आयाम बहुउद्देश्यीय सहकारीको साधारणसभा

आलोक भावुक
गढवा, १५ भदौ । आयाम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड गढवाको ११औँ वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष ओमप्रकाश बसेलको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्यता तथा गाउँपालिका उपाध्यक्ष शारदाकुमारी चौधरीको विशिष्ट आतिथ्यतामा वार्षिक साधारणसभा भएको भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा गढवा गाउँपालिका अध्यक्ष पोख्रेलले बचत र ऋणले मात्र सहकारी संस्था अगाडि बढ्न नसक्ने बताए । सहकारीले कृषि क्षेत्रमा लगानी गरेको देख्दा, सुन्दा आफू खुसी भएको बताउँदै अध्यक्ष पोख्रेलले कृषि उत्पादनमा लगानी गरी आयआर्जनसँग जोडिन सबै सहकारीलाई सुझाव दिए ।

नाममा लागि मात्र खुलेका सहकारी संस्थाले अन्य सहकारीलाई वदनाम गरेको बताउँदै उनले कार्यक्रम सञ्चालन गर्न नसकेका सहकारीहरू एकआपसमा मर्ज भएर काम गर्न आग्रह गरे । गढवाका सहकारीले कृषि क्षेत्रमा उत्पादनमूलक कार्यक्रम गरे पालिकाले सहयोग गर्ने उनले बताए ।

कार्यक्रममा गढवा गाउँपालिका उपाध्यक्ष चौधरीले संस्थाले छोटो समयमा राम्रो र सम्मानजनक प्रगति गरेको भन्दै प्रशंसा गरिन् । सहकारीले बचत तथा ऋण मात्र नभएर महिलालाई सिपमूलक तालिम दिएर उद्यमसँग जोड्ने खालका कार्यक्रम ल्याउन सुझाव दिइन् । गाउँपालिकाले सहकारी क्षेत्रको समुन्नत विकासका लागि नियमित नियमन गर्दै आएको उनले बताइन् ।

संस्थाका अध्यक्ष बसेलले सहकारी स्थापना भएको ११ वर्षको यात्रामा सदस्यहरूको विश्वास, माया र दिएको साथले संस्थाले छोटो समयमै सफल सहकारीको रूपमा पहिचान बनाएको बताए । कृषि, महिला सशक्तीकरण, सिपमूलक तालिम र उत्पादनमुखी क्षेत्रमा लगानी गरेर मात्र सहकारी क्षेत्रलाई दिगो बनाउने उनले बताए । संस्थाकी प्रबन्धक सीता नेपालीले आर्थिक वर्ष ०८२÷०८३ को बजेट, निति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।

कार्यक्रममा संस्थाका सचिव श्याम चौधरीले संस्थागत प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने संस्थाका कोषाध्यक्ष समिर खानले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । आर्थिक वर्ष २०८१÷०८२ को आय व्यय प्रस्तुत गर्दै संस्थाका सचिव श्याम चौधरीले यस वर्षको सङ्कलित निक्षेप चार करोड ५४ लाख ६० हजार पाँच सय ८३ रुपैयाँ, कुल ऋण लगानी तीन करोड ३८ लाख दुई हजार पाँच सय सात रुपैयाँ रहेको बताए ।

यसैगरी संस्थाको कुल आम्दानी ४३ लाख १९ हजार छ सय आठ रुपैयाँ २५ पैसा रहेको र ३३ लाख ७० हजार चार सय ६९ रुपैयाँ २४ पैसा खर्च समेटिएको प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारणसभाको अवसरमा सहकारी सुरुवात चरणदेखि हालसम्म र विभिन्न समयमा संस्थाको हक, हित, बचतलगायतका क्षेत्रमा उत्कृष्ट काम गर्ने सदस्यलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा गढवा गाउँपालिका सहकारी शाखाका अशोककुमार यादव, गाउँपालिकास्तरीय सरकारी सञ्जालका सचिव दामोदर ढुङ्गाना, नेपाल रेडक्रस सोसाइटी उपशाखा गढवाका सभापति उमाकान्त पन्त, संस्थाका परिकल्पनाकार तथा पत्रकार किरणविक्रम शाह, गढवा उद्योग वाणिज्य संघका प्रतिनिधि डेगमान जिसी, भिटा परियोजना कार्यक्रम संयोजक वसन्तकुमार शर्मा, वन तथा वातावरण समन्वय समितिका अध्यक्ष पुष्पा यादव, गढवा पञ्चैबाजा कला संस्कृति संरक्षण केन्द्रका सचिव तिलक पुन, गढवा सामाजिक उद्यमी महिला सहकारी संस्थाका व्यवस्थापक रम्भुनाथ चौधरी, चुरे क्षेत्र बचत तथा ऋण सहकारी संस्था लि गढवाका अध्यक्ष हेमन्त चौधरीलगायतले बोलेका थिए ।

संस्थाकी प्रबन्धक नेपालीको स्वागतबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव श्याम चौधरीले गरेका थिए ।