दाङ,६ भदौ । एक सय घण्टामा एक लाख युनिट रगत संकलन गर्ने उद्देश्य अनुसार विशाल रक्तदान अभियन सुरु भएको छ । विश्व बन्धुत्व दिवस तथा राजयोगिनी डा दादी प्रकाशमणीको पुण्य स्मृतिका अवसरमा शुक्रबारदेखि नेपाल र भारतमा एक साथ विशाल रक्तदान अभियान सुरु भएको हो ।
अभियानअन्तर्गत दाङको घोराहीमा प्रतिनिधिसभा सदस्य मेनका पोख्रेलले विशाल रक्तदान अभियानको सुभारम्भ गरेकी हुन । ब्रह्माकुमारी इश्वरीय विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र नेपाल क्षेत्रीय कार्यालय दाङको आयोजनामा घोराहीमा भएको विशाल रक्तदान अभियानको उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य पोख्रेलले रक्तदान जस्तो पवित्र कार्यमा सवै जोडिन आग्रह गरेकी थिइन । जीवनको सवैभन्दा ठुलो दान नै रक्तदान भएको भन्दै कार्यक्रमकी प्रमुख अतिथि पोख्रेलले रक्तदानको अभियानमा सवै जोडिन आवश्यक रहेको बताइन । रगत अभावमा कसैले पनि ज्यान गुमाउँनु नपरोस भन्दै प्रतिनिधिसभा सदस्य पोख्रेलले आफ्नो सानो सहयोगले अरुको जीवन बच्ने परित्र कार्यमा सवै जोडिन आवश्यक रहेको बताइन ।

कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले रगतको माग बढ्दै गरेको अवस्थामा रक्तदाता बढाउनका लागि सवैले आ–आफ्नो क्षेत्रबाट पहल गर्नुपर्ने बताएका थिए । अहिले विभिन्न संघसस्था, विद्यालयले आफ्नो स्थापनासँगै जन्मदिनको अवसर पारेर गर्ने रक्तदानले जिल्लामा रगतको आपुर्ति भइरहेको भन्दै यसलाई जिल्लाभर व्यापक अभियानका रुपमा सञ्चालन गर्नुपर्ने बताएका थिए । सहभागीले ब्रह्मकुमारी इश्वरीय विश्वविद्यालयले पुन्यको कार्यअन्तर्गत विशाल रक्तदान अभियान सञ्चालन गरेर राम्रो कार्य गरेको भन्दै यस्ता कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए ।
ब्रहमाकुमारी इश्वरीय विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र नेपाल क्षेत्रीय कार्यालय दाङकी प्रमुख गीता दिदीको अध्यक्षमामा भएको कार्यक्रममा रेडक्रश सोसाईटी दाङका सभापति मदन गौतम, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष डा बसन्त लामिछानेलगायतले मन्तव्य व्यक्त गरेका थिए । विशाल रक्तदान अभियानअन्तर्गत दाङमा सात सय युनिट रगत संकलन गर्ने लक्ष्य लिइरहेको ब्रहमाकुमारी इश्वरीय विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र नेपाल क्षेत्रीय कार्यालय दाङका सूचना अधिकारी माधव तिमिल्सिनाले जानकारी दिएका छन् ।
सूचना अधिकारी तिमिल्सिनाका अनुसार अभियानको पहिलो दिन घोराहीस्थीत कार्यालय र गोग्लीस्थीत सगरमाथा सिमेन्ट उद्योगमा भएको कार्यक्रममा एक सय ३७ जनाले रक्तदान गरेका थिए । पहिलो दिन नेपाल प्रहरी, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी, विभिन्न कलेजमा अध्ययनरत विद्यार्थी,बैंकमा कार्यरत कर्मचारीसँगै सिमेन्ट उद्योगमा कार्यरत कर्मचारीले रक्तदान गरेका थिए ।
विशाल अभियानअन्तर्गत भदौ ७ गते शनिबार बिहान ७ बजेदेखि २ बजेसम्म सिद्धरत्ननाथ माध्यमिक विद्यालय नारायणपुरमा कार्यक्रम तय गरिएको छ । त्यसैगरी भदौ ८ गते आइतबार बिहान ७ बजेदेखि १ बजेसम्म तुलसीपुर शाखामा तथा बिहान ८ बजेदेखि यातायात व्यवसायी समिति तुलसीपुर बसपार्क र भदौको ९ गते विहान ९ बजेदेखि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रक्तदान कार्यक्रम हुने भएको छ ।रक्त सञ्चार केन्द्र घोराहीको प्राविधिक सहयोगमा भएको अभियानअन्तर्गत कार्यक्रम हुनेछ । ब्रहमाकुमारी इश्वरीय विश्वविद्यालयअन्तर्गत नेपालमा भएका एक सय ८६ वटा केन्द्रमा सय घण्टामा ३५ हजार रगत संकलन गर्ने लक्ष्य लिइएको छ ।