महिला सामुदायिक : समाज रुपान्तरणको अभियान

आर.के.शितल

नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङ महिला र बालबालिकाको क्षेत्रमा काम गर्ने एक सामाजिक संस्था हो । क्याम्पस पढ्दै गरेका किशोरीले सामाजिक संस्थामार्फत् सामाजिक कार्य गर्नुपर्छ भन्ने उद्देश्यका साथ स्थापना गरेको यस संस्थाले निरन्तर सामाजिक कार्य सञ्चालन गर्दै आएको छ । २०५० सालमा तत्कालिनमध्ये तथा सुदुरपश्चिममा महिलाहरुले मात्र स्थापना गरेका पहिलो संस्था हो ।

आजभन्दा करिब ३२ वर्ष अगाडि क्याम्पस पढ्दै गरेका दिदिबहिनीहरु मिलेर यो संस्थाको स्थापना गरिएको हो । क्याम्पस पढ्दै गर्दा विभिन्न काममा ग्रामीण भेगसम्म पुग्दै गर्दा त्यहाँका महिलाको अवश्था उहाँहरुको दैनिकी देख्दा उहाँहरु जस्ता महिलाको सशक्तिकरणका लागि काम गर्नुपर्छ भन्ने उद्देश्यले संस्थाको स्थापना भयो । संस्थापक अध्यक्ष बिमला योगीको नेतृत्वमा स्थापना भएको नेपाल महिला सामुदायिक सेवा केन्द्रले जिल्ला, प्रदेश र राष्ट्रिय स्तरमै उच्च स्तरको पहिचान बनाएको छ । सामाजिक अभियान्ता बिमला योगी, कल्पना न्यौपाने, विष्णु गिरी, गीता गिरी, शिवा योगी, कान्ता चौधरी लगायत महिलाले हाल संस्थाको नेतृत्व गरिरहनुभएको छ ।

स्वावलम्बी तथा चेतनशिल महिला समाजको सिर्जना गर्ने परिकल्पना स्थानीय सिप तथा श्रमको उपयोग गरेर सामाजिक सशक्तीकरण तथा आर्थिक सशक्तिकरण गर्ने ध्यय र लक्ष्यकासाथ स्थापना भएको यस नेपाल महिला सामुदायिक सेवा केन्द्रले दिगो शान्ति स्थापनाका लागि सामुदायिक जागरण, बालिका शिक्षा, मानव अधिकार संरक्षण तथा प्रवद्र्धन, द्वन्द्व प्रभावित क्षेत्र तथा समुदायको पुनःनिर्माण तथा पुर्नस्थापनामा सहयोग, वातावरण÷पर्यावरण संरक्षण तथा विपद व्यवस्थापन, लघुवित्त कार्यक्रम, सहकारी मार्फत् सामुदायिक विकास र उद्यम विकास कार्यक्रम मार्फत् युवाहरुमा स्वरोजगार निर्माण लगायतका काम गरिरहेको छ ।

बालबालिकाको शिक्षालाई जोडदारका साथ प्राथमिकता दिएर काम गरिरहेका छौँ । विभिन्न समुदायका बालबालिका अझै पनि आर्थिक अभावका कारण शिक्षाबाट बञ्चित हुनु पर्ने अवस्था छ । अति विपन्न परिवारका बालबालिका विभिन्न कारणले शिक्षाबाट बञ्चित भइरहेको अवस्था देखिसकेपछि हामीले संस्था स्थापनासँगै ती बालबालिकालाई शिक्षामा सहयोग गर्नुपर्छ ।

आर्थिक अभावका कारण कोही निर्दोष बालबालिका शिक्षाबाट टाढा हुनु हुँदैन भनेर उनीहरुको शिक्षामा संस्थाले खुला मनले सहयोग गरिरहेको छ । त्यस्तै सशस्त्र द्वन्द्वको समयदेखि नै संस्थाले द्वन्द्वपीडित परिवारसँग काम गरिरहेको छ । युवाहरुलाई कृषि र पशुपालनमा जोड्नका लागि स्थानीय सरकार र हेफर प्रोजेक्टसँगको सहकार्यमा कृषि र पशु विकासमा आधारित परियोजना दंगीशरण र शान्तिनगर गाउँपालिकामा सञ्चालन गरेको छ ।

