लोकतन्त्रको रक्षक कांग्रेस, अब आफ्नै लोकतन्त्रको खोजीमा

रमेशकुमार बोहोरा

नेपालको राजनीतिक इतिहासमा नेपाली कांग्रेस केवल एक दल होइन लोकतन्त्रको पर्यायको रुपमा चिनिन्छ । यही पार्टीले मुलुकमा बहुदल, अभिव्यक्ति स्वतन्त्रता र संवैधानिक शासन प्रणालीको बीज रोपेको थियो तर आज यही कांग्रेस आफ्नै विचार र अस्तित्वको दोभानमा उभिएको छ ।

संस्थापकहरुले कल्पना गरेको ‘उदार लोकतान्त्रिक कांग्रेस’ र आजको सत्ता केन्द्रित कांग्रेस बिचको दुरी यति बढिसकेको छ कि पुराना नेताहरु समेत भन्न थालेका छन् ‘अब कांग्रेस विचार होइन, अस्तित्वको लडाइँ लड्दै छ ।’ यो कथन कुनै भावनात्मक विस्फोट होइन पार्टीभित्रको वास्तविकता हो ।

सदस्य नवीकरणदेखि महाधिवेशन तयारी सम्मका सबै गतिविधिले पार्टीभित्र गहिरो असन्तुलन र असन्तोष उजागर गरिदिएका छन् । सङ्गठनका आधारभूत तहहरु कमजोर बनेका छन् र विचारभन्दा सञ्जाल, योग्यता भन्दा हैसियतले मूल्याङ्कन हुने अवस्था बनेको छ । धेरै जिल्लामा सदस्यता वितरण ‘राजनीतिक ठेक्का प्रणाली’ जस्तो देखिन थालेको छ । यही कारण पार्टीको मुल मर्म नै अब वैचारिक आन्दोलन होइन सत्ताको समीकरणमा सीमित भएको छ ।

यस्तो निराश अवस्थाबिच पार्टीभित्र उदाएको ‘एक आन्दोलन’ भने नयाँ आशाको संकेत हो । यो केवल नेताविरुद्धको असन्तोष होइन संस्थागत पुनर्जागरणको आह्वान हो । युवातहले देउवा युगको अन्त्य र वैचारिक पुनः स्थापना माग गरेका छन् । उनीहरुको आवाज स्पष्ट छ ‘हामी व्यक्ति होइन, विचारका लागि कांग्रेसमा छौँ ।‘ यही चेतनाले पुरानो संरचना हल्लाउन थालेको छ ।

तर पार्टीको शीर्ष तहमा त्यही पुरानो नेतृत्व अझै अडिएको छ । सभापति शेरबहादुर देउवाको दीर्घ नेतृत्वले कांग्रेसलाई केही हदसम्म स्थायित्व त दिएको छ तर अब त्यसले ऊर्जा गुमाइसकेको आभास पार्टीभित्र र बाहिर दुबै ठाउँमा छ । उनको कार्यशैली सत्ता र सञ्जालमा केन्द्रित रहँदा सङ्गठन र विचारको पुनर्निर्माण उपेक्षित रह्यो ।

परिणाम स्वरुप, पार्टीभित्र अहिले उत्तराधिकारीबारे खुला बहस सुरु भएको छ । देउवा समर्थकहरुले उनलाई ‘अनुभव र एकताको प्रतीक’ को रुपमा चित्रण गर्छन् तर युवा तहले उनलाई परिवर्तनको अवरोधका रुपमा हेर्छन् । गगन थापा, विश्वप्रकाश शर्मा र धनराज गुरुङ जस्ता युवा नायक निरन्तर नेतृत्व हस्तान्तरणको माग गर्दै आएका छन् तर उनीहरुको स्वर अझै एकीकृत आन्दोलनमा परिणत हुन सकेको छैन । यही कारण परिवर्तनको लहर आधा बाटोमै अड्किएको छ ।

यस बिचमा पार्टीभित्र अर्को बहस चर्किएको छ । विशेष महाधिवेशन गर्ने कि नियमित महाधिवेशन पर्खने । गगन विश्वप्रकाश समूहको तर्क छ ‘अहिले पार्टीले नेतृत्व हस्तान्तरण र सङ्गठन पुनर्संरचनाको तत्काल निर्णय लिनुपर्छ । नियमित प्रक्रियाले समस्याको समाधान गर्दैन’ तर कार्यबाहक सभापति पूर्णबहादुर खड्काको दृष्टिकोण फरक छ ।

उनका अनुसार ‘पार्टीलाई अहिले स्थायित्व चाहिएको छ हतारको निर्णयले सङ्कट झन् गहिरिन्छ ।’ देउवा समूह पनि यही धारणामा अडिग छ तर युवा तहको धैर्य अब अन्तिम चरणमा पुगेको छ । उनीहरुको भनाइ छ ‘देउवा युगले अब कुनै नयाँ बाटो देखाउने छैन कांग्रेसले नयाँ नक्सा बनाउन चाहन्छ भने त्यो नक्सा नयाँ पुस्ताले कोर्नु पर्ने छ ।’

