अमरराज आचार्य
दाङ, २५ असोज । दाङमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड तुलसीपुरले यो वर्ष २० हजार क्विन्टल धान खरिद गर्ने भएको छ । जिल्लाका गढवा र राप्ती गाउँपालिकाबाट खाद्यले धान गरिद गर्न लागेको हो ।
धान खरिद गर्नका लागि गढवा र राप्ती गाउँपालिकासँग लिखित सम्झौता केही दिनमै हुने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड तुलसीपुरका सूचना अधिकारी शक्तिराम डाँगीले बताए । उनका अनुसार यस वर्ष केन्द्रबाट दुई पालिकाबाट धान खरिद गर्ने भन्ने मौखिक जानकारी आएको हो । केन्द्रको निर्देशन अनुसार नै दाङका गढवा र राप्ती गाउँपालिकाबाट लिखित सम्झौता गरेर धान खरिद गरिने उनले बताए ।
‘हामी तिहार लगत्तै गढवा र राप्ती गाउपालिकाबाट धान खरिद गर्न सुरु गर्छौँ’, सूचना अधिकारी डाँगीले भने, ‘ती दुई पालिकाले धेरै धान खरिद गरिदिन भन्नुभएको छ तर हामीले केन्द्रको निर्देशन अनुसार नै धान खरिद गर्छौँ ।’ केन्द्रबाट थप धान खरिद गर्न निर्देशन भए सोही परिमाणमा खरिद गरिने उनले बताए ।
सरकारले तोकेको मूल्यमा धान खरिद गरिने र कृषकले पाउनुपर्ने रकम किसानकै खातामा जम्मा गरिदिने सूचना अधिकारी डाँगीले बताए । गत वर्षसम्म कृषकले पाउनुपर्ने भुक्तानीको रकम चेकमार्फत् पाउने गरेकोमा यस वर्षदेखि सोझै कृषकको खातामा रकम जम्मा गरिने उनले बताए ।
जिल्लाका गढवा र राप्ती गाउँपालिका बाहेक अन्य पालिकाबाट धान खरिद गर्ने वा नगर्ने भन्ने जानकारी केन्द्रबाट नआएको कार्यालयले जनाएको छ । खाद्यले धान खरिद नगरिदिँदा कृषकले व्यापारीलाइ बिक्री गर्न बाध्य छन् । स्थानीय व्यापारीले धान खरिद गर्दा सरकारले तोकेको मूल्यभन्दा कम मूल्यमा धान खरिद गर्ने गरेको कृषक बताउँछन् । खाद्यले खरिद गरिदिए धानले मूल्य पाउनुका साथै आफूहरूलाई बिक्री गर्न सहज हुने कृषक बताउँछन् । यो सिजन धान भित्राउने भएकाले कृषक अहिले धान भित्राउनमा व्यस्त छन् ।
सरकारले आर्थिक वर्ष २०८२÷०८३ का लागि धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मोटा धानको प्रतिक्विन्टल मूल्य तीन हजार चार सय ६३ रुपैयाँ ८१ पैसा र मध्यम धानको मूल्य तीन हजार छ सय २८ रुपैयाँ ३३ पैसा तोकेको छ । मन्त्रिपरिषद्को साउन २६ गते बसेको बैठकले धानको मूल्य थोकेको हो ।
दाङमा रहेको ७४ हजार तीन सय ३६ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिनमध्ये धान खेती हुने क्षेत्रफल ३७ हजार दुई सय २५ हेक्टर रहेको कृष ज्ञान केन्द्रले बताएको छ । कृषि ज्ञान केन्द्रका अनुसार सबैभन्दा धेरै घोराही उपमहानगरपालिकामा आठ हजार ९७ हेक्टर क्षेत्रफल जमिनमा धान रोपाइँ हुने गरेको छ ।
यसैगरी तुलसीपुर उपमहानगरपालिकामा छ हजार सात सय ९५ हेक्टर, बबई गाउँपालिकामा दुई हजार एक सय ५० हेक्टर, बंगलाचुली गाउँपालिकामा एक हजार एक सय ४३ हेक्टर, दंगीशरण गाउँपालिकामा तीन हजार चार सय १२ हेक्टर क्षेत्रफल जमिनमा धान खेती हुने गरेको छ ।
यसैगरी गढवा गाउँपालिकामा तीन हजार दुई सय ८० हेक्टर, लमही नगरपालिकामा तीन हजार दुई सय ५० हेक्टर, राजपुर गाउँपालिकामा तीन हजार एक सय तीन हेक्टर, राप्ती गाउँपालिकामा तीन हजार दुई सय ४५ हेक्टर र शान्तिनगर गाउँपालिकामा दुई हजार सात सय ५० हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ ।
हरेक वर्ष जस्तै यो वर्ष पनि दाङमा भारत तथा चीनबाट आयातीत हाइब्रिड धानको बिउ नै बढी मात्रामा रोपिएको कृषि ज्ञान केन्द्रले बताएको छ । कृषि ज्ञान केन्द्रका अनुसार गत वर्षको तुलनामा हाइब्रिड धान खेती गर्ने घटेका छन् भने उन्नत र स्थानीय जातका धान खेती गर्ने कृषक बढेका छन् । यस वर्ष हाइब्रिड धान खेती गर्ने किसान ७० प्रतिशत, उन्नत जातको धान खेती गर्ने किसान २० प्रतिशत र स्थानीय जातको धान खेती गर्ने किसान १० प्रतिशत रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।गत वर्ष ८० प्रतिशतले हाइब्रिड बिउ, १० प्रतिशतले उन्नत र १० प्रतिशतले स्थानीय लोकल धान खेती गरेका थिए । केन्द्रका अनुसार यस वर्ष सबैभन्दा धेरै युएस–३१२, एमपी–३०३०, एचजेजी–१०, जेके–५०१७, एआरआई–६४४४, उपज, राजा, क्याम्पियन जातको हाइब्रिड धानको बिउ खपत भएको पाइएको छ ।
यसैगरी उन्नत जातको धाको बिउतर्फ हर्दिनाथ–६, सावाँ मन्सुली, रामधान, राधा–४, सुख्खा–१, २, ३, ४, गंगोत्री, सावित्रीलगायतका धानको बिउ रोपिएको छ । यसैगरी दाङको स्थानीय रैथाने धानको रूपमा परिचित तिल्की र सिम्ठारो धानको खेती पनि गरिएको छ । गत वर्ष जिल्लामा झन्डै पाँच सय मेट्रिकटन धानको हाइब्रिड बिउ तथा आठ सय मेट्रिक टन उन्नत तथा स्थानीय बिउ खपत भएको थियो ।
उत्पादन बढाउन कृषकले हाइब्रिड बिउको प्रयोग गर्ने गरेको कृषि ज्ञान केन्द्रले बताएको छ । थोरै क्षेत्रमा पनि धेरै उत्पादन हुने भएकाले कृषकले हाइब्रिड बिउ प्रयोग गर्ने गरेको केन्द्रले जानकारी दिएको छ । स्थानीय तथा उन्नत जातको बिउका लागि सरकारले प्रोत्साहन गरे पनि त्यसप्रति कृषकको आकर्षण उल्लेख्य नभएको केन्द्रले बताएको छ ।