आज हरितालिका तिज

बालाराम खड्का
दाङ, १० भदौ । नेपाली नारीहरूको महान पर्व तिज आज परेको छ । हिन्दु महिलाद्वारा मनाइने महत्वपूर्ण पर्व हरितालिका तिज आज (मङ्गलवार) देवाधिदेव महादेवको पूजाआराधना गरी मनाइँदै छ ।
नेपालमा यो पर्व धुनधानका साथ मनाइन्छ । हिन्दु धर्मशास्त्र अनुसार प्रत्येक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइने यस पर्वमा विशेष गरी भगवान् शिवलाई खुसी पार्न ब्रत लिने र पार्वतीसहित उनको पूजाआराधना गर्ने धार्मिक परम्परा रही आएको छ ।
अनादि कालमा हिमालय पर्वतकी पुत्री पार्वती (आदि शक्ति)ले ‘देवाधिदेव महादेवलाई पतिका रूपमा पाउँ’ भनी ब्रत गरेको शिवपुराणमा उल्लेख छ । बाबुले आफ्नो विवाह भगवान् विष्णुसँग गरिदिने भएपछि पार्वतीले आफूले मन पराएको वर पाउन शिवजीको तपस्या गरेकी थिइन् । तथापि आफ्नो मनोकामना पूर्ण नभएपछि उनले शिवलिङ्ग स्थापना गरी ब्रत बसी पूजाआराधना गरेकी थिइन् ।
अन्तमाः उनले गरेको ब्रत यसै दिन पूर्ण भएको र ब्रतका प्रभावले शिवपार्वतीको विवाह भएको शास्त्रमा उल्लेख गरिएको छ । सोही आधारमा तिज पर्व मनाउने गरिएको पाइन्छ । आजका दिन महिलाहरू आफ्नो शरीरको अवस्था अनुसार निराहार, जलाहार, फलाहार, एकछाक खाने वा अत्यन्त अशक्त अवस्थामा भोजन गरेरै भए पनि तिजको ब्रत बस्नुपर्ने मान्यता रही आएको छ ।
तिजको अवसरमा ‘अविवाहितले सुयोग्य वर पाउँ, विवाहितले आफ्ना पतिबाट पार्वतीले झैँ माया पाउँ, जीवनभर दाम्पत्य जीवनको सुखभोग गर्न पाउँ र विधवा महिलाले अर्को जन्ममा सुयोग्य पति पाउँ र वैधव्य जीवन बिताउनु नपरोस्’ भन्ने मनोकामनाका साथ ब्रत बस्ने गर्दछन् । ब्रतको अघिल्लो दिन भाद्र शुक्ल द्वितीयाका दिन दर खाने चलन छ ।
यस दिन चेलीलाई माइतीले वा दिदीले बहिनीलाई वा मावलीले चेलीभान्जीलाई बोलाउने र दर खुवाउने प्रचलन छ । दर भनेको पौष्टिक वा सात्विक (दाल, भात, तरकारी, फलफूल, दुध, दही, घिउ आदि) आहार हो । भोलिपल्ट ब्रत बस्न शक्ति प्राप्ति होस् भनेर पौष्टिक आहार गर्ने चलन रहेको छ ।
सो अवसरमा महिलाहरू माइत जाने र आफ्ना मन मिल्दा साथीसङ्गीसँग भेटघाट गर्ने, नाचगान, भजनकीर्तन र जमघट गर्ने अनि आपसमा वर्ष दिनभर आफूलाई परेका दुःख, पिर, मर्का पोख्ने गर्दछन् । त्यसैले तिज महिलामैत्री पर्वका रूपमा परिचित छ । तिज नेपालमा मात्र नभई अन्य मुलुकमा गएका नेपालीले पनि धुमधामका साथ मनाउने गरेका छन् । यसैगरी गणेश चतुर्थी र ऋषि पञ्चमी पनि तिजकै अङ्गको रूपमा लिइन्छ । पति अनि परिवारको रक्षार्थ ब्रत बसेका नारीहरूको अटल सौभाग्य र सदासर्वदा भरिभराउ, कोखका लागि भगवान् स्वयम् धर्तीमा झर्छन् जस्तो भान हुन्छ ।
महिलाहरू आजको दिन निराहार र निर्जला ब्रत बस्ने चलन छ । तिजको साँझ एक सय आठ सुते–बत्ती दियो प्रज्वलन गरिन्छ । ती दीपशिखाहरू रातभरि नै बल्नुपर्ने धारणा छ र साँझमा चन्द्र भगवान्को अर्चना गर्नुपर्छ । तिजमा विभिन्न गाउँघर शिवालयदेखि विभिन्न पाटी चौतारामा दिनभर नाचगान गरी रमाइलो गर्ने गरिन्छ ।
जिल्लाका विभिन्न स्थानमा दाजुभाइ दिदीबहिनी जम्मा भएर रमाइलो गर्ने गरेका छन् । दिनभर शिवालय गई शिवजीको दर्शन, पुजन गर्ने, भजनकीर्तन गर्ने र नाचगान तथा रमाइलो गर्ने गरिन्छ । सबैभन्दा बढी पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा प्रत्येक वर्ष ब्रतालुहरूको भिड लाग्ने गरेको छ ।
आज सार्वजनिक बिदा
लुम्बिनी प्रदेश सरकारले आगामी हरितालिका तिज पर्वको अवसरमा मङ्गलबार भदौ १० गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले जारी गरेको सूचना अनुसार
प्रदेश राजपत्रमा गत २०८१ साल चैत्र २१ मा प्रकाशित प्रावधान अनुसार हरितालिका तिजको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको हो । मन्त्रालयका उपसचिव तथा प्रवक्ता कृष्णप्रसाद नेपालका अनुसार हरितालिका तिजको धार्मिक तथा सांस्कृतिक महत्वलाई ध्यानमा राखी प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरिएको छ ।