संविधान दिवसमा कांग्रेसको विशेष छलफल

गोरक्ष समाचारदाता
दाङ, १ असोज । नेपाली कांग्रेस दाङले यसपटक संविधान दिवसलाई विशेष रूपमा मनाउँदै छ । कांग्रेसले पछिल्लो जेन–जी समूहको आन्दोलन पछिको परिवेशमाथि छलफल गर्दै संविधानप्रति सबैको अपनत्व बढाउन ध्यानाकर्षण गराउने गरी यो दिवस मानउने तयारी गरेको हो ।

‘नयाँ सरकार बनी संसद् विघटन भए तापनि संविधानको रक्षाप्रति सबैको ध्यान खिच्न असोज ३ गतेलाई विशेष रूपमा मनाउने निर्णय भएको छ’,नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीले भने ।
कांग्रेसले पालिका स्तरमा त्यस प्रकारको छलफल गर्नेछ । मङ्गलवार पार्टीको घोराहीस्थित पार्टी कार्यालयमा भएको बिस्तारित बैठकले असोज २ गते २८ औँ गणेशमान स्मृति दिवस मनाउने निर्णय पनि गरेको नेपाली कांग्रेसका जिल्ला सचिव अर्जुन योगीले जानकारी दिए ।

बैठकमा अन्य समसायिक विषयमा छलफलसँगै सहभागीले धाराणा राखेका थिए । बैठकमा जिल्ला कार्यसमितिका पदाधिकारी, सदस्य, पूर्वसभापति, महासमिति, महाधिवेशन प्रतिनिधिहरू, नेपाली कांगे्रस क्षेत्र, प्रदेशका सभापतिहरू, पूर्व जिल्ला पदाधिकारीलगायतको सहभागिता रहेको थियो ।