नारायणप्रसाद श्रेष्ठ
समय सधै एकनाशको हँुदैन । कहिले घाम कहिले छाया यो प्राकृतिक सत्य हो । हिउँद पछि बर्षा र बर्षा पछि हिउँद यो सधै यसै किसिमले गतिशिल भइरहेको हुन्छ । दिन पछि रात र रात पछि दिन, सृष्टिको सुरुवातदेखि यही सत्य हाम्रो सामु छ ।
यसरी यही सत्यको तराजुमा तौलेर घाम पानी सहदै मानव जीवन गतिशिल हुँदै आएको छ । सृष्टिको संरचना हेर्दा मानिस बुद्धिजिवी प्राणीमा पर्दछ । उ सँग ज्ञान छ, विवेक छ । त्याग र समर्पण गर्न जानेको छ । सेवा र सद्भाव कायम गर्न जानेको छ । यति हुँदा हुँदै पनि क्षणिक लोभ र प्रपंचमा परी उसभित्र अहंकार र स्वार्थ प्रचुर मात्रामा भएको पाइन्छ ।
मानिस स्वभावैले बुद्धिजीवी प्राणी हो । उसँग ज्ञान विज्ञानले परिपोषित सिर्जनाका अथाह सागर छ । प्रकृतिले उसलाई दिन खोजेको गुणात्मक खजानाको उसले भरपुर फाइदा उठाउन जानेको छ । कर्म र व्यवहारमा एकरुपता ल्याई, जीवन र जगतलाई आदर्श उन्मुख गराउन, उ सक्षम पनि छ ।
अन्तर निहित ज्ञानको भण्डारलाई लोकको हित खातिर कर्म र व्यवहार गर्न पनि ऊ सक्षम छ । लाभहानीमा होइन, आत्मसन्तुष्टि र निस्वार्थ सेवामा, ऊ सधैँ तल्लिन हुन पनि जानेको छ । चिन्ता, भय, इष्र्या, घमण्ड कसैमा नआओस्, सबै सुखी र खुसी बनुन्, यो पनि उसको चाहना हो ।
यसरी आदरणीय र पूजनीय भएर बाँच्ने मानिसको विवेकशीलता अहिले आएर स्वार्थको कारण छरपष्ट भई नीतिहिन, चरित्रहिन भएर देखा परेको पाइन्छ । आचरण हिन व्यवहारमा ऊ लुटपुटिन बाध्य भएको छ । क्षणिक लोभ र प्रपंचको कारण ऊ आफै पतित हुन पुगेको पनि देखिन्छ । जसको परिणाम वर्तमानको अवस्थाले पुष्टि गर्दै गएको देखिन्छ ।
जीवन र मरणको इतिहासलाई साक्षी राख्दै हाम्रा पुर्खाले आफ्नो क्षमता प्रदर्शन गरी संस्कार र परम्परा बसालेका थिए । विश्वास र भरोसा हाम्रो पूर्खाको आदर्श थियो । कर्ममा विविधता देखिए पनि विचार र आचरणमा सकारात्मक सोच र चिन्तन थियो । बाँच र बचाउको सिद्धान्तमा हुर्केको हाम्रो पुर्खाको इतिहासलाई हेर्ने हो भने उनीहरु निस्वार्थमा आधारित भई नैतिक र चरित्रवान भएर प्रस्तुत भएको पाइन्छ ।
यसरी पुर्खाले संरक्षण गर्दै आएको हाम्रो ऐतिहासिक आदर्श, कलिको प्रभावले होला मानिसको मन बुद्धि र विवेकमा स्वार्थ भावले डेरा जमाइरहेको पाइन्छ । हुने खाने र हुँदा खानेबिच द्वन्द्व बढाई, तँ ठूलो, म सानो जस्ता भेदभावपूर्ण भावलाई प्रशय दिएको पनि पाइन्छ । आफूभित्रको मौलिक पहिचान र वीरतालाई बिर्सी तथा पूर्खाको ऐतिहासिक बलिदानलाई बिर्सी, अहिले मानिस–मानिसबिच स्वार्थ र अहंकारले एकअर्का बिचको सम्बन्धमा चिसोपन देखा परेको छ ।
