Goraksha

National Daily

घोराहीमा १२ हजार नयाँ धारा थप्ने छौँ : अध्यक्ष डिसी [अर्काइभ अन्तर्वार्ता]

दाङमा पानी बाजे भनेर चिनिने घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष देवीबहादुर डिसी अस्ताएका छन् । जीवनभर पानी राजनीति र रणनीतिमा रुमल्लिएका डिसीको करिब–करिब आधा जीवन पानीकै व्यवस्थापनमा बित्यो । पण्डित टेकनाथ गौतमले दाङ मरुभूमीकरण हुने खतरा देखिरहँदा देवीबहादुर डिसी भने यसैको व्यवस्थापनमा अहोरात्र खटिरहे । पानीको व्यवस्थापनकै विषयलाई लिएर आजभन्दा करिब २ वर्ष पहिले २३औँ साधारणसभाको पूर्व सन्ध्यामा संस्थाका अध्यक्ष देवीबहादुर डिसीसँगको भेटमा उनी फेरि पानीकै विषयमा बोल्न चाहे । उनको धोको थियो, घोराही खानेपानीमा सहलगानी आयोजना सम्पन्न भयो भने १२ हजार धारा थपेर आफूले घोराहीलाई चौबिसै घण्टा खानेपानी छ्यालब्याल बनाउने सपना बोकेका थिए ।
यद्धपि तोकिएको समयमा आयोजना पूरा हुन नसक्दा करिब ६ महिना म्याद थप्नु प¥यो । आयोजना अबको एक दुई महिनामा पूरा हुँदै छ । सायद अबको दुई÷तीन महिना बाँच्न सकेको भए, उनकै हातबाट ती धाराको टुटि खोलिने थियो तर पनि उनको सपना साकार हुन अब सायद दुई महिना मात्र लाग्ने छ । डिसीलाई पानी बाजेको नाम पनि गोरक्ष दैनिकले नै दिएको हो । २०६० सालदेखि निरन्तर यो संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका थिए । बढ्दो सहरीकरणसँगै खानेपानीको सहज आपूर्तिमा हरेक दिन चुनौती थपिँदै गएका छन् । पानीको समस्या चुलिँदै आएको छ । वार्षिक वर्षातको दर कमजोर बन्दै गएको छ भने जमिनमुनिको पानीको सतह पनि दिन प्रतिदिन तल भासिँदै गएको छ । परापूर्वकालदेखि चलि आएका मुहान सुक्दै छन् । इनारमा पानी धेरै तल्लो तहमा मात्र भेटिन्छ ।
घोराही खानेपानीको वर्तमान अवस्था र उपभोक्ताको मागअनुसार पानी आपूर्ति गर्ने भावि योजनाका विषयमा केन्द्रित रहेर दाङ जिल्लामै पानी बाजे भनेर चिनिने घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष देवीबहादुर डिसीसँग गोरक्षकर्मी खेमराज रिजालले २०८० माघ महिनामा गरेको कुराकानीको सारसंक्षेप अझै पनि थप सान्दर्भिक लागेर स्वर्गीय  देवीबहादुर डिसीको मृत्यु पर्यन्त पनि पुनः प्रकाशित गरेका छौँ ।
— स्वागत छ, तपाईलाई गोरक्ष सातावार्तामा ।
धन्यवाद, तपाई अनि तपाईको लोकप्रिय गोरक्ष राष्ट्रिय दैनिक पत्रिका परिवारलाई ।
— घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको स्थापनाको तेइसौँ वर्ष सुरु भएको छ । संस्थालाई करिब दुई दशकदेखि लगातार तपाईले नेतृत्व दिइरहनु भएको छ। के कस्ता चुनौती देख्नु भएको छ खानेपानीमा ?
हो, मैले कम्तिमा २० वर्ष यो संस्थामा नेतृत्वदायी भूमिकामा रहेर काम गर्दै आएको छु । म नेतृत्वमा आउँदा संस्थामार्फत् करिब चार÷पाँच सय धाराको संख्या बढेर अहिले करिब सात हजार नौँ सय नाघिसकेको छ । मलाई अचेल बजारमा पानी बाजे भनेर पनि चिन्ने गरेका छन् । घोराहीको बढ्दो जनसंख्या र पानीको माग एकातिर छ भने अर्कोतिर उत्तरतिरको महाभारत, चुनढुंगा र नदीजन्य पदार्थको जथाभावी उत्खनन्ले पानीका मुहान सुक्दै गएका छन् ।
यो विद्यमान अवस्थामा उपभोक्तालाई पानी पु¥याउन यो समितिलाई निकै चुनौती पनि छ तर पनि जहाँ समस्या त्यहाँ समाधान हुन्छ । हामीले यी चुनौतीलाई सामना गर्नुको कुनै विकल्प छैन । सहरीकरण बढिरहेकाले यसलाई रोक्न हामीले सक्ने अवस्था छैन । जनसंख्या वृद्धिसँगै उपभोक्ता वृद्धि हुनु पनि स्वाभाविकै होतर हामीले हरेक वर्ष धाराको संख्या बढाउनुको कुनै विकल्प छैन । धारा मात्र थपेर भएन, उपभोक्तालाई पानी पनि उपलब्ध गराउन सक्नु पर्छ । यसका लागि हामीले नयाँ–नयाँ स्रोतको खोजी गर्दै आम उपभोक्तालाई आवश्यकताअनुसार पानी उपलब्ध गराउँदै आएका छौँ । केही चुनौती समेत छन् ।
— पछिल्लो समयमा स्रोत थप्ने के कस्ता योजना सुरु गर्दे हुनुहुन्छ ?
