निर्वाचन समयमै हुनुुपर्छ : पूर्वमन्त्री शर्मा

दाङ,७ मंसिर । पूर्व संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले समयमै निर्वाचन हुन नसके मुलुक पुनः अर्काे दलदलमा फस्ने बताएकी छिन । आइतवारदेखि सुरु भएको छैंठौ बंगलाचुली कप–२०८२ उद्घाटन गर्दै पूर्व मन्त्री शर्माले यस्तो बताएकी हुन ।

जेन–जी आन्दोलनले मुलुकलाई फरक परिस्थितीमा रुपान्तरण गरेकाले उक्त परिस्थितीको अन्त्यकालागि मुलुकमा तोकिएकै समयमा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्न आमनागरिक लाग्नुुपर्ने बताइन । बंगलाचुली गाउँपालिका अध्यक्ष तुलसीराम पुनको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि शर्माले जेन–जी आन्दोलनले मुलुकमा सबै दलहरुलाई सच्याउने र सच्चिने अवसर सहितको नयाँ निर्वाचनको मिति घोषणा भएकाले मुलुकको स्वाधिनता र उपलब्धीको रक्षाका लागि प्रतिनिधिसभाको निर्वाचन समयमा सम्पन्न गर्न दलहरुको तयार बन्नुुपर्नेमा जोड दिएकी थिइन ।

जेनजी आन्दोलन राजनीतिक दल र नेताका लागि सच्चिने अवसर भएको भन्दै भनिन,‘जेन–जी आन्दोलनले दलहरुलाई नयाँ धारमा अघि बढ्ने नयाँ म्यान्डेड सहित रुपान्तरणको अवसर दिएका छन् । उक्त म्याण्डेड र अवसर निर्वाचन मार्फत अघि बढाउने उत्साह र तत्परता दलहरुले देखिनुुपर्छ ।’ आगामी फागुन २१ गते सम्पन्न गर्न घोषणा गरिएको प्रतिनिधिसभा निर्वाचन बिफल बनाउन केही तत्वहरुको सक्रियता बढिरहेकाले निर्वाचन समयमा सम्पन्न दलहरु नै अग्रसर बन्नुुपर्ने उनको भनाई छ । पूर्वमन्त्री शर्माले भनिन, ‘निर्वाचन बिथोल्नभन्दा पनि निर्वाचन सम्पन्न गर्न दलहरु केन्द्रीत बन्नुुुपर्छ ।’

बंगलाचुलीख गाउँपालिका जिल्लाको सबैभन्दा दुुर्गम पालिका भए पनि सामाजिक विकास र युवा उत्थानका लागि सक्रिय रहेकाले गाउँपालिकाले वर्षेनी खेलक्षेत्रको विकासका लागि वार्षिक नीति कार्यक्रम मार्फत गर्दै आईरहेको बताइन । खेल हरेक क्षेत्रको विकासका लागि अपरिहार्य रहेकाले खेल र खेलाडी राष्ट्रका सम्पत्तीमा रहेकाले यि सम्पत्तीको विकास र उत्थानका लागि स्थानीय सरकारले सकारात्मक भूमिका निर्वाह गर्नुुपर्ने बताइन । कार्यक्रममा बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्तबहादुर जिसीले बंगलाचुली गाउँपालिकाले हरेक क्षेत्रको विकास सँगै खेलकूद क्षेत्रको विकासका लागि वर्षेनी पालिका स्तरिय कप प्रतियोगिता आयोजना गर्दै बताए ।

बंगालचुली गाउँपालिकाका सामाजिक विकास समितिका संयोजक गणेश विश्वकर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शिक्षा शाखा प्रमुख ओमप्रकाश केसीले गरेका थिए । गाउँपालिकास्तरीय प्रतियोगिता मंसिर ८ गतेसम्म चल्नेछ । प्रतियोगितामा गाउँपालिकाका आठवटै वडाका तीन खेल समूहका खेलाडीको सहभागीता रहेको छ ।