तेरो र मेरो भाव जागृत भई सँगै जिउने, सँगै कर्म गर्ने, र सँगसँगै मोक्ष प्राप्त गर्ने, भावना निकै कमजोर भएको छ । लोभले लाभ, लाभले बिलाप भन्ने कुरा जान्दा जान्दै अहिले मानिसको भावना एकले अर्कालाई पछार्ने, दबाउने, प्रवृत्तिले जरा गाडेको पनि देखिन्छ । ठूलो रुखको छाहारीमा बसे एक झर पानी ओत्छ भन्ने जस्ता उखान निकाली मानिस आफ्नो विवेकलाई बन्धक बनाएर चाकडि र चाप्लुसीमा आफूलाई समर्पित गरेको पनि छ ।
जसको कारणले गर्दा निस्कलकित रुपमा रहेको बुद्धिजीवी वर्गहरुबिच पनि आपसी बैमनस्यता पैदा गरेको छ । स्वार्थपरक चिन्तनलाई निर्मूल गर्ने अठोट जागृत हुन सकेको छैन । वर्तमानले विगत र भविष्यलाई नयाँ भविष्यसँग कसरी सम्बन्ध राख्छ, निर्माण कसरी हुन्छ भन्नेको पर्दा उघारेको छ । गुम्सिएको भावना कसरी विस्फोट हुँदोरहेछ भन्ने संकेत देखाउँदै विद्रोहको अवस्था सिर्जना भएको देखिन्छ । यो त्यसै देखा परेको होइन ।
जनमानसमा भएको शोषण उत्पीडन र स्वार्थको कारणले थिचिएको विचार उब्जिएका हुन् । भ्रस्ट र नीतिहिन विचार, प्रेममा स्वार्थ, विचारमा स्वार्थ, कर्ममा स्वार्थ र म ठूलो भन्ने अहंकारयुक्त विचारको कारण अहिलेको वर्तमानको परिणाम हो । अहिले हामी सबैले यसको परिणाम भोग्नु पर्ने अवस्था सिर्जना भयको हो । समाज अहिले यही विचारले छटपटिएको छ ।
विचारमा आएको परिवर्तनले शोषणरहित आदर्श समाजको सामाजिक क्रान्तिको नयाँ अध्याय थपेको छ । अहिले समाजमा मन बुद्धि र विवेकलाई पुलकित गर्दै स्वार्थरहित आदर्श समाजको सपना देख्ने विषयमा वर्तमानमा मानिसलाई दुई ध्रुवमा विभाजित गर्न पुगेको अवस्था देखिन्छ ।
अहिले एकथरी मानिसहरु स्वार्थले परिपोषित छन् भने अर्कोथरी मानिस निस्वार्थ सेवा र छलकपट रहित विचारले परिपोषित भई सेवाभावमा समर्पित रहेको देखिन्छ । यी दुवै बिचमा भएको द्वन्द्वले जनता पीडित हुनु परेको अवस्था पनि देखिन्छ । विवेकलाई स्वार्थमा परिणत गर्ने झुण्डको कारण मानवीय सोच र चिन्तनमा नकारात्मक भावहरु जागृत भएको देखिन्छ ।
शान्ति र सद्भाव राखी बाँच र बचाउको सिद्धान्तभित्र बाँच्न चाहने सिधा साधा जनमानसमा यो विद्रोहले नयाँ किसिमको चेतना जागृत हुँदै गएको छ । नीति र नैतिकताबिच तथा स्वार्थ र अहंकारबिच बाँझिएको वर्तमानको अवस्थालाई हेर्दा नेतृत्वमा हुनु पर्ने गुण र नैतिकताको अभावको कारण वर्तमानको घटना घटेको प्रष्ट देखिन्छ ।
