लागुऔषध नियन्त्रणमा सबैको सहकार्य आवश्यक

गोरक्ष समाचारदाता
दाङ, १६ भदौ । दाङका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जिल्लामा बढ्दो लागुऔषधको प्रयोग तथा बिक्री–वितरण रोक्न सबै पक्षको सहकार्य आवश्यक रहेको बताएका छन् ।

भर्खरै दाङमा सरुवा भएर आएका प्रजिअ अर्यालले आइतवार सञ्चारकर्मीसँगको परिचयात्मक कार्यक्रममा बोल्दै बढ्दो लागुऔषध दुव्र्यसनी रोकथाम, शान्ति–सुरक्षा मजबुत बनाउनु अपराधिक क्रियाकलापलाई नियन्त्रण गर्नु आफ्नो पहिलो प्राथमिकता हुने बताए ।

उनले भने,‘लागुऔषध सेवन र ओसारपसारका घटना बढ्दै गएका छन्, यसलाई नियन्त्रण गर्न सबै निकाय र समुदायसँग मिलेर काम गर्नुपर्छ ।’ उनका अनुसार भौगोलिक विकटता हुँदा हुँदै पनि जिल्लामा ठूला सुरक्षा चुनौती नरहेको भए पनि सामाजिक अपराध, लागुऔषधको कारोबार र अन्य विकृति–विसंगति समाधानका लागि ठोस कदम चाल्नु पर्ने अवस्था रहेको बताए ।

प्रजिअ अर्यालले विकास निर्माणका काम समयमै सम्पन्न गराउन, अभिलेख व्यवस्थापन सुधार गर्न र सहज सूचना प्रवाहलाई सुनिश्चित गर्न प्रशासन सक्रिय रहने बताए । प्रजिअ अर्यालले जिल्लाको समग्र हितलाई लक्षित गरेर आफ्नो कार्यकाल अघि बढाउने प्रतिबद्धता पनि जनाए । त्यसैगरी उनले नदीजन्य पदार्थको चोरी नियन्त्रणका लागि ध्यान दिने बताएका थिए ।

कार्यक्रममा सहभागि पत्रकारले सहज रूपमा सूचना प्राप्त गर्ने वातावरण निर्माणसँगै जिल्लाका सरकारी कार्यालयले प्रकाशन गर्ने सूचना जिल्लाकै सञ्चार माध्यममार्फत्ु प्रवाह गर्ने व्यवस्था मिलाउनु पर्ने, चाडपर्वलाई ध्यानमा राख्दै बजार अनुगमनलाई थप प्रभावकारी बनाउनु पर्ने सुझाव दिएका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासन, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष सुदीप गौतमलगायतले सुझाव दिएका थिए । कार्यक्रमको सहजीकरण सहायक प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढाले गरेका थिए ।