केपी सुवेदी
नेपालमा लोकतन्त्रमाथि कालो बादल लाग्न त्यति बेलादेखि सुरु भयो जति बेलादेखि लोकतन्त्रलाई दलतन्त्र, दलको पनि गुटतन्त्र हुँदै पछिल्ला दिनमा नेतातन्त्रमा सीमित गर्ने काम नेताहरुले गर्न थाले ।
स्वाभाविकै हो दलीय व्यवस्थामा कुनै न कुनै विचारप्रति झुकाव हुनु र आफूले अँगालेको विचार तुलनात्मक रुपमा अरुले अँगालेको विचारभन्दा राम्रो छ । त्यसमा पनि आफ्नो विचार राम्रो हुनुमा मनासिव कारणहरु छन् र त्यस्ता कारणहरु राम्रोसँग व्याख्या विश्लेषण गर्न सकिन्छ भने अझै राम्रो । लोकतान्त्रिक र आलोचनात्मक चेतसहितको राजनीतिक संस्कार मानिन्छ ।
त्यस्तो विचारको पक्षधरताले आफ्नो पार्टीको नीति, शिद्धान्तको देशहित, समाजहित र व्यक्तिको नैसर्गिक विकास र त्यसको संरक्षणको हकको प्रत्याभूति दिएको हुनुपर्छ । लोकतान्त्रिक प्रणालीसम्बन्धी अभ्यास र अनुभूति गर्दै शताब्दी बिताएका मुलुकका नागरिकको हकमा यो नियम लागु हुनसक्छ, अन्यथा गाह्रै पर्ने देखिएको छ ।
सन् १९४७ मा ब्रिटिस साम्राज्यबाट मुक्त भएर लोकतान्त्रिक अभ्यास सुरु गरेको मुलुक भारतले लोककल्याणकारी राज्यको अनुभूति पूर्ण रुपले अझै दिनसकेको छैन । हाम्रो मुलुक विसं २००७ सालमा प्रजातनत्र आए पनि पटक पटक निरङ्कुशताको कठघरामा उभिँदै निस्किँदै गरेर यहाँसम्म आइपुग्दा २० वर्ष बितेको छ ।
राज्य सत्ता निरङ्कुश बन्ने प्रणाली करिब सधैँका लागि परास्त भएको मान्ने हो भने पनि त्यसको अवधि त्यति धेरै लामो भएको छैन । २० वर्ष अघि घोषणा भएर विधिविधानद्वारा संस्थागत हुन १०–११ वर्ष लाग्यो तर त्यो बिचमा पटक पटक लोकतन्त्र निरङ्कुश शासकको पन्जामा परेर निस्किँदै गर्दा त्यसविरुद्ध लडेर आफ्नो ऊर्जाशील जीवन समर्पित गरेका नेताहरुबाटै लेकतन्त्र असुरक्षित जस्तो हुन थाल्यो ।
विधिको शासनभन्दा व्यक्तिको शासनतर्फ खुम्चिँदै गएपछि नेपालको लोकतान्त्रिक गणतन्त्रले आफ्नो मुल चरित्र बचाएर जनतालाई नागरिक सर्वोच्चताको अनुभूति दिन असफल भएको महसुस गर्न थालिएको हो । गत भाद्र २३÷२४ मा भएको जेन–जी उमेर समूहले गरेको विद्रोह, त्यसैको परिणाम हो ।
जेन–जी मानिसको शैशवावस्थादेखि पौढावस्थासम्म विभिन्न उमेर समूहमा विभक्त गरी प्रत्यक उमेर समूहको नामकरण गरिएको छ । त्यहस् मध्येको सबैभन्दा जिज्ञासु, क्रियाशील र ऊर्जाशील उमेर समूह १३–२८ मानिन्छ । नयाँ नयाँ प्रविधिहरु र वैज्ञानिक प्रयोगहरुको उच्चतम ज्ञान समेट्ने क्षमताले युक्त यो समूह कुनै अर्को ग्रहबाट पदार्पण गरेको नवागन्तुक मानव होइन ।
उनै राजनीतिक दल स्वतन्त्र नागरिक भन्न रुचाउने, दलतन्त्रभन्दा व्यक्तितन्त्र उन्नत ठान्ने तथा मौकाको पर्खाइमा रहेको जुनसुकै उमेर समूहको प्रयोगमा आउन पनि पछि नपर्ने मानिसहरुको भिड हो । यो भीडभाड बढ्दै जानु खतराको सङ्केत हो भन्ने कुरा नेतातन्त्रमा मख्ख परेका सानाठुला कसैले पनि आँकलन गर्न सकेनन् । दलतन्त्रका केही जिम्मेवार हुनुपर्नेलेसमेत गैह्रजिम्मेवार ढङ्गले उनीहरुलाई सघाउने गरेको खुल्दैछ ।