महामन्त्रीहरुका असन्तुष्टि अब केवल मतभेद होइन नीतिगत द्वन्द्वका रुपमा देखा पर्न थालेका छन् । गगन थापा र विश्वप्रकाश शर्माले पार्टीको निर्णय प्रक्रिया पारदर्शी नभएको खुलेर आलोचना गरेका छन् । केन्द्रीय बैठकहरु औपचारिकतामा सीमित छन् नीतिगत बहस हराएको छ । निर्णयहरु केही व्यक्तिहरुको सहमति निर्देशनमा सीमित छन् । यही कारण पार्टीभित्र ‘निर्देशनको लोकतन्त्र’ चलेको आरोप लाग्न थालेको छ । गगन थापाको भनाइ यस सङ्कटको सार झल्काउँछ ‘लोकतन्त्रको मर्म बुझाउने पार्टी आफ्नै भित्रको लोकतन्त्रमा पराजित छ ।’

त्यही बिच कार्यबाहक सभापति पूर्णबहादुर खड्का अत्यन्त कठिन भूमिकामा छन् । एकातिर देउवा समूहको निरन्तरता चाहना अर्कोतिर युवा तहको परिवर्तनको दबाब यी दुईबिच सन्तुलन कायम राख्न उनी संघर्षरत छन् । उनी आफैं पनि सभापतिको सम्भावनाबारे सोचिरहेका छन् तर यही द्विविधाले उनको भूमिकालाई असमञ्जस बनाएको छ । यस राजनीतिक अराजकतालाई तोड्ने एउटा प्रयासको रुपमा पार्टी भित्र आन्दोलन उदाएको छ । यसको मर्म केवल नेताविरोध होइन नयाँ राजनीतिक संस्कृतिको माग हो । यसले तीन स्पष्ट सन्देश दिएको छ । पार्टीले विचारमा फर्कनुपर्छ, निर्णय प्रक्रिया पारदर्शी हुनुपर्छ र नेतृत्व हस्तान्तरण व्यवहारिक हुनुपर्छ ।

युवाहरुले कांग्रेसको पुरानो ‘उदार समाजवाद’लाई आधुनिक व्याख्यामा पुनः परिभाषित गर्न खोजिरहेका छन् । उनीहरुको दृष्टिकोणमा आर्थिक उदारीकरणसँगै सामाजिक न्याय, समावेशी शासन र अवसरको समान वितरण हुनुपर्छ । यही वैचारिक पुनरुत्थान कांग्रेसको नयाँ पहिचान बन्न सक्ने सम्भावना देखिएको छ तर सङ्गठनात्मक दृष्टिले कांग्रेसको सामाजिक आधार कमजोर बन्दै गएको छ ।

परम्परागत मतदाता वर्ग, शिक्षक, व्यापारी, साना व्यवसायी र मध्यम वर्ग पार्टीबाट टाढा जाँदैछन् । पछिल्ला स्थानीय चुनाव परिणामहरुले यसलाई प्रमाणित गरेका छन् । आफ्नै गढ ठानिएका क्षेत्रमा समेत पराजय भोग्नु सङ्गठनात्मक क्षय मात्र होइन जनविश्वास गुमाउनु पनि हो । महिला, दलित जनजातिको प्रतिनिधित्व अझै प्रतीकात्मक सीमामा छ । संविधानले आरक्षणको व्यवस्था गरे पनि निर्णय तहमा उनीहरुको आवाज सुनिँदैन ।

कांग्रेसको सामाजिक सन्तुलन बिग्रँदै जानु यसको वैचारिक असन्तुलनको पनि द्योतक हो । कांग्रेसको वास्तविक सङ्कट नेतृत्व होइन विचारको हो । नेताहरु विचारभन्दा पदमा सङ्गठनभन्दा सञ्जालमा केन्द्रित भएका छन् । यही कारण पार्टीको मुल मर्म मर्न थालेको छ । पार्टीका बौद्धिक वृत्तहरु चेतावनी दिन्छन् ‘अब कांग्रेसले शक्ति होइन, दृष्टिकोणमा प्रतिस्पर्धा गर्नुपर्छ ।’ तर त्यो दृष्टिकोण खोज्ने प्रयास दुर्लभ बनेको छ ।

आज नेपाली कांग्रेस एक निर्णायक मोडमा उभिएको छ । लोकतन्त्रको जग बसाल्ने यही पार्टीले अहिले आफ्नै लोकतान्त्रिक मर्मसँग सम्झौता गर्न थालेको छ । देउवाको दीर्घ नेतृत्वले स्थायित्व त दिएको छ तर पुनर्जागरणको ढोका बन्द गरेको छ । यदि कांग्रेसले अहिले आत्मसमीक्षा र नवसंरचनाको बाटो रोजेन भने इतिहासले यसलाई केवल अतीतको कथा बनाइदिने छ ।

लोकतन्त्रको रक्षा गर्ने पार्टीले आफ्नै भित्रको लोकतन्त्र पुनःस्थापना गर्न सकेन भने त्यसले केवल आफ्नो अस्तित्व होइन देशको लोकतान्त्रिक मूल्यको पनि पराजय देख्नेछ । समयले कांग्रेसलाई पुनर्जन्मको अवसर दिएको छ । त्यो पुनर्जन्म व्यक्तिमा होइन विचारमा हुनुपर्छ । यदि कांग्रेसले विचारको बाटो समातेन भने उसले सत्तासँगै आफ्नो इतिहास पनि गुमाउनेछ ।
(लेखक ः– बोहोरा नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सचिव हुनु)