बालिका शिक्षा कार्यक्रम

संस्थाले सञ्चलान गरेका धेरै कार्यक्रम मध्ये बालिका शिक्षा कार्यक्रम नेपाल महिला सामुदायिक सेवा केन्द्रको पहिचान हो । कार्यक्रम संस्था स्थापनासँगै सुरु भएको यो कार्यक्रमलाई हामीले अभियानको रुपमा लिएको छ । आर्थिक विपन्नताका कारण औपचारिक शिक्षाबाट बञ्चीत भएका बालबालिकालाई शिक्षामा सहयोग गर्ने उद्देश्यकासाथ यो कार्यक्रम सञ्चालन भएको छ । जसमा हाल ४ सय ५० बढी बालबालिकाले अध्ययन गरिरहेका छन् ।

संस्थाको एउटा मान्यता लिएको छ कि बालबालिकाले मैले पढ्न पाएन अर्थात् अभिभावकले मैले मेरा बच्चालाई पढाउन सकेन भनेर आउँछ भने खाली नफर्काउने । संस्थाको संस्थापक अध्यक्ष बिमला योगीले संस्थामा कोही कुनै सहयोगको अपेक्षा गरेर आउँछ भने खाली नफर्काउने भन्ने मान्यता स्थापित गर्नुभएको छ । संस्थामा नयाँ शैक्षिक सत्र अर्थात विद्यालय भर्नाको समयमा ठुलो भिड हुन्छ । कक्षा नर्सरीदेखि प्लस टु उत्तीर्णसम्म संस्थाले सहयोग गर्ने गरेको छ । अति आवश्यक भएका केही बालबालिकालाई ब्याचलरमा नि संस्थाले सहयोग गर्दै आएको छ ।

संस्थाले पढाएका बालबालिका अहिले विभिन्न पेसामा छन् भने केही अध्ययनकै लागि विदेश गएका छन् । उनीहरुले पनि स्वेच्छिक रुपमा मलाई संस्थाले पढाएर यहाँसम्म आएँ अब म पनि यति जना बालबालिकालाई पढाउँछु भनेर सहयोग गर्ने गरेका छन् । संस्थामा कार्यरत कर्मचारीले स्वेच्छाले बालबालिकाको शिक्षामा सहयोग गर्ने गरेका छन् ।

संस्थाको संस्थापक अध्यक्ष बिमला योगीले व्यक्तिगत लगानीमा ‘बिमला योगी बालिका शिक्षा तथा स्वास्थ्य कार्यक्रम’ सञ्चालन गर्नुभएको छ । जसले गर्दा संस्थाको बालबालिका पढाउने अभियानलाई ठुलो हौसला मिलेको छ । यसका साथै संस्थाले वादी समुदायमा शिक्षा र स्वास्थ्यका लागि काम गरिरहेको छ । वादी समुदायका बालबालिकालाई शिक्षामा निरन्तर सहयोग गर्दै आएको संस्थाले बालबालिकाको लागि ट्यूसन सेन्टर पनि सञ्चालन गरको छ ।

दिगो शान्तिको अभियान

१० वर्षे सशस्त्र द्वन्द्वले दाङ जिल्लामा पनि नराम्ररी प्रभाव पा¥यो । जिल्लामा रहेको नेपाली सेना, नेपाल प्रहरीको ब्यारेक आक्रमण भए भने जिल्लाका चार स्थानमा सामुहिक हत्याका घटनाहरु भए ।

नेपाली सेनाले घोराही नगरपालिका वडा न.३ (हाल घोराही उपमहानगरपालिका १७) बर्गदी, साविक लक्ष्मीपुर गा.वि.स वडा न.३ (हाल घोराही उपमहानगरपालिका ३) बेलुवा, साविक फुलबारी गा.वि.स वडा न.४ बाख्रे (हाल तुलसीपुर उपमहानगरपालिका १३) र गोल्टाकुरी गा.वि.स वडा न.८ (हाल दंगिशरण गाउँपालिका २) का किसानलाई छुट्टा छुट्टै मितिमा नेपाली सेनाले गोली हानेर हत्या ग¥यो । यी त दाङमा भएका सामुहिक हत्याका घटना हुन् । यस्ता विभत्स घटना पछि नेपाल महिला सामुदायिक सेवा केन्द्र चुप लगेर बस्न सकेन । घटना पश्चात ती स्थानमा पुगेर आलो घाउमा मह्लम लगाउने कामबाट संस्थाले शान्तिको क्षेत्रमा औपचारिक रुपमा काम गर्न सुरु गरेको हो ।

