खेमराज रिजाल
दुधरास, २८ असोज । बेलझुन्डीको रङ्गशालामा बिहानीको शारीरिक अभ्यास पछिको विश्राम दुधरासको लक्ष्मी मिठाई तथा चिया पसलमा हुन्छ । सूर्योदय नहुँदै हामी सधैँ त्यो होटलमा पुग्छौँ । करिब एक घण्टा चिया गफमा बिताउने हाम्रो आजभोलिको दैनिकी बनेको छ । त्यो चिया पसल एउटा साझा जमघटको थलो हो । निजामती कर्मचारी, टोले निर्माण व्यवसायी बैंकर्स, सहकारीकर्मी, ब्रोकर्स, टोले राजनीतिज्ञदेखि पत्रकारसम्मको जमघट हरेक बिहानको दैनिकी हो ।
त्यो होटलको फलामे बेन्च र काठको टेबुलले हामीलाई सधैँ कुरिरहेका हुन्छन् । जाडो होस् या गर्मी, त्यो फलामे बेन्च कहिलै फेरिँदैन । सित पुछेर बस्दै थियौँ, टुप्लुक्क आइपुगे स्थानीय शिक्षासेवी एवम् राजनीतिज्ञ डिल्ली अधिकारी । ‘लौ भन्नुस्, तपाई त पत्रकार पनि हुनुहुन्छ मुलुक कता जाँदैछ ?’ सायद त्यो मलाई सोध्ने प्रश्न थिएन जस्तो लाग्यो र ठट्टामै भनिदिएँ, ‘दाइ ! बेलझुण्डी त्यहीँ छ, भर्खरै छाडेर आएको, घोराही पनि त्यहीँ थियो, हिँजो साँझ मात्र छाडेर आएको, सायद तुलसीपुर पनि त्यहीँ हुनेछ, जहाँ म दिउसो जाँदैछु ।’
मेरो जवाफ त खाली चिया गफकै लागि थियो । सबै खित्का छाडेर हाँसे । सायद त्यो प्रश्नको जवाफ कुनै नेपालीसँग छैन होला । राष्ट्रपछि र प्रधानमन्त्रीलाई सोधे पनि सायद त्यो बताउने अवस्था छैन । किनकि भदौ २३ मा सुरु भएको जेन–जी प्रोटेस्ट र २४ को त्यो अकल्पनीय क्षतिको परिदृश्य अझै ताजै छ । आन्दोलनका क्रममा मुलुकमा कार्यपालिका रहेन, व्यवस्थापिका रहेन अनि न्यायपालिका पनि जल्नबाट जोगिएन ।
जेन–जी आन्दोलनकै बलमा मुलुकले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा गरायो, सुशीला कार्कीलाई प्रधानमन्त्री रूपमा पायो अनि राष्ट्रपतिबाट प्रतिनिधि सभा विघटन गरियो । यी सबै परिघटना न त पूर्णरूपमा संवैधानिक तवरबाट भए न त यो संविधानको विकल्प नै खोजियो । सायद अहिले संविधान अर्धचालित छ भन्ने कानुनविद्हरू पनि छन् । त्यो टेबलमा टिओबी ग्रुपको चर्चा हुन्छ, सिआइएको चर्चा हुन्छ अनि ‘र’ का विषयमा पनि गफिन्छन् । मानौँ, त्यो टेबल अहिले अनुमान र पूर्वानुमानको थलो जस्तै बनेको छ । एक महिनादेखि त्यो टेबुल अधैर्य प्रतीक्षामा छ तर त्यो टेबललाई डिल्ली सरको प्रश्नको जवाफ दिन सक्ने वातावरण जुटिसकेको छैन ।
जेन–जी आन्दोलन कसको नेतृत्वमा चल्यो, चल्दैछ वा चल्नेछ ? भन्ने त्यो टेबुलको प्रश्नको उत्तर पनि दिनदिनै फेरबदल भइरहन्छ । सुदन, मिराज, प्रवेश, रक्षालगायतका जेन–जी प्रोटेस्टरहरूका विषयमा फरक फरक धारणा राख्छ, त्यो चिया टेबुलले । लाग्छ, त्यो टेबुल सर्वदलीय मात्र नभएर सर्वपक्षीय हो । त्यो टेबुल स्थानीयको मात्र होइन, कहिलेकाहीँ एकाबिहानै घोराहीबाट आएका चियाका पारखीले भरिन्छ त कहिले तुलसीपुरबाट चियाकै लागि आउछन्, त्यहाँ । त्यसो त दुधरास नामैले काफी छ । घोराही–तुलसीपुर मोटरबाटो नखुल्दै पनि दुधरासको थापा होटलको चियाको अझै पनि पुरानाहरूले चर्चा गरेको मैले सुनेको छु ।
नयाँ सरकार गठन भएको एक महिना नाघिसक्दा पनि मुलुकको स्थायित्वका विषयमा अन्योलता छाउनुलाई त्यो टेबलले मनासिव मान्दैन । जुन उद्देश्यले जेन–जी प्रतिनिधिहरूले भोटिङ गरेरै यो सरकारको नेतृत्वमा सुशीला कार्कीलाई छाने र सुशीलाले नयाँ मन्त्रीहरू थप्दै सरकार सञ्चालनको जमर्को गर्दैछिन् तर पनि जनतालाई सरकार फटाफट चलेको अनुभूति छैन । पर्व नजिकिँदै गर्दा शान्ति सुरक्षाको चिन्ता छ । तिहारका रोटी पनि सुटुक्क पाक्न थालेको आभास हुन्छ, किनकि पोहोर जस्तो सडकमै बास्ना आएको छैन, रोटी पकेको ।
सबैले आआफ्नै जिज्ञासा राख्ने त्यो टेबलमा धन्न आजसम्म त्यो टेबल प्रतिनिधि सभाको पुनःस्थापनासम्म उठेको छैन । यद्यपि संविधान बच्ने कि नबच्ने भन्ने त्यो टेबुललाई धेरै चिन्ता छ । त्यो टेबलमा भदौ २४ गतेसम्म घन्टी पनि अलिक बज्थ्यो तर किन हो कुन्नि घन्टी कम बज्न थालेको छ । सधैँजसो बालेनका पोस्टलाई निशर्त स्वीकार्ने त्यो टेबल पछिल्लो समयमा बालेनका स्ट्याटसका विषयमा पनि विवादित बन्छ । सायद यही हो अलमल । कसलाई विश्वास गर्ने र कसलाई अघि बढाउने भन्ने अन्योल छ । त्यसैले होला डिल्ली सरको प्रश्नको उत्तर पनि अधुरै रह्यो ।
अहिले सबैको जिव्रोमा झुन्डिएको एउटा थेगो के हो भने त्रिपक्षीय खेलको मैदान हो, नेपाल । जसले बाजी मार्ला उतै जाला तर खासमा नेपाल कहीँ जाँदैन । किनकि यहाँ धेरै स्वाभिमानी नेपाली छन् । सम्भिएँ ‘मेरा साना दुःखले आज्र्याको मुलुक होइन, सबैलाई चेतना भया’ राष्ट्रिय एकताका प्रतीक पृथ्वीनारायण शाहको यही उखान स्मरण गराएर मैले डिल्ली सरलाई भनेँ, ‘सर नेपाल कतै जाने छैन ।’