गोरक्ष समाचारदाता
तुलसीपुर, २८ कात्तिक । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अहिलेकै अवस्थामा निर्वाचन हुन नसक्ने बताएका छन् । बिहिबार तुलसीपुरमा प्रेस चौतारी नेपाल दाङ शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा वर्तमान सरकारका क्रियाकलापले निर्वाचन हुने सङ्केत नगरेको भन्दै सरकारकै कारण समयमा निर्वाचन नहुने बताए । निर्वाचन गराउन बनेको सरकारले नै निर्वाचनको वातावरण बनाउनुभन्दा विभिन्न अभिव्यक्ति दिनमा तत्पर रहेको उनको भनाइ थियो ।
पत्रकार सम्मेलनमा उपमहासचिव ज्ञवालीले प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख दलका शीर्ष नेताहरूको अनुहार हेर्नै नचाहेको अभिव्यक्ति दिइरहनुले चुनाव नहुने परिस्थिति निर्माण भएको बताए । ‘प्रधानमन्त्री नै केपी ओली, शेरबहादुर, प्रचण्डको मुख हेर्न चाहन्न भन्नुहुन्छ, व्यक्ति सुशीला कार्कीले मुख हेर्नुस् वा नहेर्नुहोस्, हामीलाई कुनै मतलव भएन, मुख देखाउन हामीलाई कुनै रहर पनि होइन तर देशको प्रधानमन्त्रीले त्यसो भन्न मिल्छ ?’, उनले भने ।
उनले दलहरूको लामो इतिहास रहेको र त्यस अवधिमा कमीकमजोरी रहे तापनि त्यसको मूल्याङ्कन गर्ने अधिकार जनतालाई मात्रै रहेको उनले बताए । ज्ञवालीले अहिले देखिएको डर र त्रासको परिस्थितिमा निर्वाचन हुन नसक्ने बताउँदै भने, ‘यस्तो बेलामा प्रधानमन्त्रीले सबैलाई समेटेर अगाडि बढ्नुपर्ने हो तर उहाँ नेताको मुखै हेर्दिन भन्नुहुन्छ ।
अर्कोतिर गृहमन्त्री कोही अमुक व्यक्तिलाई जसरी भए पनि मुद्दा लगाउँछु भन्नुहुन्छ ।’ ज्ञावलीले उनीहरूको छेउछाउमा बसेका नजिकका पात्रले धम्की दिने गरेको बताए । ‘चुनावमा को जाँदो रहेछ, घरघरबाट थुत्छौँ, चुनाव जिते पनि हामी खारेज गर्छौँ भन्छन्’, ज्ञवालीले भने । चुनाव भड्काउने खालका अभिव्यक्ति आइरहँदा पनि सरकार चुप बसेको ज्ञवालीले भनाइ थियो ।
ज्ञवालीले संसद् पुनःस्थापना, संविधान संशोधन, सर्वदलीय सरकार र समय अगावै निर्वाचन एमालेको रोडम्याप भएको बताए । ‘संसद् पुनःस्थापना, संविधान संशोधन, जेन–जीसहितको सर्वदलीय सरकार र अर्ली इलेक्सन एमालेको रोडम्याप हो’, ज्ञवालीले भने । यथास्थितिमा चुनाव भए त्यसको कुनै औचित्य नहुने भन्दै ज्ञवालीले यथास्थितिमा हुने चुनाव शाहीकालमा भएको स्थानीय सरकार जस्तै हुने बताए ।
उनले संविधान घाइते अवस्थामा भएको भन्दै संविधानले नचिन्ने सरकारले शासन गरेको दाबीसमेत गरे । ‘अहिले संविधान घाइते अवस्थामा छ, लोकतन्त्र खतरामा छ’, उनले भने, ‘संविधानले नचिन्ने सरकार छ, संविधानले अस्वीकार गरेका मन्त्री छन् ।’ नेकपा एमाले लोकतान्त्रिक पार्टी भएको भन्दै निर्वाचनप्रति विश्वास भएको बताए ।
भदौ २३ र २४ गते भएको आन्दोलनको निष्पक्ष छानबिन हुनुपर्ने बताउँदै व्यक्ति र सरकारी कार्यालयहरू जलेर खरानि भएको बताउँदै ज्ञावलीले समाजलाई अराजकतातिर लैजाने योजनाबद्ध तरिकाले यस्तो भएको बताए । प्रेस चौतारी दाङ शाखाका अध्यक्ष सुधासुमन ढकालको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर नगर अध्यक्ष वसन्त परियारको स्वागत मन्तव्य गरेका थिए भने सहजीकरण जिल्ला सचिव निमुसंगम घर्तीले गरेका थिए ।
युवा संघको जागरण अभियान
नेकपा एमाले निकट भ्रातृ संगठन राष्ट्रिय युवा संघ लुम्बिनी प्रदेश कमिटीको आयोजनामा तुलसीपुरमा युवा जागरण अभियान कार्यक्रम सम्पन्न भएको छ । अभियानलाई नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीसहित पार्टीका पोलिटव्युरो सदस्य महेश बस्नेतलगायतका नेताको सहभागिता रहेको थियो ।
युवालाई जागृत गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज देवु बस्नेतले जानकारी दिए । कार्यक्रममा बोल्दै महेश बस्नेतले जेन–जीको नाममा निजी सम्पत्ति, सरकारी कार्यालय उद्योग जलाउनेलाई छानबिन गरी कारबाही गर्न माग गरेका थिए । उनले पीडितलाई सरकारले राहत दिनुपर्ने भन्दै लुटिएका हातहतियार र फरार कैदीलाई सरकारले पक्राउ गर्नुपर्ने बताए ।
सरकारले यो काम गर्न नसके आफूहरूले गर्ने सभामा उनले घोषणा गरे । उनले अध्यक्ष केपी वली र नेकपा एमालेका नेतालाई बयान लिने र विभिन्न वहानामा दुःख दिने काम भए लाखौँ युवा सिंहदरवार छिर्ने उद्घोष गरे । उनले विभिन्न विदेशी शक्तिका आडमा जेन–जीलाई अग्रपङ्क्तिमा राखेर नेपालका विभिन्न संरचना जलाउन लगाएको र देशलाई उधो गतिमा लगिएको बताए ।
आगामी निर्वाचनमा केपी वलीलाई फेरि अध्यक्ष बनाएर देखाउने बताउँदै उनले भने, ‘फेरि नेकपा एमालेलाई बलियो बनाउने हो, केही नेताहरू अध्यक्षको विकल्प खोज्दै हुनुहुन्छ, यो आपराधिक कुरा हो ।’ कार्यक्रममा नेकपा एमालेका विभिन्न नेता, युवा संघका केन्द्रीय नेताले समेत सम्बोधन गरेका थिए ।