ग्लोबल हब एजुकेशनलद्वारा मसिनामा शैक्षिक सामग्री वितरण

घोराही,५ मंसिर । ग्लोबल हब एजुकेशनल नेटवर्क दाङले पृथ्वी प्राथमिक विद्यालय मसिनामा शैक्षिक सामग्री वितरण गरेको छ। आर्थिक रूपमा कमजोर विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको हो।

विद्यार्थीहरूको अध्ययनप्रति रुचि र उत्साह बढाउने उद्देश्यसहित भएको उक्त कार्यक्रममा विद्यालय ब्याग, कपी–कलमलगायतका शैक्षिक सामग्री प्रदान गरिएको थियो।विद्यालय परिसरमै आयोजना गरिएको कार्यक्रममा शिक्षक–कर्मचारी, स्थानीय अभिभावक र समुदायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रम ग्लोबल हब एजुकेशनल नेटवर्कका कार्यकारी निर्देशक अभिषेक न्यौपानेको नेतृत्व र प्रबन्ध निर्देशक राहुल सुवेदीको सक्रिय समन्वयमा सम्पन्न भएको थियो। दुवैले शिक्षा क्षेत्रलाई निरन्तर सहयोग गर्नु संगठनको मुख्य उद्देश्य रहेको बताउँदै आगामी दिनमा पनि यस्ता सामाजिक–शैक्षिक कार्यक्रम नियमित रूपमा सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरे।

विद्यालय प्रशासन र अभिभावकहरूले विद्यार्थीहरूलाई प्रदान गरिएको सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै यस्तो पहलले शिक्षामा पहुँच विस्तार र गुणस्तर वृद्धि दुवैतर्फ सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन्।