सरकारले निर्वाचनको वातावरण बनाए, एमाले तयार छ : महासचिव पोख्रेल

गोरक्ष समाचारदाता
दाङ, १४ कात्तिक । नेकपा (एमाले)का महासचिव शंकर पोख्रेलले निर्वाचनका लागि अनुकूल वातावरण सिर्जना गर्न सरकारसँग आग्रह गरेका छन् । प्रेस चौतारी दाङ शाखाले बिहिबार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोख्रेलले सरकारले निर्वाचनका लागि उपयुक्त वातावरण बनाएमा आफ्नो पार्टी निर्वाचनमा जान तयार रहेको बताएका हुन् ।

सरकारले निर्वाचन गराउने बताए पनि राजनीतिक दलहरूलाई विश्वासमा लिन नसकेको भन्दै महासचिव पोख्रेलले निर्वाचनको वातावरण सिर्जना गर्नु अहिलेको मुख्य आवश्यकता भएको बताएका थिए । एमाले निर्वाचनबाट पछि नहट्ने प्रस्ट पार्दै महासचिव पोख्रेलले राजनीतिक दलले निर्वाध रूपमा गतिविधि सञ्चालन गर्न पाउनुपर्ने अवस्था सिर्जना गर्नु सरकारको दायित्व भएको बताए ।

सरकारले निर्वाचन गर्ने भन्ने तर राजनीतिक दललाई निर्वाध रूपमा गतिविधि गर्ने वातावरण बनाउन नसकेको भन्दै महासचिव पोख्रेलले निर्वाचनका लागि राजनीतिक दललाई जनताका बिचमा जाने वातावरणसँगै सुरक्षाको प्रत्याभूति गराउनुपर्ने र त्यसका लागि प्रहरीको मनोबल बढाउन आवश्यक रहेको बताएका थिए ।

प्रतिनिधि सभा पुनःस्थापनाको विषयमा सर्वोच्च अदालतको फैसलामा भरपर्ने भन्दै उनले त्यही फैसला अनुसार आगामी कदम कसरी अघि बढाउने भन्नेमा निर्भर हुने बताए । पोख्रेलले भने, ‘प्रतिनिधि सभा विघटन र सरकार गठनसम्बन्धी मुद्दा सर्वोच्चमा विचाराधीन रहेको छ । उक्त मुद्दामा सर्वोच्च अदालतको फैसला के आउँछ, सोही आधारमा अघि बढ्छौँ ।’ उनले प्रतिनिधि सभा पुनःस्थापना भयो भने जेन–जी युवाका न्यायोचित माग सम्बोधन गर्दै राजनीतिक सहमति खोज्दै अघि बढ्ने बताए ।

जेन–जी आन्दोलनका क्रममा भदौ २३ र २४ गते भएका घटनालाई दुई दृष्टिकोणबाट हेर्नुपर्ने बताए । जेन–जी आन्दोलनलाई एकातिर नवयुवाको आकाङ्क्षा र अर्कोतिर आन्दोलनका क्रममा देखिएका विकृति तथा राज्यले व्यहोर्नुपरेको क्षतिलाई छुट्टाछुट्टै रूपमा मूल्याङ्कन गर्नुपर्ने भन्दै उनले आपराधिक कार्यमा संलग्नलाई कानुनी दायरामा ल्याउनुपर्न बताए ।

जेन–जीका भ्रष्टाचार नियन्त्रण र सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउनुपर्ने माग न्यायसङ्गत भए पनि त्यसमा राष्ट्रविरोधी र स्वार्थी तत्वको घुसपैठ हुँदा देश र लोकतान्त्रिक व्यवस्थालाई कमजोर बनाएको बताए । आन्दोलनका क्रममा सुरक्षा निकाय र न्यायालयमाथि भएको आक्रमण सामान्य नभएको भन्दै महासचिव पोख्रेलले त्यसलाई नेपालको सुरक्षा र कानुनी व्यवस्थालाई अस्थिर बनाउने षड्यन्त्रको परिणाम भएको बताएका थिए ।

उनले भने, ‘जेन–जीका माग सकारात्मक थिए । आन्दोलन दबाउन न्यायालयको कुनै भूमिका थिएन तर कानुनी व्यवस्थालाई खलबल्याउन र देशलाई कमजोर बनाउने गरी सुरक्षा निकाय र अदालतमा क्षति पु¥याउने काम गरिएको छ ।’ आन्दोलनका क्रममा प्रहरीका हतियार लुटिनु र कारागारबाट कैदीहरू भाग्नु जस्ता घटनाले मुलुकमा असुरक्षा बढाएको बताए ।

महासचिव पोख्रेलले भने, ‘जेन–जीका नाममा अपराधिक क्रियाकलापमा संलग्नलाई कानुनी दायरामा ल्याउनुपर्छ । नागरिकलाई सुरक्षाको प्रत्याभूति र प्रहरीको गिरेको मनोबल बढाउनुपर्छ ।’ आन्दोलनका क्रममा अराजकता मच्याउनेलाई कानुनी दायरामा नल्याउँदा नागरिकमा सुरक्षाको प्रत्याभूति नभएको र अराजकता मच्याउनेलाई हौसला बढाउने काम गरेको बताएका थिए । प्रेस चौतारी दाङका अध्यक्ष सुधासुमन ढकालको अध्यक्षता तथा उपाध्यक्ष बिमल योगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव निमुसंगम घर्तीले गरेका थिए ।