अमरराज आचार्य
दाङ, २ भदौ । घोराही उपमहानगरपालिकालाई पूर्ण संस्थागत सुत्केरीयुक्त नगर घोषणा अभियान सुरु गरिएको छ । जनस्वास्थ्य प्रवर्धन शाखाको आयोजनामा पूर्ण संस्थागत सुत्केरीयुक्त नगर घोषणा अभियानका लागि पालिकास्तरीय अभिमुखीकरण कार्यक्रम गरिएको हो ।
पालिकालाई पूर्ण संस्थागत सुत्केरीयुक्त नगर बनाउने उद्देश्यले अभियान सुरु गरिएको घोराही उपमहानगरपालिका जनस्वास्थ्य प्रवर्धन शाखा प्रमुख राधा पौडेलले जानकारी दिइन् । यसका लागि उपमहानगरपालिकाले नीति कार्यक्रम बनाएर काम अघि बढाएको बताउँदै प्रमुख पौडेलले पालिकाको नीति कार्यक्रम अनुसार चालु आर्थिक वर्षको सुरुवातीमा अभियान थालिएको बताइन् ।
उनका अनुसार घोराहीमा गत आर्थिक वर्ष २०८१÷०८२ मा तीन जना महिलाको सुत्केरी अवस्थामा मृत्यु भएको थियो । सरोकारवाला तथा अन्य सबै क्षेत्रको सहयोग रहे आमा र नवजात शिशुको मृृत्युदर घटाउन सकिने उनले बताइन् । ‘पछिल्लो तथ्याङ्क अनुसार लुम्बिनी प्रदेशमा समेत मातृ मृत्युदर, शिशु मृत्युदर रकुपोषणको दर उच्च रहेकाले यसको न्यूनीकरण गर्न सबैको सहकार्य हुनु जरुरी छ’, शाखा प्रमुख पौडेलले भनिन् ।
स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन रीता न्यौपानेले दंगीशरण गाउपालिका पूर्ण संस्थागत सुत्केरीयुक्त गाउँपालिका घोषणा भइसकेको बताइन् । उनले अब घोराही उपमहानगरपालिका र राप्ती गाउँपालिका यो अभियनमा लागेको बताइन् । नेपालको संविधान तथा सुरक्षित मातृत्व एवम् प्रजनन्, स्वास्थ्य अधिकार ऐन, २०७५ द्वारा प्रदत्त महिलाको सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्यसम्बन्धी हकको कार्यन्वयन गर्ने, गर्भावस्थादेखि सुत्केरी अवस्थासम्मको हेरचाह तथा सेवाको पहुँच, प्रयोग तथा गुणस्तर अभिवृद्धि गरी यसलाई निरन्तरता दिनेलगायतका सूचकका आधारमा पूर्ण संस्थागत सुत्केरीयुक्त नगर घोषणा गरिने गरिएको छ ।
यसैगरी घरमा गराइने सुत्केरीलाई निरुत्साहित गर्दै शून्यमा झार्ने, सुरक्षित प्रसूतिलाई संस्थागत गर्दै त्यसको दिगोपनाको सुनिश्चितता कायम गर्ने, दक्ष स्वास्थ्यकर्मीबाट स्वास्थ्य संस्थामै गुणस्तरीय सुत्केरी सेवा दिने अभियानको उद्देश्य रहेको छ । घरधुरी सर्वेक्षणबाट भेटिएका प्रोटोकल अनुसार कम्तिमा चार पटक गर्भ जाँच गरेका गर्भवती महिला कम्तिमा ९० प्रतिशत हुनुपर्ने, सुत्केरी भएकामध्ये कम्तिमा ९५ प्रतिशत महिलाले दक्ष प्रसूतिकर्मीको उपस्थितिमा स्वास्थ्य संस्थामै प्रसूति गराएको हुनुपर्ने मापदण्ड रहेको फोकल सपर्सन न्यौपानेले बताइन् ।
