किरण थापा
नेपालको समाजमा बालबालिकाका र अभिभावकबिचको सम्बन्ध केवल रगतको नातामा मात्रै सीमित हुँदैन । यो सम्बन्ध संस्कार, मूल्य र सामाजिक संरचनाको आधारसमेत हो । हाम्रा अभिभावकले सन्तानलाई केवल हक–जिम्मेवारीका रुपमा मात्र होइन, आफ्नो इज्जत र संस्कारको प्रतीकका रुपमा पालन गर्ने गरेका पाइन्छ ।
“आज्ञा मान्ने सन्तान”, “ठुलाबुढाको कुरा नटाने पाप जस्तै हुन्छ”, “अनुशासन नै सफलताको बाटो हो” जस्ता कुरा नेपाली घर–घरमा सामान्य सुन्न पाइन्छ । यस्ता परम्परागत व्यवहारले हाम्रा पुस्तामा परिवारप्रतिको सम्मान, लगनशक्ति र अनुशासनको विकास गरेको छ, तर समय बदलिँदै जाँदा नयाँ सोचाइ र व्यवहारबिच ठुलो अन्तर देखिन थालेको छ ।
आजका बालबालिकाका ती पुस्ताका सदस्य हुन्, जसले इन्टरनेट, प्रविधि, विश्वव्यापी प्रतिस्पर्धा र स्वतन्त्र विचारको संसारमा आँउँछन् । उनीहरु आदेश पालन गर्ने मात्र होइन, “किन ?” भन्ने प्रश्न गर्ने पुस्ता बनेका छन् । जब यस्तो सोच पुरानो पुस्ताको अनुशासन–संस्कारसँग ठोकिन्छ, तब परिवारभित्र मौनता, असमझदारी र कहिलेकाहीँ टकराव पनि उत्पन्न हुन्छ ।
अभिभावकहरु अझै पनि “हामीलाई जसरी हकाइयो, त्यसरी नै सन्तानलाई हकाउने” सोचमा रहन्छन्, तर आधुनिक बालमनोविज्ञान भन्छ — प्रत्येक बालकको सोच, भावना र बुझाइ फरक हुन्छ । यदि हामीले उनीहरुको आत्मसम्मान, भावनात्मक अवस्था र स्वतन्त्रता बुझ्न सकेनौं भने, उनीहरु आफ्नै घरभित्र असुरक्षित महसुस गर्न थाल्छन् ।
असन्तुलनका कारण र बालबालिकामा देखिँदै गएको विकराल अवस्था हाम्रो पुरानो पुस्ता अझै पनि “कडा भएर मात्र बच्चा राम्रो बन्छ” भन्ने सोचमा अलडग छ । त्यसैले धेरै अभिभावक आज पनि सन्तानलाई नियन्त्रणमा राख्न खोज्छन् । उनीहरुले बच्चाले के गर्छ भन्ने सुन्नुको सट्टा आफ्नो विचार थोपन रुचाउँछन् । यस्तो व्यवहारले बालबालिकामा डर, दबाब र मानसिक तनाव बढाउँछ ।
धेरै बच्चा आफ्ना कुरा अभिभावकसँग खुलाएर भन्न डराउँछन्, किनभने “बडाको कुरा नटेने” भन्ने गाली वा “नालायक” भन्ने ठप्पा लाग्ने डर हुन्छ । त्यसैले बालबालिकाबाट शान्त देखिएको व्यवहार, वास्तवमा डर, असन्तुलन र तनाव बोकेर बलपूर्वक प्रस्तुत भएको हुन्छ । सामाजिक सञ्जाल, टेलिभिजन र विद्यालयको प्रतिस्पर्धाले उनीहरुमा थप दबाब सिर्जना गरिरहेको छ ।
