दाङ, ३ असोज । नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीले संविधान लोकतान्त्रिक आन्दोलनको ठुलो उपलब्धि भएको बताएका छन्। संविधान दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै सभापति डाँगीले संविधान लोकतान्त्रिक आन्दोलनको ठुलो उपलब्धि भएको बताएका हुन् ।
उनले मुलुकमा लोकतन्त्रको स्थापना र पुनःस्थापनाका लागि ऐतिहासिक आन्दोलन, बलिदान र सहिदहरूको योगदानलाई स्मरण गर्दै संविधान दिवसले सबै नेपालीलाई लोकतन्त्रप्रति अझै जिम्मेवार र प्रतिबद्ध बनाउन प्रेरणा दिने उल्लेख गरेका छन्। सन्देशमा उनले नेपालको संविधानलाई लोकतान्त्रिक आन्दोलनको ठुलो उपलब्धि भन्दै यसले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई संस्थागत गरेको बताएका छन्।
जिल्ला सभापति डाँगीले मानव अधिकार, सामाजिक न्याय र समानताको प्रत्याभूति संविधानले दिलाएको भन्दै यसको कार्यान्वयनमा सबै एकजुट हुनुपर्नेमा जोड दिएका छन्।
“संविधानको संरक्षण, समृद्ध लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको स्थायित्व र देशको विकास हाम्रो साझा दायित्व हो,” विज्ञप्तिमा उल्लेख छ। उनले विभाजन होइन सहमति, सहकार्य र साझा प्रयासबाट मात्र संविधानको प्रभावकारी कार्यान्वयन सम्भव हुने धारणा राखेका छन्।

सभापति डाँगीले अन्याय, असमानता, विभेद र भेदभावविरुद्ध संविधानले दिएको अधिकार प्रयोग गरी समावेशी समाज निर्माणमा सबै नागरिक लाग्नुपर्नेमा जोड दिएका छन्। संविधान दिवसका अवसरमा उनले लोकतन्त्र र राष्ट्रिय एकताको मुल्यलाई आत्मसात गर्दै राष्ट्रिय समृद्धि र सामाजिक न्यायको यात्रामा एकताबद्ध भएर अघि बढ्न सबैलाई आह्वान गरेका छन्।