नाम उनको तुली वली हो, उमेर ५५ वर्ष । कोटबारा बागचौर–४ सल्यानमा स्थायी ठेगाना भएकी तुलीको कलिलै उमेरमा बिहे भयो । अर्थात् अचेलको भाषामा बालविवाह । शारीरिक एवम् मानसिक रूपमा परिपक्क नभई बिहे गरेकै कारण हुनसक्छ उनले बिहे गरेको करिब १०÷१५ वर्षसम्म बच्चा जन्मिएनन् । बच्चा नजन्मिएपछि श्रीमान्ले अर्को श्रीमती बिहे गरे । यसमा उनको कुनै प्रतिवाद भएन ।
आफ्नो कर्मको दोष मान्दै सौता र श्रीमान्लाई छोराछोरीलाई जस्तै स्याहार सुसार र सहयोग गर्दै बित्न थाल्या,े उनको दैनिकी । बच्चा नहुँदा समाजले लगाएको विभिन्न आक्षेप सहनुलाई उनले आफ्नो भाग्यको खेल सम्झिइन् । सहेर सौतासँग मिठो व्यवहार गर्दै दिन व्यतित हुन थाले । सौताबाट छोराको जन्म भयो । जन्म नदिए तापनि खुब पालन पोषण गरेर तुलीले सौताको छोरा हुर्काइन् । छोरा सानो हुँदा नै सौताले अन्यन्त्र ठाँउमा बिहे गरेर गइन् ।
परिवारमा ठुलो दुर्घटना भयो । बल्ल–बल्ल जन्मेको एउटा बच्चा त्यही माथि आमाको विछोड । परिवारको आयस्रोत केही थिएन र अझै छैन पनि छैन । छोरोलाई राम्रोसँग खान लगाउन पढाउन भनेर बुबा भारततिर ज्याला मजदुरी गर्न हिडे । यता तुली पनि शारीरिक रूपमा अवस्था कमजोर हुँदै गयो । विस्तारै कान सुन्न पनि छोडिन् साथ साथै आँखाको ज्योति पनि कम हुँदै गयो । यी सबै अवस्था देखेर छोराले बिहे गरेपछि आमालाई सहज हुन्छ भन्ने हेतुले बिहे गरे । दुई नातिको जन्म पनि भयो । छोरा विदेशी भूमि पसे । गरिबीले खुसी लुटेर लगेपछि परिवारको साथमा बस्न कहाँ पाइन्छ र । आमाको उपचार गर्न झन ठुलो रहर थियो छोरालाई तर आर्थिक रूपमा कमजोर थियो परिवार ।
तर त्यो गरिब परिवारमा भगवान्ले पनि साथ छुटाए । यही अवस्थामा तुलीको छोराको मृत्यु भयो, परिवारमा ठुलो बज्रपात प¥यो । खुब रहर थियो तुलीलाई नातिको स्याहार गर्न तर आँखा देख्न छोडिसकेकी थिइन् । एकै थलोमा बस्नु पर्ने बाध्यता भयो । शौचालय जाँदा, खानपान गर्दा नुहाउँदा सबै काम बुहारीले गर्नु पर्ने भयो । साना छोराहरूको रेखदेख गर्ने कि आँखा नदेख्ने आमाको । कठिन परिवेशमा पनि बुहारी गंगाले धेरै धैर्य गरेर जसले जे उपचार भन्छ त्यही गर्दै गइन् । सानो बच्चा, आँखा नदेख्ने आमा, बुबा भारत कमाउन । बुहारी अर्धचेत भइन् । छिमेकिको सहारामा कठिन दिनचर्या व्यतित हुन थाल्यो ।
कुल बिग्रिएको, बोक्सी, भूत प्रेतकै कारणले आँखा बन्द भयो भन्ने रुढीवादी समाजले धामी झाँक्री नै गर्नुपर्छ भन्ने सल्लाह दिए अनुसार धेरै पैसा धामी झाँक्रीमा खर्च गरे । विभिन्न मठ मन्दिरमा पूजा गरे। बलि चढाए तर आँखामा रतिभर सुधार देखिएन । अन्तिमा गाउँघरकै केही शिक्षित परिवारले ‘दाङको तुलसीपुरमा आँखा अस्पताल छ त्यहाँ एकपटक जानुस्’ भनेर सल्लाह दिएपछि बुहारी गंगाले तुलीलाई अस्पताल लिएर आइन् ।
