गोरक्ष समाचारदाता
दाङ, १५ भदौ । रेडिमेट तथा फेन्सी व्यवसायी समिति घोराहीको नवौँ साधारणसभा शनिवार घोराहीमा सम्पन्न भएको छ । समितिका अध्यक्ष निरञ्जन श्रेष्ठको अध्यक्षता एवम् दाङ जिल्ला उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष टंकसिंह बुढाथोकीको प्रमुख आतिथ्यता तथा दाङ जिल्ला उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष नरेशकुमार श्रेष्ठको विशिष्ट आतिथ्यतामा साधारणसभा भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुढाथोकीले व्यवसायीले पछिल्लो समयमा विभिन्न समस्या भmेल्नुपर्ने बाध्यता रहेकाले ती समस्या समाधानका लागि सम्पूर्ण व्यवसायी एकीकृत हुन आवश्यक रहेको बताए । आर्थिक सुधारका लागि सरकारले व्यवसायीलाइ प्रोत्साहन गर्नुपर्ने उनको भनाइ थियो ।
उनले वस्तुगत समितिहरू बलियो भए दाङ जिल्ला उद्योग वाणिज्य संघ बलियो हुने भन्दै रेडिमेट तथा फेन्सी व्यवसायी समितिले सामाजिक कार्यदेखि व्यावसायिक क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गरेकोप्रति प्रशंसा गरे । विशिष्ट अतिथि श्रेष्ठले रेडिमेट तथा फेन्सी व्यवसायी समिति क्रियाशील भएर लागेकोमा धन्यवाद दिँदै व्यावसायिक हक, हितका लागि एकजुट भएर लाग्नुपर्ने बताए ।
उनले वस्तुगत समितिहरूले सामाजिक क्षेत्रमा गरेको काम र व्यावसायिक क्षमता अभिवृद्धिको अभियानलाई थप क्रियाशील बनाउन अनुरोध गरे । कार्यक्रममा सचिव सञ्जीव श्रेष्ठले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष दामोदर पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा रेडिमेट तथा फेन्सी व्यवसायी समितिका सल्लाहकार माधव खनाल, नेपाल पत्रकार महासंघ दाङका निवर्तमान सचिव आरके शीतल, दाङ जिल्ला उद्योग वाणिज्य संघका सदस्य विष्णु रिजाल, समितिका संस्थापक अध्यक्ष एकराज खनाल, संस्थापक उपाध्यक्ष देवीराम न्यौपाने, भाँडा व्यवसायी समितिका अध्यक्ष मधुसूदन अधिकारी, मोबाइल तथा इलेक्ट्रोनिक्स व्यवसायी समितिका अध्यक्ष शालिकराम खनाल, राप्ती अञ्जल लिकर्स एसोसिएसनका अध्यक्ष विश्व पौडेल, गल्ला तथा किराना व्यवसायी समितिका अध्यक्ष विनोद पाण्डेलगायतले भनाइ राखेका थिए ।
कार्यक्रममा समितिले आयोजना गरेको रक्तदानमा सहभागी, दाङ जिल्ला उद्योग वाणिज्य संघको साधारणसभाको अवसरमा आयोजित विभिन्न प्रतियोगिताका विजेता, कराँते थाइल्यान्ड ओपन च्याम्पियनसिप–२०२५ मा सहभागी ए वान फेन्सीका राजेश तामाङ, भ्वाइस अफ किड्स सिजन–४ मा सहभागी जिएस फेन्सीका सञ्चालक गोकुल श्रेष्ठकी छोरी सोनम श्रेष्ठलाई सम्मान गरिएको थियो । उपाध्यक्ष हरिप्रसाद घिमिरेको स्वागतबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव सञ्जीव श्रेष्ठले गरेका थिए ।