संस्थापक अध्यक्ष बिमला योगी, सचिव कल्पना न्यौपाने र कोेषाध्यक्ष शारदा शर्मा लगायतको नेतृत्वले द्वन्द्वपीडित समुदायमा पुगेर मनोपरामर्श दिने, युवामा प्रतिशोधको भावना नआवस् भनेर काउन्सिलिङ गर्ने, द्वन्द्वपीडित परिवारका महिलालाई तालिम दिएर आयआर्जनमा जोड्ने र ती समुदायका बालबालिकालाई शिक्षामा सहयोग गर्ने काम नेपाल महिला सामुदायिक सेवा केन्द्रले सुरु गरेको थियो । द्वन्द्वको समयमा भएका घटनाको रगत ओभाउन नपाउदै ती समुदायमा पुगेर संस्थाले काम ग¥यो । आफूलाई जोखिममा राखेर पनि द्वन्द्वपीडित परिवारसँग काम गरेर शान्तिको क्षेत्रमा कामको सुरुवात यस संस्थाका नेतृत्वले गरेको थियो । जुन नेतृत्व हालसम्म पनि कायम छ ।

विपद व्यवस्थापन, विपद पश्चातको आपतकालीन राहतमा काम गर्नकालागि सामुदायिक सुरक्षा जालो कार्यक्रम दाङका साथै वि.स २०८० कार्तिक १७ गते जाजरकोट केन्द्रविन्दु भएर गएको भुकम्पपश्चात जाजरकोट र रुकुम पश्चिममा पनि सञ्चालन भइरहेको छ । जसले भुकम्पपीडित परिवारलाई मनोविमर्श सेवा, आपलकालीन राहत लगायतको कामहरु गरिरहेको छ ।

विद्यालय सुधार कार्यक्रम

विद्यालय सुधार कार्यक्रम अन्तर्गत विभिन्न सामुदायिक विद्यालयको भौतिक तथा शैक्षिक सुधारका लागि काम गरिरहेको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १३ मा रहेको बराह क्षेत्र मावि सेवार बनगाउँमा बहुउद्धेश्यीय सभाहल, शुद्ध पिउने पानीको व्यवस्था, बाल उद्यान निर्माण गरेको छ भने घोराही उपमहानगरपालिका वडा नं. १६ मा रहेको सानी अम्बापुर विद्यालयमा तीनकोठे पक्की भवन र घोराही उपमहानगरपालिका वडा नं. ३ मा रहेको रात्री प्रावि वेलुवामा एककोठे पक्की भवन निर्माण गरेको छ ।

विभिन्न सामुदायिक विद्यालयलाई भौतिक तथा शैक्षिक सुधारका लागि पनि संस्थाले काम गरेको छ । करिब एक दर्जन बढी विद्यालयलाई पुस्तकालय, प्रयोगशाला, शुद्ध खानेपानी लगायत आवश्यकता अनुसारको सहयोग संस्थाले गरेको छ ।

मानसिक स्वास्थ्य र मनोविमर्श

मानसिक स्वास्थ्यबारे व्यक्ति सचेत भएको पाइँदैन । शारीरिक स्वास्थ्यमा गम्भीर हुने मानव समुदाय मानसिक स्वास्थ्यमा खासै वास्ता गरेको पाइँदैन । पछिल्लो समय समाजमा बढ्र्दै गएको मानसिक स्वास्थ्यको क्षेत्रमा नेपाल महिला सामुदायिक सेवा केन्द्रले काम गर्दै आइरहेको छ । समाजमा फैलिएको मानसिक स्वास्थ्य समस्या समाधानका लागि विद्यालय तथा समुदाय स्तरमा सचेतना कार्यक्रम गर्दै आएको छ भने आवश्यकता अनुसार मनोविमर्श सेवा पनि यस संस्थाले प्रदान गरिरहेको छ ।

मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने जिल्लाकै नेतृत्वदायी भूमिका रहेको यस संस्थाले आवश्यकता अनुसार मनोविमर्श पश्चात मनोविमर्शकर्ताको सिफारिसमा मनोरोग विशेषज्ञ डाक्टरसँग उपचारका लागि सहयोग गर्दै आएको छ । बितेको एक वर्षमा चार सय बढी व्यक्तिलाई निरन्तर मनोविमर्श सेवा र एक सय पाँच जनालाई मनोरोग विषशज्ञ डाक्टरसँग निशुल्क उपचार गराएको छ ।

आयआर्जनमा महिला र युवा

संस्थाले आफ्नो उद्देश्यमै युवा तथा महिलाहरुलाई उद्यमशील बनाएर आर्थिक र सामाजिक सशक्तिकरण गर्ने भनेर उल्लेख गरेको छ । सोही बमोजिम महिला र युवाहरुलाई आयआर्जनमा जोड्नका लागि विभिन्न परियोजनाबाट काम गरिरहेको छ । केन्द्रले स्थानीय तह, हेफर प्रोजेक्ट नेपाल र नागरिक आवाजसँगको सहकार्यमा सञ्चालन भएका परियोजनाबाट उद्यमशीलता र आयआर्जनको कार्य गरिरहेको छ ।

हरेक परियोजनामा उद्यमशीलता जोडेर काम गर्दा धेरै किसान कृषि र पशुमा व्यवसायिक हुनुभएको छ । स्थानीय सरकारसँगको समन्वयमा कृषकलाई उत्प्रेरित गर्ने तालिम, व्यवसायिकता लागि भौतिक निर्माण तथा व्यवसायका लागि प्रविधि सहयोग एवम् कृषि तथा पशु बिउ वितरण लगायतका कार्य गरेर व्यवसायिकतामा जोड दिएको छ । जसमा सयौँ परिवार लाभान्वित भएको छ ।

महिला स्वःरोजगार र सेनेटरी प्याड वितरण

संस्थाले महिला स्वरोजगार तालिम केन्द्र पनि सञ्चालन गरेको छ । घोराही उपमहानगरपालिका वडा नं. १५ भरतपुरमा रहेको यस केन्द्रमा विशेष गरी हिंसा पीडित महिला दिदिबहिनीहरुले नै नेतृत्व लिनु भएको छ । संस्थाको संस्थापक अध्यक्ष बिमला योगीले घोराही उपमहानगरपालिका १३ मा आफ्नो व्यक्तिगत ६ कठ्ठा जग्गा दिएर घर निर्माण गर्नुभएको छ ।

जहाँ ती दिदिबहिनीहरुको आवास र रोजगारी जोडिएको छ । ती दिदिबहिनीहरुलाई बस्नको व्यवस्था त भयो तर आर्थिक रुपमा बलियो पनि बनाउनुप¥यो भन्ने उद्देश्यका साथ महिला स्वरोजगार तालिम केन्द्रको स्थापना भयो । ती दिदिबहिनीहरुले केन्द्रमा कटाईसिलाई तालिम लिएर अहिले प्रशिक्षकको रुपमा पनि व्यवसाय सञ्चालन गरिरहेका छन् । कतिपय महिलाहरु समाजमा पुनस्थापना भएका छन् । केन्द्रमा हिंसापीडित, द्वन्द्वपीडित, अति विपन्न परिवारका महिलाहरुलाई निःशुल्क रुपमा कटाईसिलाई तालिम दिईरहेका छौँ । केन्द्रले सेनेटरी प्याड, मास्क, तैयारी कपडा उत्पादन गरिरहेको छ । केन्द्रमा आजभोली पनि २५ जनाभन्दा बढी महिलाले तालिम लिईरहनु भएको छ ।

उहाँहरुले उत्पादन गरेको सेनेटरी प्याड संस्थाले खरिद गरेर ग्रामीण क्षेत्रका विद्यालयका छात्रालाई, जोखिममा रहेको समुदायका महिलालाई निःशुल्क रुपमा वितरण गर्ने गरिन्छ । केन्द्रबाट उत्पादन भएका सेनेटर प्याड, मास्कहरु अमेरिका, बेलायत, जापान, भारतलगायत देशमा पनि पठाएका छौँ । सुदुरपश्चिमको छाउपडी प्रथा रहेको जिल्लामा पनि पुगेर सेनेटरी प्याड र मास्कहरु संस्थाले निशुल्क वितरण गरिरहेको छ । कोरोना महामारीको समयमा अमेरिका, जापान, अस्ट्रेलिया र भारतको विभिन्न स्थानमा मास्क मागबमोजिम पठाइएको थियो ।