हो, मैले भनिसके, हामीले अब अल्पकालिन सोच मात्र राखेका छैनौँ । कम्तिमा पनि ४० वर्ष पछि हुन सक्ने उपभोक्तालाई मध्यनजर गर्दै सहलगानीको योजना सञ्चालनमा ल्याइसकेका छौँ । त्यसका लागि नेपाल सरकारको ३५ करोड र संस्थाको १५ करोड रुपैयाँ गरी जम्मा ५० करोड बजेटको नयाँ योजना धमाधम सुरु भइसकेको छ ।
मलाई लाग्छ, सायद आयोजना २०८२ असार मसान्तमा सबै काम सम्पन्न भइसक्ने छ । आयोजना सम्पन्न भएपछि कम्तिमा १२ हजार नयाँ धारा थपिने छन् । नयाँ आयोजनाका लागि संस्थाले उठाउनु पर्ने ३० प्रतिशत रकम हो, तर संस्थासँग त्यति पैसा छैन । त्यही भएर हामीले २५ प्रतिशत ऋण नगर विकास समितिसँग वार्षिक ५ प्रतिशत ब्याजमा लिएका छौँ । बाँकी ५ प्रतिशत संस्थाले व्यहोर्ने छ । संस्थाले नयाँ धारा जडान र उपभोक्ताबाट उठाउने महसुलबाट उठाइने छ ।
हामीले यो ऋण २० वर्षभित्र तिरिसक्ने छौँ । आयोजनाका लागि बबई किनारा नजिकै ५ वटा डिप वोरिङ निर्माण हुनु पर्ने छ । दुईवटा समवेल निर्माण हुने छन् । चारवटा डिपवोरिङको काम करिब–करिब सम्पन्न भइसकेको छ । एउटा डिपवोरिङ र दुईवटा समवेल निर्माणको क्रममा रहेका छन् । पानी सञ्चय गर्नका लागि सुक्वारीमा ६ लाख लिटर क्षमताको र रावतगाउँमा दुई लाख लिटर क्षमताका अन्डरग्राउण्ड टेङ्की निर्माण भइसकेका छन् ।
झिँगौरामा अरू दुईवटा टेङ्की निर्माण हुन बाँकी छ । त्यसैगरी पाइप लाइन बिच्छाउने काम पनि धमाधम भइरहेको छ । ११ हजार मिटर पाइप लाइन बिच्छाउनु पर्नेमा पाँच हजार मिटर पाइप लाइन बिच्छाउने काम भइरहेको छ । हामीले आयोजना निर्माणको काम सम्पन्न गरिसकेपछि नयाँ आयोजनाबाट प्रतिसेकेन्ड एक सय ४० लिटर पानी थपिने छ । हामीलाई हाल मौजुदा पानी प्रतिसेकेन्ड एक सय ३० लिटर पात्रै छ ।
— आधारभूत शिक्षा, आधारभूत स्वास्थ्य तथा स्वच्छ सफा एवम् पिउने पानीलाई सङ्घात्मक संविधान २०७२ ले मौलिक हकका रूपमा स्थापित गरेको छ, तर तपाईहरूले पानी बेचिरहनु भएको छ नि, मासिक महसुल र नयाँ धारा जडानका नाममा चर्को शुल्क किन ?
हो, मलाई पनि राम्रै गरी थाहा छ । पानी हावा, घाम त प्रकृतिका निःशुल्क उपहार हुन् । सरकारले बिरामीलाई सिटामोललगायतका धेरै औषधी स्वास्थ्य संस्थामार्फत् निःशुल्क उपलब्ध गराएको छ । नयाँ संविधान २०७२ ले पनि पानीलाई मौलिक हकका रूपमा स्थापित गरेको छ तर लेखेर मात्रै भएन नि ।
 हामीले त दिन दिनै विद्युत महसुल सरकारलाई तिर्नु पर्ने छ । टुटफुट धाराको मर्मत, कर्मचारीलाई मासिक तलब, कार्यालय सञ्चालनलगायत थुप्रै खर्चका लागि सरकारले एक रुपैयाँ बजेट दिँदैन । संविधानमा लेखेर मात्रै निःशुल्क हुन्छ ? सरकारले लगानी गर्नुपर्यो नि । यही कारण संविधानमा लेखिनु एउटा कुरा हो, व्यवहारमा कार्यान्वयन गर्नु अर्को विषय । हामीलाई पानीको शुल्क लिने कुनै रहर छैन, तर यसको जिम्मा सरकारले लिन सक्नु प¥यो ।
— घोराही क्षेत्रमा खानी पु¥याउनको लागि जुन ‘भिजन र प्लान’ बनाएर काम समेत सुरु गर्नु भएको छ, यसका केही चुनौती छन् कि छैनन् ?