तुलीको आँखा चेकजाँच गर्दै नेत्रसहायक रोहित कडायतले दुवै आँखामा मोतिविन्दु भएको जानकारी दिए । शल्यक्रिया गरेपश्चात दृष्टि फर्किन्छ भन्ने आश्वासन पाएपछि बुहारी मन्जुर त भइन् तर सामान्य चेकजाँच बाहेक अन्य उपचार गर्ने खर्च थिएन । अस्पतालको सहयोगबाट निःशुल्क शल्यक्रिया गर्ने निर्णय भयो ।
एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम कर्णाली प्रदेशको सहयोगमा तुलीको दुवै आँखा डा. सपना बुर्लाकोटीको टिमले शल्यक्रिया ग¥यो । आँखामा बाँधिएको पट्टी खोलेपछि सबैभन्दा पहिला बुहारीलाई खोजिन् । मान्छेको भिडमा आफ्नो बुहारी चिनेपछि बुहारी पनि हर्षविभोर भइन् । आहा…! बुहारी चिन्ने वित्तिकै उनी गदगद भएर नाँच्न थालिन् ।
यही हो तुलीको शब्दमा व्यक्त गर्न नसकिने खुसी । भन्नुस् त कस्तो महसुस भइरहेको छ ? प्रस्तोताको जिज्ञासामा तुलीले भनिन्, ‘यसलाई शब्दमा व्यक्त गर्न सायद सक्दिन्, भाव हेरेर बुझिदिनु होला । अर्थात मेरो खुसी ती डाक्टरहरूको टिम, जसले मेरो हराएका सन्ततीहरूलाई दृष्टि दिएर भेटाइदिए । राप्ती आँखा अस्पताल मेरो खुसी, जसको पहलले मैले निःशुल्क रूपमा गुमेको ज्योति पाएँ ।’
शल्यकिया पछि जब दुवै आँखाको पट्टी खोलियो । कान पनि नसुन्ने तुली अस्पतालमा फनफनी घुमेर नाच्न थालिन्, संसार देखे भन्दै । ओठमा मुस्कान आइरहेको थियो । हात जोडेर धन्यवाद मात्र दिन थालिन् । बोक्सिी लागेर आँखा बन्द भयो भनेर मलाई सबले भने तर हैन रहेछ । अब म पनि गाउँघरमा आँखा नदेख्नेलाई अस्पताल जान भन्छु भन्दै हाँस्दै हिड्न लागिन् तुली । अस्पताल आउँदा बुहारीको हात समाउँदै आएकी तुली शल्यक्रिया पश्चात आफै ठमठम हिड्न थालिन् अनि बुहारीलाई डो¥याउँदै गन्तव्यतर्फ ।
उनको यो अवस्था देखेर अस्पतालमा आएका अरू बिरामी पनि धेरै खुसी देखिन्थे । समाजमा अझै पनि दुर्गम बस्तीहरूमा बोक्सी जस्ता अन्धविश्वास व्याप्त छन् । जुन कानुनी रूपमा जघन्य अपराध हो । सामाजिक रूपमा लान्छनीय घटना हो ।
यस्तै अन्धविश्वासका कारण धेरैको ज्योति समेत गुमेको छ । धेरैले झारफुकै भरमा बसिरहँदा रोग बल्झेर मृत्युवरण गर्ने सम्मको अवस्था छ । सबैजनाको सहयोगबाट उनी अहिले गाँउघर मेलापात सबै गर्छिन् । बुहारीलाई सघाउँछिन् भन्छिन्–डाक्टर त अस्पतालमा भेटिँदा रहेछन् । अनि भनिन् तुलना गर्नै नसकिने खुसी मेरो ।
तुलीको खुसीमा अस्पताल परिवार पनि असाध्यै खुसी छ । ज्योति फर्काउनु भनेको अर्धमृत मान्छेको पुनर्जीवन दिनु सरह हो । सायद उपचार लगत्तै बिरामीबाट आशिर्वाद पाउने चिकित्सक आँखाकै हुन्, जसले ज्योति गुमाएकालाई अकस्मात ज्योति फर्काइदिन्छन् ।
प्रस्तुति : निरला अर्याल