् आयल मिलमा थियो, त्यहाँ पनि पहिले देखिएको कैफियतमा सुधार भएको छ’, शाखा प्रमुख श्रेष्ठले भने । अघिल्लो पटकको अनुगमनमा बञ्जाडे किराना पसल तथा आयल मिलमा तेलमा थेग्गर पाइएको, राम्रोसँग ढाकछोप नगरिएको जस्ता अवस्था देखिएका थिए ।
त्यसपछि अर्को अनुगमनमा आउँदा सुधार गर्न अनुगमन समितिले निर्देशन दिएको थियो । यसैगरी अनुगमन समितिले तुलसीपुर उपमहानगरपालिका–६ वरुवागाउँ कुलो नजिकको भुसाल किराना पसलमा दैनिक उपभोग्य सामग्रीको अनुगमन गरेको थियो । अनुगमनका क्रममा सो पसलमा उपभोक्तालाई बिक्रीका लागि निषेध गरिएका केही खाद्य सामग्रीहरू भेटिएका थिए । त्यस्ता सामग्रीमा चाइनिज रोल र कोरियन रोल रहेका छन् ।
ती रोलका नमुना अनुगमन समितिले नियन्त्रणमा लिएर परीक्षणका लागि पठाइने जनाएको छ । विशेष गरी बालबालिकालाई लक्षित गरेर बिक्री गरिने ती रोलभित्र नगद रुपैयाँ राख्ने गरिएकाले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले यस्ता खाद्य सामग्री नबेच्न व्यापारीलाई निर्देशनसमेत गरेको थियो । भुसाल किराना पसलमा ती सामग्री भेटिएपछि परीक्षणका लागि नियन्त्रणमा लिइएको डिभिजन प्रमुख बरालले बताएका छन् ।
‘कुनै पनि खाद्य सामग्रीभित्र पैसा÷नोट राखेर बिक्रीवितरण गर्न कानुनले प्रतिबन्ध लगाएको छ, परीक्षणका लागि ती रोल नमुनाका रूपमा लिइएको हो, यसलाई परीक्षण गर्न नेपालगन्जस्थित खाद्य प्रयोगशालामा पठाइनेछ’, खाद्य प्राविधिकसमेत रहेका बरालले भने । खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ को न्यूनतम मापदण्डमा ‘कुनै पनि खेलौना वा खाद्य सामग्रीमा नगद रुपैयाँ प्याकिङभित्र राखेर बेच्न पाइने छैन’ भन्ने उल्लेख छ ।
यदि त्यसो भएको प्रमाणित भएमा सम्बन्धित उत्पादक कम्पनीलाई कारबाही गरिने सो ऐनमा उल्लेख गरिएको छ । ती रोल बुटवलमा उत्पादन हुने र उतैको कम्पनीले यहाँ पठाएको भुसाल किराना पसलका सञ्चालकले बताएका छन् । यी खाद्य सामग्री प्रतिबन्धित भएको आफूले जानकारी नपाएको उनले बताए । ‘यदि प्रयोगशालाले परीक्षण गर्दा ती रोलभित्र नगद राखिएको पाइएमा प्रचलित कानुन बमोजिम उत्पादक कम्पनीलाई कारबाही हुनेछ, विक्रेतालाई भने यसमा कारबाही हुनेछैन’ भन्ने ऐनमा उल्लेख गरिएको छ ।
बुधवारको अनुगमनमा तुलसीपुरस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका डिभिजन प्रमुख पदम वराल, उपमहानगरपालिका उपभोक्ता हकहित संरक्षण तथा बजार व्यवस्थापन शाखाका प्रमुख राजु श्रेष्ठ, कर्मचारी खेमकान्त पाण्डे, तुलसीपुर उद्योग वाणिज्य संघका कार्यालय प्रमुख पारेश्वर भट्टराई, तुलसीपुर उपमहानगरपालिका–६ का वडा सदस्य यमराज केसी, इलाका प्रशासन कार्यालय तुलसीपुरका हुमलाल न्यौपाने, नगर प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ऋषिराज पछाई, पत्रकार वंशिकुमार शर्मा, राकेश बस्नेतलगायतको सहभागिता रहेको थियो ।
यस अघि गरिएका बजार अनुगमनका क्रममा तुलसीपुरस्थित मासुमन्डीमा भने खाद्य स्वच्छताको न्यूनतम मापदण्ड पनि देखिएको छैन । यसैगरी होटलहरूमा समेत थुप्रै कैफियत देखिएका थिए । खुल्ला स्थानमा बेचविखन गरिने माछा तथा फलफूल पनि मानव स्वास्थ्यका हिसाबले उपयुक्त नभएको उल्लेख गर्दै सुधार गरी व्यवसाय गर्न अनुगमन समितिले निर्देशन दिएको थियो ।
बजार अनुगमनसँगै बजार व्यवस्थापनको पाटो जोडिएको शाखाका कर्मचारी खेमकान्त पाण्डेले बताएका छन् । सडक पेटीमा व्यापार नगर्न, ठेलामा व्यापार नगर्न फलफुल तथा तरकारी व्यवसायी तथा चाट व्यवसायीलाई निर्देशन दिइएको छ ।