जब घरमा माया, बुझाइ र खुला संवादको अभाव हुन्छ, बालबालिकाले आफ्ना भावना व्यक्त गर्न सक्दैनन् । यसको परिणाम — उनीहरुको आत्मविश्वास घट्दै जान्छ र मानसिक स्वास्थ्य क्रमशः कमजोर हुँदै जान्छ । नेपालका मनोवैज्ञानिकहरुको भनाइ अनुसार, यदि अभिभावकहरुले समयमै आफ्ना सन्तानको मानसिक अवस्था बुझेनन् भने, “अनुशासन” का नाममा भइरहेका अत्यधिक कडाइले नयाँ पुस्तालाई भावनात्मक रुपमा कमजोर र आत्मसंकोचयुक्त बनाउँछ । यही कारण हाल विद्यालयहरुमा आत्महत्या, आक्रोश, नशा, र एक्लोपनजस्ता समस्या बढ्दै गइरहेका छन् ।
परम्परागत सोच र आधुनिक मनोविज्ञानबिचको द्वन्द्व
परम्परागत मूल्यहरुले सन्तानलाई अनुशासन, आस्था र जिम्मेवारी सिकाउने काम गर्छ । हाम्रो संस्कृति “बडाको सम्मान” र “संस्कार पालन”लाई जीवनको महङ्खवपूर्ण आधार मान्छ । तर आधुनिक बालमनोविज्ञान भन्छ, बच्चा कुनै खाली कापी होइन, जसमा जे लेखियो त्यसरी पालन गर्नुपर्ने । उनीहरु आफ्नै विचार, भावना र अनुशासित व्यक्तिगतताका धारक हुन्, जसलाई माया, विश्वास र नियमित संवाद आवश्यक हुन्छ ।
बालमनोविज्ञानका अनुसार, प्रारम्भिक बाल्यकालमा प्राप्त अनुभवले बच्चाको भविष्यमा गहिरो र दीर्घकालीन प्रभाव पार्छ । यदि अभिभावकले अत्यधिक नियन्त्रण र कठोरता अपनाए भने बच्चा डर, असहजता र आत्मसंकोचमा पर्ने सम्भावना हुन्छ । कार्ल रोजर्स र जाँ लपियाजेले पालन–पोषणलाई “अनुशासन, स्वतन्त्रता र अन्वेषण”सँग जोडेर व्याख्या गरेका छन् ।
नेपालको सन्दर्भमा यो विषय अझ महङ्खवपूर्ण छ, तर यहाँ अझै पनि पालन–पोषणमा “कडा भएर मात्र बच्चा राम्रो बन्छ” भन्ने सोच बलियो रुपमा कायम छ ।
नेपालको तथ्याङ्क र मनोवैज्ञानिक अवस्था
नेपालमा बालबालिकाको मानसिक स्वास्थ्य खस्किँदै गएको छ । Kathmandu Post (२०२४) मा प्रकाशित एक रिपोर्ट अनुसार, १३ देखि १७ वर्ष उमेर समूहका करिब ५.२ प्रतिशत किशोरकिशोरीहरुले कुनै न कुनै मानसिक विकार (Mental Disorder )अनुभव गरिरहेका छन् । तीमध्ये न्युरोलोजिकल र स्ट्रेस–सम्बन्धी समस्या सबैभन्दा बढी प्रतिशतमा पाइयो । युनिसेफको २०२४ को रिपोर्टले देखाएको छ कि करिब १८ प्रतिशत बालबालिकामा विभिन्न प्रकारका मानसिक तनाव वा व्यवहारिक समस्या छन् ।
अर्को अध्ययन (PUBMED, २०२३) अनुसार, नेपालका विद्यालय जाने ६–१८ वर्षका बालबालिकामध्ये करिब १८.३ प्रतिशतमा भावनात्मक र व्यवहारिक समस्या देखिएको छ, पुरुषमा १९.१ प्रतिशत र महिलामा १७.६ प्रतिशत । ग्रामीण क्षेत्र र पहाडी भागमा यो समस्या अझ बढी देखिएको छ । यी तथ्याङ्कहरुले स्पष्ट देखाउँछन् कि परम्परागत कठोर अनुशासन, अपर्याप्त संवाद, र अपेक्षाको दबाबले बालबालिकाको मानसिक स्वास्थ्यमा नकारात्मक प्रभाव पारिरहेको छ ।
बालअधिकार र नीति–गत पहल