कहिलेकाहीँ मानिसले अरुलाई लक्षित गरी प्रहार गरेर आफू सुरक्षित रहन्छु भन्ने ठानिरहेको हुन्छ । कपटपूर्ण निर्णय वा योजना आफ्नै लागि खनेको खाल्डो झैँ परिस्थिति उल्टिनसक्छ । यस पटक जेन–जी उमेर समूहमा घुसपैठ गरेर फाइदा लिन तम्सेका प्रायःजसो सबैलाई क्षतिभ एको छ र त्यसको परिपूर्ति असम्भव बन्दै गएको अनुमान गरिन्छ ।
दलतन्त्रले जन्माएको असन्तुष्टिको भाग संसद्मा उपस्थित सबै दलप्रति दामासाहीले पर्ने नै हो किनभने सरकारमा नभए पनि राज्यको कोषबाट सुविधा लिन नछोडेका सबै दल एउटै कोटीमा दरिनुपर्छ । नेकपा माओवादी, रास्वपा, राप्रपा, एकीकृत समाजवादीलगायत सबै दलहरु राज्यको निकायमा उपस्थित भएर सुख सुविधा भाग लगाए ।
दलतन्त्रबाट तल ओर्लेर व्यक्तितन्त्रमा रमाउन उनीहरुको असहमति कतै देखिएन । चाहे गठबन्धन सरकार बनाउनहोस् या मिलीजुली कुर्सीमा बसिरहनुहोस् । सर्वव्यापी सिद्धान्तको आफ्नो स्वार्थप्रेरित व्याख्या गर्ने दुष्कर्म सबैले गरे । त्यसैले अहिले दलप्रति देखिएको आक्रोश उस्तै छ ।
यसैलाई आधार मानेर लोकतन्त्रात्मक गणतन्त्र असफल भयो, संसदीय लोकतन्त्र असफल भएको तर्क अगाडि सारेका छन् ? तर व्यवस्था असफल भएकै होइन, यसका सञ्चालक जसले नीति, दर्शन, सिद्धान्त बिर्सेर लोकतन्त्रका आधारभूत मान्यतामा प्रहार गरे तिनीहरु असफल भएको हो ।
बदलिएको परिस्थितिमा, जसरी अकल्पनीय सत्ता पलट असम्भव ठान्दाठान्दै अतिवादी सोचहरु सधैँका लागि अग्राह्य हुनसक्छन् भन्ने हेक्का सबैले राख्नुपर्छ । त्यसैगरी परिवर्तनलाई युगसापेक्ष चेतनाको सम्बोधन गर्न जान्नेहरु खोजेर पुनःस्थापित गरिन्छन् भन्ने समयले फेरि पनि प्रमाणित गरेर छोड्नेछ । दम्भ र अहङ्कारहरुको साम्राज्य क्षणिक हुन्छ ।
यतिखेर चेतनशील राजनीतिले नयाँ अध्यायको पाना पल्टाइसक्यो, पढ्न र त्यसको भावार्थ बुझ्नेहरुको जिम्मा छ । अब मुलुकलाई कुन उमेर, जात या वर्णले होइन राजनीतिक संस्कार भएको क्षमाशील, विवेकशील र उर्जाशील एकताको आवश्यकताछ । त्यसको संयोजनकारी भूमिका राज्यले खोजेको विकल्प हो । यदि प्रणाली सही छ भने सञ्चालक गलत भएर नै विकल्पको खोजिएको सबैले स्वीकार्नैपर्छ ।
यो सत्यलाई स्वीकार्न पनि लोकतान्त्रिक संस्कारी विचारको मात्र सामथ्र्य हुन्छ भन्ने हालै भएका दलको नेतृत्वले देखाएका क्रियाकलापबाट पुष्टि भएको छ । लोकतान्त्रिक संस्कार भएको व्यक्तिले परीक्षाबाट सत्यतथ्य खोजेर उसको हैसियत स्पष्ट गर्न माग गरिरहेको छ र लोकतान्त्रिक संस्कार नभएकाहरु अधिनायकवादी शैलीमा प्रतिवाद गरिरहेका छन् । मुलुक र दलभित्र उस्तै प्रवृत्तिहरु अगाडिको मार्ग प्रशस्त गर्न तगारो बन्ने क्रम जारी छ ।