गोरक्ष समाचारदाता
दाङ, ४ मङ्सिर । माहुरीपालनका लागि प्रशस्त चरनसँगै उपयुक्त हावापानीका कारण पछिल्लो समय दाङ माहुरीपालनका लागि राम्रो गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ ।
अन्य समयसँगै चिसो मौसम कात्तिकदेखि मङ्सिर महिनाको अवधिमा तोरी र चिउरी फुल्ने भएकाले राम्रो मह उत्पादन हुने भएकाले बाहिरी जिल्लाबाट माहुरीपालक किसान माहुरी लिएर माहुरी चराउन दाङ आउने गरेका छन् । नेपाल माहुरीपालन महासंघ दाङका अनुसार यो सिजनमा जिल्लामा करिब १० हजार माहुरीका घार चरनका लागि ल्याइएका छन् ।
चितवन, नवलपरासी, रुपन्देही, कपिलवस्तु, बर्दिया र कैलालीबाट किसानले माहुरी चराउन दाङ ल्याएका छन् । महासंघले दिएको विवरण अनुसार चितवनबाट करिब सात हजार, कपिलवस्तुबाट एक हजार, नवलपरासी र रुपन्देहीबाट ५÷५ सय, कैलाली र बर्दियाबाट पाँचदेखि सात सय माहुरीका घार चरनका लागि अहिले दाङ तथा देउखुरी उपत्यकाका विभिन्न स्थानमा ल्याएर राखिएका छन् ।
नेपाल माहुरीपालन महासंघ दाङका अध्यक्ष दिनेश वलीका अनुसार जिल्लामा आउने सबै किसान महासंघको समन्वयमा नआउँदा यकिङ विवरण प्राप्त हुन सकेको छैन । महासंघको समन्वयमा कात्तिक महिनामा ४६ जना किसानले चार हजार बढी माहुरीको घार ल्याएको अध्यक्ष वलीले बताए । चितवनबाट ३५ जना किसानले दुई हजार आठ सय ३३ घार, कपिलवस्तुबाट सात सय ८० घार र रुपन्देही र नवलपरासीबाट पाँच सय ३० घार मात्र महासंघसँग समन्वय गरेर आएको र किसानलाई घोराहीका विभिन्न स्थानमा राखिएको बताए ।
माहुरीपालनलाई व्यवस्थित गर्न महासंघले कडाइ गरेपछि पछिल्लो समय किसान समन्वयमा आएर जिल्लाका विभिन्न ठाउँमा बस्ने क्रम भएको र यसले राम्रो सन्देश दिने गरेको अध्यक्ष वली बताउँछन् । अहिले पनि आधा बढी किसान महासंघसँग समन्वय नगरेर बसेको भन्दै अध्यक्ष वलीले भने, ‘अहिले पनि धेरै किसान महासंघसँग समन्वय नगरेर सिधै किसानसँग समन्वय गरेर बस्नुभएको छ । यसले राम्रो सन्देश दिएको छैन, माहुरीपालक किसानको व्यावसायिक एकताका लागि समन्वय हुन आवश्यक छ ।’
किसानसँगको व्यक्तिगत सम्बन्धका कारण आएर बस्ने किसानको यथार्थ तथ्याङ्क थाहा हुन नसकेको उनी बताउँछन् । अध्यक्ष वलीका अनुसार दाङमा असोजको अन्तिमदेखि चिउरी र तोरी फुल्न थाल्छ, जुन अन्य जिल्लामा अलिपछि फुल्ने गर्छ । यसैले यो सिजनमा धेरै किसान दाङ आउने गरेका छन् । जिल्लमा तुलसीपुर, शान्तिनगर, बबई गाउँपालिकासँगै घोराही उपमहानगरपालिकाका वडा नं १, २, ३, ४, १२, १३ र १९ मा चिउरीको राम्रो उत्पादन हुन्छ भने वडा नं ५, ८, ९ लगायतका क्षेत्रमा राम्रो तोरीका कारण माहुरीपालनका लागि राम्रो मानिन्छ ।
यसैगरी माघ र फागुनतिर किसानले गोपी तोरीको खेती गर्ने भएकाले माहुरीपालनका लागि दाङ थप उपयुक्त मानिन्छ । महासंघ दाङका अनुसार जिल्लामा करिब पाँच सय बढी किसानसँग २३ हजारदेखि २४ हजार माहुरीका घार छन् ।