ग्रीन क्लव (थ्री जिरो क्लव)

नेपाल महिला सामुदायिक सेवा केन्द्रले आफ्नो योजनामै राखेर जनवायु अनुकुलनसम्बन्धी काम गर्दै जाँदा ग्रनि क्लवको कामलाई सुरु गरेको छ । केन्द्रले विद्यालयमा थ्री जिरो क्लव गठन गर्ने र ती क्लवमा पदाधिकारी तथा सदस्यलाई पर्यावरण संरक्षण एवम् जलवायु अनुकुलन सम्बन्धी सचेतना, बालविवाह, युवा स्वरोजगार, लागूऔषध दुव्र्यसनविरुद्ध सचेतना, ट्राफिक सचेतना लगायतका कार्यक्रम सञ्चालन गर्ने गरेको छ । युवालाई नेतृत्व गर्न सिकाउने र सामाजिक कार्यमा अग्रसर बनाउनका लागि ग्रीन क्लव गठन र परिचालन गरिएको छ ।

स्थानीय उत्पादनको बजारीकरण (हरियो बजार)

हरियो बजार स्थानीय उत्पादन पाइने एउटा बजार हो । एक स्थान हो । जहाँ सदस्यहरुले उत्पादन गरेको स्थानीय अर्गानिक सामग्री पाइन्छ । सरकारी तथा गैरसकरारी संघसंस्थाले कृषिमा लगानी गरौँ त भने तर उत्पादित वस्तुको बजारीकणमा खासै ध्यान जान सकेन । जसका कारण धेरै किसान कृषिबाट विस्तापित हुनुभयो ।

यही समस्यालाई मध्यनजर गर्दै सदस्यलाई कृषिमा पशुपालनमा लगानी गर्नुस् भन्दै गर्दा उहाँहरुले उत्पादन गरेको वस्तुलाई सङ्कलन गर्ने र बजारीकण गर्ने भन्ने उद्देश्यका साथ संस्थाले हरियो बजार सञ्चालन गरेको छ । हरियो बजारमा स्थानीय कृषकले उत्पादन गरेको कृषिजन्य उत्पादन सङ्कलन र बिक्री गरिन्छ । हरियो बजारले स्थानीय कृषकले उत्पादन गरेको दुध सङ्कलन गरी बजारीकरण गर्ने कार्य गरिरहेको छ ।

लघुवित्त कार्यक्रम

यस नेपाल महिला सामुदायिक सेवा केन्द्रले २०६० सालबाट लघुवित्त कार्यक्रम सञ्चालन गर्दै महिला सामुदायिक लघुवित्त वित्तीय संस्था लि. स्थापना गरी महिलालाई बचत गर्न, आवश्कता अनुसार ऋण लिएर व्यवसाय सञ्चालन गर्न उत्प्रेरित ग¥यो । नेपाल सरकारको नियमनुसार हाल पोखराको जाल्पा लघुवित्त वित्तीय संस्था लि. र सुदुरपश्चिमको किसान लघुवित्त वित्तीय संस्थासँगको मर्जरपश्चात अहिले मातृ भूमि लघुवित्त वित्तीय संस्था लि. को नाममा सञ्चालनमा रहेको छ ।

देशभर शाखा विस्तार गरेर ७७ वटै जिल्लामा काम गरिरहेको छ । जसमा लाखौँ दिदिबहिनीहरु आवद्ध हुनुहुन्छ । नेपाल महिला सामुदायिक सेवा केन्द्र आज भदौ ३ गते ३२ वर्ष पूरा भएर ३३ वर्षमा प्रवेश गरेको छ । समाज रुपान्तरणको अभियानमा अगाडि बढेको यस संस्थाले आगामी दिनमा पनि आफ्नो सामाजिक यात्रा निरन्तर अगाडि बढाओस् । शुभकामना ।