calander

October 2025
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  

Goraksha

National Daily

भारतीय केराको भरमा दाङको बजार

अमरराज आचार्य
दाङ, १० भदौ । तिजको समयमा महिलाहरू ब्रत बस्ने र फलफूल खाने भएपछि फलफूलको माग बढी हुने गरेको छ । अन्य समयभन्दा तिजमा विशेष गरेर केराको माग बढी हुने गरेको फलफूल व्यवसायी बताउँछन् ।

अन्य सिजनमा जिल्लामा उत्पादन भएका केराले लगभग पुग्ने भए पनि चाडपर्वको समयमा जिल्ला बाहिरसँगै भारतबाट फलफूल भित्राउनु पर्ने अवस्था रहेको छ । जिल्लामा उत्पादन हुने केराले जिल्लाको माग थेग्न सकेको छैन । केराको माग अनुसारको उत्पादन हुन नसक्दा जिल्ला बाहिरबाट केरा आयात गर्नुपर्दा बर्सेनि करोडौँ रकम बाहिरिने गरेको व्यवसायी भगत विक बताउँछन् ।

‘जिल्लाको उत्पादनले तीन महिना पनि धान्न सक्दैन’, फलपूmल व्यवसायी विकले भने । जिल्लामा धेरै केरा भारतबाटै आउने गरेको उनको भनाइ छ । चितवन, नवलपरासी, टीकापुरलगायतका जिल्लाबाट केरा आयात हुने गरे पनि बाह्रै महिना नपुग्ने उनको भनाइ छ ।

‘बाहिर जिल्लाबाट केरा आए पनि त्यसले बाह्रै महिना नपुग्ने भएपछि बाध्य भएर भारतीय केरा आयात गर्नुपर्छ’, उनले भने, ‘करिब नौ महिना भारतबाट आयात गरिने केराले माग धान्ने गरेको छ ।’ चितवनबाट ल्याउने गरे पनि अहिले बाटोका कारण केरा जिल्लामा आउन नसकेको उनको भनाइ छ ।

उनका अनुसार आफूले तिज पर्वलाई लक्षित गरेर सय मेट्रिकटन आयात गरेकामध्ये ५० प्रतिशत केरा भारतबाट मगाएको व्यवसायी विक बताउँछन् । घोराहीमा मात्रै दैनिक करिब ४८ मेट्रिक टन केरा खपत हुने गरेको फलफूल व्यवसायी समिति घोराहीका निवर्तमान अध्यक्ष समेत रहेका विकले बताए ।

तिजमा घोराहीमा मात्र ४० लाख दर्जन केरा खपत हुने उनको अनुमान छ । अहिले नेपाली केरा थोकमा ६० देखि ६५ रुपैयाँ दर्जन र भारतीय ७० देखि ८० रुपैयाँ दर्जन रहेको उनले बताए । बाहिरबाट केरा आयात गर्नु पर्दा जिल्लाबाट धेरै रकम बाहिरने गरेको छ । दाङमा सबैभन्दा बढी देउखुरी क्षेत्रमा केरा उत्पादन हुने गरेको छ ।

हावापानीका हिसाबले देउखुरी क्षेत्र उत्तम मानिने कृषिका जानकार बताउँछन् । दाङको पकेट क्षेत्रका रूपमा देउखुरी नै रहेको कृषि ज्ञान केन्द्रको भनाइ छ । घोराही, तुलसीपुरलगायतका ठाउँमा पनि केरा उत्पादन गर्न सकिने कृषिका जानकार बताउँछन् । जिल्लामा उपत्यकाभन्दा देउखुरी क्षेत्रमा केरा खेतीका लागि माटोसँगै सिँचाइको व्यवस्था भएको र थोरै खेतीबाट राम्रो आम्दानी लिन सकिने भएकाले यसतर्फ किसानको आकर्षण बढ्दै गएको छ ।

पछिल्लो समय व्यावसायिक केरा खेती गर्नेको सङ्ख्या बढ्दै गएको कृषि ज्ञान केन्द्र दाङका प्रमुख नवराज भण्डारीले जानकारी दिए । उनका अनुसार जिल्लामा आर्थिक वर्ष ०८१÷०८२ मा सात सय ३० हेक्टर क्षेत्रफलमा व्यावसायिक केरा खेती भएको थियो । जसमा नौ हजार नौ सय ७३ मेट्रिक टन केरा उत्पादन भएको कृषि ज्ञान केन्द्रको वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ । अघिल्लो आर्थिक वर्षमा छ सय ७० हेक्टर क्षेत्रफलमा केरा खेती भएको ज्ञान केन्द्रसँग तथ्याङ्क रहेको छ । गत आर्थिक वर्षमा एक सय ५० हेक्टर केरा खेती हुने क्षेत्रफल वृद्धि भएको हो ।