हामीले घोराही क्षेत्रमा खानेपानीको समस्या दीर्घकालीन रूपमा समाधान गर्न केही योजना अघि सारेका छौँ । त्यसमा काम समेत सुरु भएको छ तर ती योजना पूरा गर्न धेरै रकम लाग्छ । त्यो रकम संस्थासँगै छैन । त्यो नै सबैभन्दा धेरै चुनौती छ तर पनि काममा हात हालेका छौँ । ऋण लिएर काम सुरु गरेका छौँ । भोलि त्यो रकम तिर्न नसकेमा समस्या हुन्छ । त्यतातिर पनि ध्यान दिनुपर्छ ।
समग्रमा अन्य चुनौतीभन्दा पनि आर्थिक चुनौती बढी हो तर सबै क्षेत्रको सहयोग र सहकार्यले ती चुनौतीलाई चिर्दै अघि बढ्ने विश्वास लिएको छु । साथै पछिल्लो समयमा चुनढुंगा उत्खनन् मुहान जोगाउने सन्दर्भमा चुनौतीका रूपमा छ । मुहान क्षेत्रमा यस्ता सम्भावित उत्खनन्को स्वीकृति रोक्न नसक्दा धेरै समस्या छ ।
वातावरणमा बढिरहेको तापमानका कारण वर्षातको दर कम हुँदै गएको, अव्यवस्थित सहरीकरणले परेको पानी पनि संश्लेषण हुने क्रम कमी भएको तथा पानी सोस्ने चुनढुंगालगायत वनजंगल पनि विनाश हुँदै गएकाले मुहान जोगाउनु नै अहिलेको मुख्य आवश्यकता देखेको छु ।
— खानेपानीको मुहान संरक्षणमा के गर्न आवश्यक छ ?
मानव जीवनको मुख्य आधार नै पानी हो । पानीका स्रोत बर्सेनि घटिरहेको विषयलाई हामीले देखे नदेखेझैँ गरिरह्यौँ भने महासङ्कट अवश्यम्भावी छ । बाजा बजाएरै आइरहेको यो दशाप्रति हामी सबै गम्भीर बन्नु पर्छ । पानीका मुहान संरक्षणमा हामीले केही योजना बनाएर काम थालेका छौँ ।
पानीका मूल नसुकाउनका लागि विकास निर्माणका गतिविधि गर्दा जस्तो कुनै बाटो बनाउँदा या पूर्वाधार निर्माण गर्दा पानीको प्राकृतिक मार्ग विनाश गर्नु हुँदैन । त्योप्रति हामीले खबरदारी गर्दै आएका छौँ । अब यसमा उपभोक्ता पनि सचेत बन्नु पर्छ । सबै क्षेत्रका बासिन्दा पानी सञ्चय र पुनर्भरणमा सचेत रहनुपर्छ ।
पानी संरक्षणका ठाउँ–ठाउँमा साना–ठूला पानी सञ्चय गर्ने भण्डार बनाउनेलगायतका योजना भएमा धेरै राहत हुन्छ, यसमा स्थानीय सरकारले विशेष रूपमा काम गर्नसक्छ । जल आपूर्ति प्रणालीलाई अक्षुण राख्न पानीका स्रोत संरक्षण गर्नुपर्छ । यसो गरेमा मात्र मानिसलाई पिउन तथा सिँचाइका लागि पानीको आपूर्ति हुन्छ । यसतर्फ हामीले योजना बनाएर काम गर्ने छौँ ।
— अन्तमा यसै पत्रिकामार्फत् आम उपभोक्तालाई केही भन्नु छ कि ?
हो, मैले फेरि पनि दोहो¥याउन चाहन्छु । हामीले सहलगानीमा यो विशाल योजना सञ्चालनमा ल्याएका छौँ । हामीले नगर विकास समितिबाट लिएको ऋण पनि तोकिएको समयमा भुक्तानी गर्नु पर्ने छ । संस्थागत विकास पनि अर्कोतर्फ छ । यी दुवैमा आम उपभोक्ताको सधै सकारात्मक सल्लाह सुझाव र सहयोगको अपेक्षा गर्दछु ।
साथै घोराही खानेपानीका विषयमा विभिन्न जिज्ञासालाई पाठक सामु पु¥याइ दिनु भएकोमा गोरक्ष राष्ट्रिय दैनिक पत्रिका परिवारलाई पनि विशेष धन्यवाद दिन चाहन्छु । जय खानेपानी ।
(यो अन्तर्वार्ता स्व.डिसीप्रतिको सम्मान स्वरूप पुनः प्रकाशन गरिएको हो–सम्पादक ।)