लुम्बिनीमा मन्त्रिपरिषद् बैठक, बाधा अड्काउ फुकाउको जिम्मेवारी यातायात मन्त्रालयलाई

दाङ, ८ मङ्सिर । यातायातका क्षेत्रमा देखिएका समस्याको कानुनी समाधानका खोज्नका लागि लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले उद्योग, पर्यटन तथा यातायात मन्त्रालयलाई बाधा अड्काउ फुकाउको जिम्मेवारी दिने निर्णय गरेको छ ।

मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा आइतबार राप्ती उपत्यका (देउखुरी) स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले प्रदेशमा तत्काल देखिएका यातायात सम्वन्धी कानुनी समस्या निरुपणका लागि बाधा अडकाउ फुकाउको जिम्मेवारी मन्त्रालयलाई दिने निर्णय गरेको हो । सडक सवारी, यातायात तथा परिवहन ऐन, २०७६ को दफा ११९ को अधिकार प्रयोग गरी निर्देशनालय गठन नभएसम्मका लागि उक्त मन्त्रालयले नै बाधा अड्काउ फुकाउसम्बन्धी अत्यावश्यक कार्य सम्पादन गर्नेगरी निर्णय गरिएको भौतिक पूर्वाधार तथा विकास मन्त्री भूमिश्वर ढकालले जानकारी दिनुभएको छ ।

मन्त्री ढकालका अनुसार बैठकले उद्योग, पर्यटन तथा यातायात मन्त्रालयको तर्फबाट लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्न अनुमति दिने निर्णय गरेको छ । त्यस्तै, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले पेश गरेको प्रदेश जीवनाशक विषादी व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयक प्रदेश सभामा पठाउन बैठकले स्वीकृति प्रदान गरेको छ । सामाजिक विकास मन्त्रालयबाट पेश भएको दलित समुदायको अधिकार सुनिश्चित गर्ने विधेयक तथा अपाङ्गता रोकथाम तथा पुनस्र्थापना कार्यक्रमसम्बन्धी कार्यविधि, २०८२ पारित गरेको छ ।

त्यसैगरी बैठकले भीम अस्पतालमा सरुवा भएका कन्सल्टेन्ट डेन्टल सर्जन डा. वर्षा थापालाई मेडिकल सुपरिन्टेन्डेन्टको जिम्मेवारी दिने र कपिलवस्तुस्थीत शिवराज नगरपालिकाको हाटबजार व्यवस्थापनका लागि जग्गा प्राप्तिमा सहजीकरण गर्न नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय समेत गरेको छ ।