तुलसीपुरमा सर्वदलीय बैठक, पुनःनिर्माणमा जुट्न जोड

गोरक्ष समाचारदाता
तुलसीपुर, १ असोज । जेन–जीको आन्दोलनको क्रममा तुलसीपुरमा सरकारी तथा निजी सम्पत्तिमा क्षति पुगेकाले तत्काल पुनःनिर्माणमा सबै जुट्नुपर्ने बताएका छन् ।
तुलसीपुर उपहानगरपालिकामा मङ्गलवार भएको सर्बदलिय तथा सर्वपक्षीय बैठकमा सरोकारवालाले क्षति पुगेका संरचनाको निर्माण र सेवाप्रवाहलाई उचित व्यवस्थापन गरी निरन्तरता दिनुपर्ने बताएका छन् ।

तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख टीकाराम खड्काले भौतिक संरचनामा ठुलो क्षति पुगे पनि पाल टाँगेर भए पनि सेवा प्रवाह सुरु गरिएको बताउँदै अन्य कार्यालयले पनि यथासक्य छिटो सेवा प्रवाहमा लाग्नुपर्ने बताए । नगर प्रमुख खड्काले जेन–जीको आन्दोलनमा तुलसीपुर उपमहानगरपालिकाका दुई वटै भवनमा क्षति पुगेको बताए ।

नगर प्रमुख खड्काले उपमहानगरपालिकाको नयाँ व्यापारिक भवनलाई मर्मत गरेर सेवा प्रवाह गर्न सकिने बताएका थिए । नगर प्रमुख खड्काले आन्दोलनका क्रममा लगेका सामान फिर्ता गर्न आग्रह गरेका छन् । इलाका प्रशासन कार्यालय तुलसीपुरका प्रमुख महेश गुरुङले आगलागीबाट सबै सामान जलेको हुँदा तत्काल सेवा प्रवाह गर्न नसकिएको बताए ।

तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिनिल केसीले जेन–जीको आन्दोलनको क्रममा निजी व्यवसायमाथि पनि आक्रमण तथा क्षति पुगेको बताए । नेपाली कांग्रेसका नेता सुरेश हमालले आन्दोलनमा सरकारी तथा निजी सम्पत्तिमाथि आक्रमण हुनु दुःखद् भएको बताउँदै अब पुनःनिर्माणमा जुट्नुपर्ने बताए । उनले नेताले गल्ती कमजोरी, भ्रष्टाचार गरेको भए कानूनी उपचार खोज्नुको साटो घर जलाउँदै हिड्नु दुःखद् पक्ष रहेको बताए ।

नेकपा माओवादी केन्द्र तुलसीपुरका अध्यक्ष मोहन थापाले देशको सम्पत्तिमाथि क्षति पुग्नुले हामी नै पछि धकेलिनु रहेको बताए । उनले वास्तविक जेन–जीको आन्दोलनमा घुसपैठ भएको र अब निर्माणमा सबै जुट्नुपर्ने बताए । नेकपा एमालेका मानबहादुर केसी आउने दिनमा घटना दोहोरिन नदिने गरी काम गर्नुपर्ने बताएका छन् ।
घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरका अध्यक्ष लालबहादुर केसीले आन्दोलनबाट अनपेक्षित नतिजा बेहोर्नुपर्ने स्थिति सिर्जना भएको बताए । उनले गलत कार्यमा महासंघमा आबद्ध कोही पनि सदस्य संलग्न भएको देखिएमा संस्थागत हिसाबले कारबाही गर्नुपर्ने बताए ।

राष्ट्रिय सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपालका अध्यक्ष खेमराज वलीले जेन–जीको आन्दोलनको क्रममा खानेपानी संस्थामा समेत क्षति पुगेको बताए । बैठकमा अधिवक्ता मोहन धिताल, मधुसूदन गौतमलगायतले सुझावसहितको मन्तव्य व्यक्त गरेका थिए ।