तसर्थ यस अवस्थामा आफ्ना नीहित स्वार्थ र कर्मभन्दा पर रही अँध्यारो पछी उज्यालो हुन्छ, जनताहरु शान्ति र सद्भावमा बाँच्न र रमाउन चाहन्छन्, भ्रष्ट र चरित्रहिन भएर उनीहरु बाँच्न सक्दैनन् भन्ने सन्देश अहिलेको टड्कारो आवश्यकताले सबैलाई जागृत गरेको देखिन्छ । अहिले बुद्धिजिवी र नयाँ विचार लिएर अघि बढेका तथा केही गर्छौ भनी हुटहुटी बोकेका शक्ति निकै उत्साहित हिसावले जागृत हुँदै आएको छ ।
तसर्थ केही समय पहिले भएको कर्म र व्यवहारले ल्याएको परिणतिको मूल्याङ्कन गरी सबै बुद्धिजीवी वर्गहरु अब जिम्मेवार भएर प्रदर्शन हुनु पर्ने भएको छ । त्याग र समर्पणमा आधारित कर्म गर्न जानेको मानव विवेकलाई स्वार्थमा होइन, निस्वार्थमा रुपान्तरण गर्नुपरेको छ । शान्ति र सद्भाव राखी बाँच्न चाहने मानवीय चेतन शक्तिलाई प्रेम र आदरका साथ गति दिने अठोट गर्नु परेको छ ।
आफूमा अन्तर्निहित ज्ञान चक्षु र दिव्यशक्तिको बोध गरी सबैभन्दा पहिले सर्वेभवन्तु सुखिना सर्वेसन्तु निरामयाको मान्यतालाई सिरोधार्य गर्दै कर्म र व्यवहारमा सकारात्मक भाव जागृत गर्नु परेको छ । स्वार्थलाई निस्वार्थमा परिणत गर्नुपरेको छ । अकबरी सुन सरी मान्यता प्राप्त रहेको जीवनको यथार्थलाई बुझेर नम्र र लगनशील भई विगतमा भएको परिणामलाई यो हाम्रै कर्म र व्यवहारको परिणाम हो भन्ने सोची वर्तमानको अवस्थालाई शान्ति र आमन चैन कायम हुने दिशातर्फ लैजानु परेको छ ।
कसैको चाकडी र चाप्लुसीमा होइन, आम जनसमुदायको सुख शान्ति र समृद्धिको लागि आफ्ना विचारहरु प्रदर्शन गर्नु परेको छ । यो र त्यो बहानामा जनतालाई भुल भुलैयामा पार्ने चिन्तन गर्नु हँुदैन । यस्तो विचार राख्नु भनेको आफूले आफैलाई विसर्जन गर्नु हो । यो सबैले बुझ्न जरुरी छ । कुरा हैन काम, स्वार्थ होइन, निस्वार्थ, अहिलेको आवश्यकता हो ।
अहिले त्यता पट्टी सबैको मन र चिन्तन जागृत भएको पनि देखिन्छ । एउटा औंलाले कसैलाई देखेस् र पखेस भन्यो भने तीनवटा औलाले आफैलाई देखेस भनेको सत्य कदापि भुल्नु हुँदैन । क्षनिक लोभ र प्रपंचमा पारी यदि कोही कसैले कसैमाथि दुव्र्यवहार गरेको छ र गर्न खोजेको छ भने पनि अहिले जनमानसमा देखिएको चेतनाको लहरले त्यस्तो तत्वहरु स्वत विलय गराउने क्षमता अहिले प्रदर्शन हुने अवस्था छ ।
क्षणिक लोभमा आफूलाई बर्बाद गर्नु भनेको आफूले आफैंलाई पतन गराउनु हो । तसर्थ कोही कसैप्रति पनि उच, निजको भावना जागृत नगरी हामी सबै समान छौँ, सृष्टि चक्रको इतिहासमा हामी सबै मिलेर, हामीले आफ्नो जीवनलाई सहज बनाउँदै आएका छौँ र भविष्यमा पनि यसरी नै जीवनलाई स्वार्थ र अहंकारमा होइन निस्वार्थ सेवा, एवम् त्याग र समर्पणमा आफूलाई समाहित गर्दै जानुपर्छ भन्ने विचार र भावना जागृत गरी वर्तमानमा देखा परेको स्वार्थ र अहंकारलाई परित्याग गर्नुपरेको छ वर्तमान यही खोजिरहेछ ।