पालिकालाई पूर्ण संस्थागत सत्केरीयुक्त घोषणाका लागि सम्बन्धित स्थानीय तहको पालिका प्रजनन् स्वास्थ्य समन्वय समितिले आफू अन्तर्गतका सबै वडामा आवश्यक प्रक्रिया पूरा गरी पूर्ण स्थागत प्रसूति सेवायुक्त वडा भएको प्रमाणीकरण तथा घोषणा व्यवस्था रहेको छ । थानीय तह प्रजनन् स्वास्थ्य समन्वय समितिले जिल्लास्थित स्वास्थ्य कार्यालयमा पूर्ण संस्थागत प्रसूति सेवायुक्त घोषणाका लागि सिफारिस गरी पठाउनु पर्ने, विवरणको समायोजन फारम (अनुसूची ६), समितिको निर्णयको प्रतिलिपि दिगोपनाको सुनिश्चितताको प्रतिबद्धता फारम (अनुसूची ५), स्वास्थ्य कार्यालयले र जिल्ला प्रजनन् स्वास्थ्य समन्वय समितिको प्रतिनिधिसहित स्थानीय तहको स्थलगत अनुगमन गरी घोषणा मापदण्ड पूरा गरेको भए घोषणा भएको प्रमाणपत्र प्रदान गर्नुपर्ने व्यवस्था रहेको उनले बताइन् । घोराहीमा घरमा सुत्केरी हुनेको सङख्या शुन्य रहेको बताइन् ।
उनका अनुसार आर्थिक वर्ष ०८१÷०८२ मा ३८ जना घरमा सुत्केरी भएका थिए । बंगलाचुलीमा २० जना, राप्तीमा एक, गढवामा दुई र राजपुरमा ८ जना घरमै सुत्केरी भएको उनले बताइन् ।
कार्यक्रममा बोल्दै घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरीले स्वास्थ्य क्षेत्रको सुधारमा आफूहरू लागिपरेको बताए । ‘नागरिकको स्वास्थ्यलाई ध्यानमा राखेर काम गरिरहेका छौँ’, नगर प्रमुख चौधरीले भने । पालिकालाई पूर्ण संस्थागत सुत्केरीयुक्त नगर बनाउने अभियानमा नगरबासीको सहयोग आवश्यक पर्ने बताउँदै प्रमुख चौधरीले पालिका यो अभियानप्रति प्रतिबद्ध रहेका बताए । उनले आमा समूहलाई सक्रिय बनाए अभियान प्रभावकारी रूपले अगाडि बढाउन सहज हुने बताए ।
स्वास्थ्यकर्मीलाई गरेका कामको तथ्याङ्क राख्न अनुरोध गर्दै उनले भने, ‘तथ्याङ्क नहुँदा भएका कामको उपलब्धि देखिँदैन, त्यसैले अभिलेखीकरण गर्ने बानी बसाल्नुहोला ।’ पालिकाले धेरै सूचक पूरा गरेको र केही सूचकमा सुधार गरे पूर्ण संस्थागत सुत्केरीयुक्त पालिका घोषणा गर्न सकिने उनले बताए ।
घोराही उपमहानगरपालिकाका सामाजिक विकास समितिका संयोजक राममणि पाण्डेले नागरिकमा सचेतना प्रदान गरेर अभियानलाई सफल बनाउनु पर्ने बताए । यसका लागि सबैले आआप्mनो क्षेत्रबाट भूमिका निर्वाह गर्नुपर्ने बताउँदै नागरिकको बिचमा गएर सचेतना जगाउन आवश्यक रहेको बताए । स्वास्थ्य कार्यालय दाङका प्रमुख ठगबहादुर गुरुङले घोराहीले स्वास्थ्य क्षेत्रमा राम्रो अभियान सुरु गरेको बताए ।
यसलाई सफल बनाउन स्रोत साधनले प्रभाव पार्ने भन्दै त्यसतर्फ ध्यान दिन उनले आग्रह गरे । वडाले प्रभावकारी भूमिका निर्वाह गरे अभियान सफल हुने उनको भनाइ छ । झिङ्नी स्वास्थ्यचौकीका प्रमुख गोपीलाल वलीले महिला स्वयम्सेविकाको सङ्ख्या घट्दै गइरहेको हुँदा स्वास्थ्य स्वास्थ्यमा प्रभाव देखिने उनले बताए । कार्यक्रमकको सहजीकरण जनस्वास्थ्य प्रवर्धन शाखाका जनस्वास्थ्य अधिकृत बहारुलाल चौधरीले गरेका थिए ।