नेपालले सन् १९९० मा Convention on therights of the Chlid (Cr\C) मा हस्ताक्षर गरेपछि, बालअधिकार सम्बन्धी कानुनी र नीतिगत सुधार ल्याएको छ । बालअधिकार ऐन, २०७५, बाल संरक्षण नियमावली, र बालमैत्री विद्यालय कार्यक्रम जस्ता पहलहरुले बालबालिकालाई सुन्ने, बोल्ने, र निर्णयमा सहभागी हुने अधिकार सुनिश्चित गर्न मद्दत गरेका छन् । तर व्यवहारमा चुनौती अझै कायम छ ।
UNICEF का अनुसार, नेपालमा ५–१७ वर्षका करिब ११ प्रतिशत बालबालिका अझै बालश्रममा संलग्न छन्, जसले उनीहरुको शारीरिक र मानसिक विकासमा अवरोध ल्याएको छ । ग्रामीण क्षेत्रमा यो अनुपात अझ बढी छ, करिब ५८ प्रतिशत बालश्रमिक ग्रामीण क्षेत्रका हुन् । यसले स्पष्ट देखाउँछ कि कानुनी सुरक्षा भए पनि व्यवहारिक सन्तुलन र सचेतनाको कमी अझै छ ।
परम्परागत सोचका सकारात्मक पक्ष र चुनौती
परम्परागत मूल्य र व्यवहारका केही पक्ष आज पनि अत्यन्त उपयोगी छन् । परिवारप्रतिको लगन, बडाबुढाको सम्मान, जिम्मेवारी, र सामूहिक सोच, यी गुणहरुले नेपाली समाजलाई एकता र सहअस्तित्वमा बाँधेको छ । तर समस्या तब सुरु हुन्छ जब यी मूल्यहरु संवाद र सहानुभूतिविना थोपाइएको रुपमा प्रयोग गरिन्छ ।
अभिभावकहरुले बुझ्नुपर्छ, माया र अनुशासन विरोधी होइनन् — यी दुबै एक अर्काका पूरक हुन् । बच्चालाई डर देखाएर होइन, बुझाएर सिकाउनु नै दीर्घकालीन उपाय हो । गल्ती भएमा “किन गल्ती भयो ?” भनेर छलफल गर्नु, उसलाई आफ्ना विचार व्यक्त गर्ने मौका दिनु, र साना उपलब्धिहरुको पालन–पोषण प्रशंसा गर्नु, यसले बच्चाको आत्मविश्वास र मानसिक सन्तुलन दुवै बलियो बनाउँछ ।
आधुनिकताका प्रभाव र त्यहाँ चुनौतीहरु
आजका बालबालिका प्रविधिसँग अभ्यस्त छन् । इन्टरनेट, टेलिभिजन र सामाजिक सञ्जालले उनीहरुको सोच, चाहना र जीवनशैलीलाई तीव्र रुपमा बदलिरहेको छ । तर धेरै अभिभावक अझै परम्परागत सोचमै बाँधिएका छन् । यही फरकले “सांस्कृतिक र मानसिक दूरी” सिर्जना गरिरहेको छ ।
उदाहरणका लागि, काठमाडौंकी एक किशोरीलाई उनका अभिभावकले सामाजिक सञ्जाल प्रयोग गर्न रोक्दा उनले पढाइमा ध्यान दिन छोडेकी थिइन् । पछि मनोवैज्ञानिक परामर्शले देखाएको — संवादको कमी र नियन्त्रणको दबाबले उसमा आत्मविश्वास घटाएको रहेछ । यस्तो उदाहरण नेपालका धेरै शहरी परिवारमा दोहोरिरहेको छ ।
सन्तुलन खोज्ने बाटो
नेपालको परिवार संरचनामा परम्परा र आधुनिक सोचबिचको सन्तुलन खोज्नु अहिलेको प्रमुख आवश्यकता बनेको छ । यसको लागि अभिभावक, शिक्षक र समाज सबैको भूमिका सुधार आवश्यक छ ।
खुला संवाद र सुन्ने संस्कार
अभिभावकहरुले बालबालिकाका कुरा ध्यानपूर्वक सुन्ने, उनीहरुको विचार र भावनालाई सम्मान गर्ने अभ्यास गर्नु पर्छ । डर होइन, बुझाइ र माया नै सशक्त सम्बन्धको आधार हो ।
