घोराही, १५ भदौ । राप्ती गाउँपालिकाले पालिकाका सबै सूचना तथा जानकारी मोबाइल फोनमार्फत नागरिकसम्म पु¥याउन सुरु गरेको छ ।
गाउँपालिकाले प्रविधिको उपयोग गर्दै सूचना तथा जानकारीलाई छिटो र प्रभावकारी ढंगले सम्प्रेषण गर्नका लागि ‘नागरिक सूचना प्रणाली’ कार्यान्वयनमा ल्याएको छ । नागरिक सूचना प्रणालीअन्तर्गत पहिलो चरणमा करिब दश हजार नागरिकका मोबाइल नम्बर संकलन गरी फोनमार्फत सूचना प्रवाह गर्न थालिएको सूचना प्रविधि शाखा प्रमुख बालचन्द्र गुरुङले जानकारी दिएका छन् ।
शाखा प्रमुख गुरुङका अनुसार बाँकी अन्य नागरिकको मोबाइल नम्बर संकलन गर्ने काम क्रमश भइरहेका छ । उनका अनुसार यसका लागि नेपाल टेलिकमको १० र एनसिएलका १० गरि २० वटा नम्बर प्रयोग गरी एउटै समयमा धेरै जनाको मोबाइलमा फोन पुग्ने व्यवस्था गरिएको छ । फोन गएको बेलामा नागरिकले उठाउनासाथ पालिकाको सूचना सुन्न सक्ने छन् ।
कुनै कारण फोन नउठाएमा केही समयपछि पुनः स्वचालित रूपमा सोही नम्बरमा कल जाने व्यवस्था गरिएको बताए । उनका अनुसार एउटै व्यक्तिको नम्बरमा अधिकतम दुई पटकसम्म फोन आउने व्यवस्था गरिएको छ । गाउँपालिका अध्यक्ष प्रकाश बिष्टले यस प्रणालीले पालिकाका सूचना र निर्णयहरू सबै नागरिकसम्म समयमा पु¥याउन सहयोग गर्ने बताए । प्रविधिको सदुपयोगमार्फत पारदर्शीता, उत्तरदायित्व र सेवामा सहजता ल्याउने भन्दै अध्यक्ष विष्टले भने,‘पालिकाले केही कार्यक्रम गर्दा होस वा नागरिकका लागि आवश्यक सूचना दिदा घरघर गएर भन्न सक्ने अवस्था छैन ।
फोन गरेर पनि साध्य छैन । त्यही भएर एकैपटक सवै नागरिकलाई सूचना पुग्ने व्यवस्था गर्दैछौ ।’ पहिलो चरणमा दश हजारलाई गरिएको भन्दै बाँकी अन्य नागरिकसम्म सूचनालाई मोवाइलमार्फत पु¥याउने काम भइरहेको छ । उनका अनुसार यो प्रणालीबाट पालिकाका निर्णय, सेवा, कार्यक्रम र विभिन्न आवश्यक जानकारी नागरिकलाई सहज र समयमै उपलब्ध हुने विश्वास लिएको छ । २०७८ सालको जनगणना अनुसार राप्ती गाउँपालिकामा ५२ हजार एक सय २३ जनसंख्या रहेको छ ।