भारतका पूर्व सांसदलाई लमहीमा स्वागत
टेकबहादुर पुन
देउखुरी, ३० असोज । देउखुरी उद्योग वाणिज्य संघ लमहीले भारतका पूर्व सांसद (राज्य सभा) तथा व्यापार मण्डल उत्तर प्रदेश भारतका अध्यक्ष बनवारीलाल कंछललाई लमहीमा स्वागत तथा सम्मान गरेको छ । संघले दुई देशबिचको आपसी व्यापारिक, सामाजिक र सांस्कृतिक सम्बन्धलाई सुदृढ बनाउने उद्देश्यले एक कार्यक्रम गरी स्वागत तथा सम्मान गरेको हो ।
देउखुरी उद्योग वाणिज्य संघ लमहीका अध्यक्ष कमलजंग सिंह ठकुरीको अध्यक्षता तथा व्यापार मण्डल उत्तर प्रदेश भारतका अध्यक्ष तथा पूर्व सांसद (राज्य सभा) कंछलको प्रमुख आतिथ्यतामा कार्यक्रममा संघका अध्यक्ष ठकुरीले प्रमुख अतिथि कंछललाई स्वागत गर्दै नेपाल–भारतबिचको पारस्परिक व्यापारिक सम्बन्धलाई सहज बनाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा संघका अध्यक्ष ठकुरीले तीन बुँदे ज्ञापनपत्र प्रमुख अतिथि कंछललाई हस्तान्तरण गरेका थिए । ज्ञापनपत्रमा नेपाल र भारतबिचको व्यापारलाई सहज र पारदर्शी बनाउन २५ लाख रुपैयाँसम्मको भन्सार दरमा आयात सुविधा दिनुपर्ने, भारतका अस्पतालहरूमा उपचार गर्न आउने नेपाली बिरामीलाई कम्तिमा २५ प्रतिशतसम्म छुटको व्यवस्था गरिनुपर्ने र भारत सरकारको सहयोगमा संघका लागि एउटा एम्बुलेन्स उपलब्ध गराइदिनुपर्ने माग उल्लेख गरिएको छ ।
ज्ञापनपत्र बुझ्दै प्रमुख अतिथि कंछलले दुई देशबिचको सम्बन्ध केवल सीमामा सीमित नभई जनस्तरसम्म पुग्नुपर्ने बताए । उनले नेपाल–भारतबिचको सम्बन्ध इतिहासकै गहिरो नातामा आधारित रहेको भन्दै यसलाई मजबुत बनाउन आफू सदैव प्रतिबद्ध रहने बताए । नेपाल र भारतबिच व्यापारका धेरै सम्भावना भए पनि नाकाहरू बन्द हुँदा दुवै देशका व्यापारीले कठिनाइ भोग्नुपरेको प्रमुख अतिथि कंछलले बताए ।
उनले कोइलाबास नाका तत्काल खोल्नुपर्ने र दुई देशबिचको व्यापारिक आवागमनलाई सहज बनाउनुपर्नेमा जोड दिए । कंछलले नेपाललाई सानो नभई बुद्ध जन्मेको देश र पशुपतिनाथ भएको देश विशाल र गौरवशाली भएको बताए । उनले भने, ‘नेपाल आफैँमा अद्भूत, सुन्दर र सम्भावनायुक्त देश हो । यहाँको शान्त वातावरण र सुमधुर सम्बन्धले हामीलाई अझ नजिक ल्याउँछ ।’ उनले भारतीय अस्पतालहरूमा उपचारका लागि जाने नेपाली बिरामीलाई १५ देखि २५ प्रतिशतसम्म छुटको व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गरे ।
संघका बरिष्ठ उपाध्यक्ष केशवराज पोखरेलले स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा गोरक्ष लमही लायन्स क्लबका अध्यक्ष शेषदत्त चौधरी, दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष वसन्त जोशी, व्यापार मण्डल तुलसीपुर भारतका अध्यक्ष श्यामबिहारी अग्रहरी, संघका पूर्व अध्यक्ष लीलाराम खनाललगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमपछि अतिथिहरूको सम्मानमा सांस्कृतिक प्रस्तुतिसमेत गरिएको थियो । जसमा स्थानीय कलाकारले देउखुरी क्षेत्रका परम्परागत गीत, नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रमको सहजीकरण संघका महासचिव हरिबहादुर थापाले गरेका थिए ।