जिल्लाको उत्पादनले बजारको करिब ७० प्रतिशत माग धान्ने गरे
पनि चाडपर्वको समयमा बाहिरी जिल्लाकै भर पर्नुपर्ने अवस्था रहेको कृषि ज्ञान केन्द्रका प्रमुख भण्डारी बताउँछन् । जिल्लामा उत्पादन हुने केरा बाहिरसमेत जाने गरेको उनको भनाइ छ । सस्तो खोज्ने हुनाले भारतीय केरा आयात हुने गरेको उनले बताए । जिल्लामा धेरै मालवक केरा उत्पादन हुने यसको मूल्यसमेत बढी हुनाले बाहिरबाट आउने गरेको छ ।

‘जिल्लामा पछिल्लो समय व्यावसायिक केरा खेती बढ्दै गएको छ, उत्पादन बृद्धि भएको र आत्मनिर्भर उन्मुखतर्फ अगाडि बढेको छ’, प्रमुख भण्डारीले भने । रोपेको सबै बिरुवा उत्पादन दिने नभएकाले अहिलेलाई बाहिरबाट आउने केरामै भर पर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ ।

जिल्लामा देउखुरीको राप्ती गाउँपालिका, गढवा गाउँपालिका, घोराही उपमहानगरपालिका, शान्तिनगर गाउँपालिका र तुलसीपुर उपमहानगरपालिकाका विभिन्न ठाउँमा व्यावसायिक केरा खेती हुने गरेको छ । केरा खेतीमा ठुलो लगानी गर्ने कृषक तथा व्यवसायी समेत लाग्ने गरेको पाइएको छ ।

‘जिल्लामा केरा खेतीको राम्रो सम्भावना रहेको छ, त्यसैले पनि पछिल्लो समयमा केरा खेती गर्नेको सङ्ख्या हरेक वर्ष वृद्धि हुँदै गएको छ’, प्रमुख भण्डारीले भने । केराको बजारसमेत राम्रो रहेको उनी बताउँछन् । सबैले उपयोग गर्ने भएकाले केरा खपतमा समस्या नहुने प्रमुख भण्डारीले बताए । केरा खेती विस्तारका लागि किसानलाई कार्यालयले अनुदानसमेत दिएको थियो ।

व्यावसायिक केरा खेती

जिल्लामा केरा खेतीको राम्रो सम्भावना भएकाले केरा खेतीतर्फ किसानको आकर्षण बढ्दै गएको छ । किसानले पछिल्लो समयमा करोडौँको लगानी गरेर व्यावसायिक केरा खेती गर्न थालेका छन् । जिल्ला तथा बाहिरी जिल्लाका पाँच जना युवा मिलेर सय बिघामा केरा खेती गरेका छन् ।

गढवामा उनीहरूले व्यावसायिक केरा खेती सुरु गरेका छन् । सय बिघा जग्गा भाडामा लिई करिब एक करोड बढी रुपैयाँ लगानी गरेर व्यावसायिक केरा खेती सुरु गरेको फलफूल व्यवसायी विकले बताए । ‘फलफूल व्यवसाय गर्दा केरा बाहिरबाट ल्याउनु पर्ने बाध्यता देखेर नै जिल्लामा केरा उत्पादन गर्ने उदेश्यले व्यावसायिक केरा खेती सुरु गरेका हौँ’, उनले भने ।

जिल्लामा केरा उत्पादन गर्न सके केराको आयात घट् उनी बताउँछन् । व्यावसायिक रूपमा खेती गर्दा रोजगार समेत सिर्जना भएको उनी बताउँछन् । व्यावसायिक केरा खेतीबाट उत्पादन लिइसके पनि समस्या पूर्ण रूपमा टर्न नसकेको विक बताउँछन् ।

दुधमा पनि भरनिर्भर

भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङको तथ्याङ्क अनुसार दाङमा आर्थिक वर्ष २०८१÷०८२ मा ३५ हजार तीन सय ५८ मेट्रिक टन दुध उत्पादन भएको थियो । जुन आर्थिक वर्ष ०८०÷०८१ को भन्दा सात दशमलव ३५ प्रतिशतले बढी हो ।

जसमा गाईको भन्दा भैँसीको दूध धेरै उत्पादन भएको छ । दाङमा १५ हजार सात सय ७६ मेट्रिक टन गाईको दुध उत्पादन हुँदा १९ हजार छ सय १२ मेट्रिक टन भैँसीको दुध उत्पादन भएको छ । दाङमा आर्थिक वर्ष ०८०÷०८१ मा ३२ हजार नौ सय ३६ मेट्रिक टन दुध उत्पादन भएको थियो ।

जसमा गाईको दुध भैँसीको भन्दा धेरै उत्पादन भएको कार्यालयसँग तथ्याङ्क छ । दाङमा त्यस वर्ष १८ हजार पाँच सय ७६ मेट्रिक टन गाईको दुध उत्पादन हुँदा १४ हजार तीन सय ६० मेट्रिक टन भैँसीको दुध उत्पादन भएको थियो ।

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङले प्रतिव्यक्ति प्रतिवर्ष ९१ लिटर दुध आवश्यक पर्नेमा दाङको उत्पादनले ५२ दशमलव ३८ लिटर मात्रै पुग्ने गरेको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष ०८०÷०८१ मा दाङको उत्पादनले ५० दशमलव २७ लिटर मात्रै पुग्ने अवस्था थियो ।