माया र अनुशासनको सन्तुलन
बालबालिकाको विकासमा माया र अनुशासन दुवै आवश्यक छन्, तर सन्तुलन बिग्रँदा उनीहरुको आत्मविश्वास, सोच र व्यवहारमा नकारात्मक असर पर्छ । नेपालका धेरै परिवारमा “कडा अनुशासन नै सफलता” भन्ने सोच हावी छ, जसले बच्चामा डर, दबाब र आत्मसंकोच पैदा गर्छ । अत्यधिक कडाइले उनीहरुलाई गल्ती लुकाउन र भावनाहरु दबाउन बाध्य बनाउँछ, भने अत्यधिक माया र छूटले जिम्मेवारीबोध कमजोर पार्न सक्छ ।
अनुशासन नियम थोपाउने होइन — जिम्मेवारी सिकाउने प्रक्रिया हो, जहाँ बच्चाले गल्ती गर्दा सजाय होइन, बुझाइ र सुधारको अवसर पाउनुपर्छ । अभिभावकको सहानुभूतिवादी, मागदर्शन, प्रशंसा र निरन्तर सहयोगले बालबालिकामा आत्मविश्वास, इमानदारी र सहिष्णुता विकास गर्छ । त्यसका लागि खुला संवाद अत्यन्त महङ्खवपूर्ण छ ।
बच्चाका भावना, रिस, मौनता वा लचीलापनलाई ध्यानपूर्वक सुन्ने अभ्यासले विश्वास र आत्मीयता बढाउँछ, जसले उनीहरुलाई आफ्ना समस्या र डर खुलाएर भन्न वातावरण दिन्छ । यस्तो वातावरणले भविष्यमा उनीहरुको निर्णय क्षमता र भावनात्मक स्वास्थ्य मजबुत बनाउँछ । जब माया र अनुशासन सन्तुलित रुपमा लागू हुन्छ, परिवारमा समझदारी, सम्मान र आत्मीयता बढ्छ, र नयाँ पुस्ता मानसिक रुपमा सशक्त तथा जिम्मेवार नागरिक भएर विकसित हुन्छ ।
अनुभवक सचेतता कार्यक्रम बालमनोविज्ञान र बालअधिकारबारे अभिभावकलाई जानकारी दिने कार्यक्रम सञ्चालन गर्नु पर्छ । तुलनात्मक सोच घटाउनेः प्रत्येक बच्चाको सीप, रुचि र क्षमता फरक हुन्छ । त्यसलाई स्वीकार गर्नु पर्छ । सकारात्मक अनुशासन अपनाउनेः डर होइन, बुझाइ र जिम्मेवारीमा आधारित अनुशासनले दीर्घकालीन प्रभाव पार्छ ।
नेपालको समाज अहिले परिवर्तनको चरणमा छ, जहाँ परम्परागत मूल्य र आधुनिक सोचबिच सन्तुलन खोज्नु परेको छ । अनुशासन, सम्मान र संस्कार हाम्रा पुराना आधार हुन्, भने संवाद, माया र आत्मसम्मान आधुनिक बालमनोविज्ञानका महङ्खवपूर्ण पक्ष हुन् । यी दुवैलाई बराबरीसँग अपनाउन सके मात्र परिवार स्वस्थ, प्रेमपूर्ण र मानसिक रुपमा सबल बन्न सक्छ । बालबालिका केवल भविष्यका होइन, वर्तमानका पालक नागरिक हुन् । उनीहरुको भावना सुन्ने, विचारलाई सम्मान गर्ने र संस्कारमा आधुनिक चेतना जोड्ने जिम्मेवारी अभिभावककै हो ।
जब घरमा अनुशासन, माया र खुला संवादसँग मिलेर चल्छ, तब परम्परा र आधुनिकताको सन्तुलन सहजै कायम हुन्छ । यही सन्तुलनले आत्मविश्वासी, समझदार र मानसिक रुपमा सशक्त नयाँ पुस्ता तयार गर्न सहयोग गर्छ ।