खेमराज रिजाल
बिजौरी, ३० साउन । दुई महिना अघि बंगलाचुली गाउँपालिकाको प्राङ्गणमा त्यहाँका किसानहरू निम, तितेपानी, असुरो, गाईवस्तुको पिसाव तथा गोबरसहित केही जैविक विषादीको बोतल लिएर अर्गानिक विषदी बनाउने अभ्यासमा व्यस्त देखिन्थे ।
दुई वटा ठुला ड्रममा जैविक विषादी तयार गरिँदै थियो, फलफूल तथा तरकारी बालीमा किरा नियन्त्रण गर्नका लागि । यसको व्यवस्थापन गरेको थियो, पर्यावरणीय दिगो विकास एवम् अनुसन्धान केन्द्र नेपाल हेमन्तपुर, दाङले ।
कार्यक्रममा कृषि प्राविधिक, वडाका जनप्रतिनिधि, पत्रकारलगायत स्थानीय किसानको उपस्थिति देखिन्थ्यो । स्थानीय स्तरमै पाइने वनस्पति तथा गोबर गउँतबाट तरकारीमा किरा मार्ने औषधी उत्पादन गर्न सकिने भएपछि सहभागी किसान उत्साहित देखिन्थे । त्यही कार्यक्रममा गड्यौला मल र झोल मल बनाउन पनि सिकाइयो । रासायनिक मलको प्रयोग गर्दा हुने बेफाइदाबारे किसान र उपस्थित सबैलाई जानकारी गराइयो ।
रासायनिक मल तथा बजारमा पाइने रसायनयुक्त विषादीको प्रयोग भएको फलफूल तथा तरकारीले मानव स्वास्थ्यमा पार्ने प्रतिकूल असरका विषयमा जानकारी गराइयो र पहिलो चरणमा अर्गानिक पकेट क्षेत्र निर्माण गरी क्रमिक रूपमा रासायनिक मलको उपयोगलाई निरुत्साहित गर्दै जाने अभ्यासबारे जानकारी गराइयो ।
कार्यक्रममै भेटिएका केन्द्रका अध्यक्ष डिल्लीबहादुर रावतले भनेका थिए, ‘हजार माइलको यात्रा शून्य माइलबाट सुरु हुन्छ, राम्रो कामको सुरुआत कसै न कसैबाट त हुनैपर्छ, चाहे त्यो जतिसुकै कठिन किन नहोस् ।’ बंगलाचुलीको त्यो कार्यक्रम प्रतिनिधि कार्यक्रम हो, यस्ता कार्यक्रम सो संस्थाले जिल्लाका देखउरी बाहेकका छ वटा पालिकामा सञ्चालन गरिए । कतै मल बनाउने, कतै जैविक विषादी निर्माणको तालिम त कतै रैथाने बाली प्रवर्धन कार्यक्रम ।
यी कार्यक्रम सञ्चालन गर्नु अघि सो केन्द्रले अर्गानिक मलको तथ्याङ्क सङ्कलन, अर्गानिक खेतीका लागि नीति निर्माण, कृषि पत्रकारिता तालिम, बिउविजन केन्द्र स्थापना, ग्रिन टनेल हाउस निर्माण, इको बगैँचा निर्माण, मौसमी तथा बेमौसमी अर्गानिक खेती तालिम, कुखुरापालन तालिम तथा अनुदानलगायतका करिब दुई दर्जन कार्यक्रम सञ्चालन ग¥यो ।
संस्थाले दाङ उपत्यकालाई अर्गानिक उपत्यका निर्माणको अभियानसँगै स्थानीय आलु उत्पादन प्रोत्साहन, स्थानीय धानहरू सिम्ठारो, विन्देश्वरी, तिल्की तथा मार्सी धान उत्पादनका लागि आवश्यक बिउ वितरणलगायतका कार्यक्रम एक वर्षको अवधिमा सम्पन्न गरेको छ ।
यसमा सङ्घीय कृषि मन्त्रालयका प्रतिनिधि, प्रदेशको कृषि हेर्ने मन्त्रालयका प्रतिनिधि, कृषि ज्ञान केन्द्र तथा कार्यक्रम लागु भएका छ वटै पालिकाका कृषि शाखाका प्रमुखहरूको पनि सहभागिता थियो । अध्यक्ष रावत भन्छन्, ‘विज्ञको सुझाव र प्राविधिकको प्रत्यक्ष सहभागितामा हामीले दाङ उपत्यकालाई २०९० सालभित्र अर्गानिक दाङ उपत्यका घोषणा गर्न सफल हुने छौँ ।’
रासायनिक मलको अधिक्तम प्रयोगले माटोको उर्वराशक्ति कमजोर बन्दै गएकाले अर्गानिक दाङ उपत्यकाको अभियान थालिएको बताइएको छ । सुरुआतीका दिनमा कसैले यसलाई असम्भव भनिदिए पनि अन्ततः मानव अस्तित्वलाई टिकाउन अर्गानिक उपभोगको कुनै विकल्प छैन ।
पहिलो चरणमा केही स्थानमा सुरुआत भए पनि यसलाई क्रमशः हरेक वर्ष विस्तार गर्दै लैजाने संस्थाको उद्देश्य रहेको बताइन्छ । अर्गानिक दाङ उपत्यकाको अभियानले जलवायु परिवर्तनको असरलाइ न्यूनीकरण गर्दै जाने बताइएको छ ।
यसैबिच पर्यावरणीय दिगो विकास एवम् अनुसन्धान केन्द्र नेपाल हेमन्तपुर दाङले बिहिबार जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माको प्रमुख आतिथ्यतामा आर्थिक वर्ष ०८१÷०८२ मा सम्पन्न गरेका विभिन्न कार्यक्रमको खर्च सार्वजनिक गरेको छ ।
संस्थाले आफ्नो कार्यक्रमका लाभग्राही, सञ्चारकर्मी तथा जनप्रतिनिधिसमेतको उपस्थितिमा खर्च सार्वजनिक गरेको हो । कार्यक्रममा संस्थाका पदाधिकारीको पनि सहभागिता थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि शर्माले अधिक मात्रामा रासायनिक मल तथा रासायनिक विषादीको प्रयोग भएका कृषि उपजको उपभोगले मानव स्वास्थ्यमा गम्भीर असर परिरहेको भन्दै यसलाई विस्थापित गरी अर्गानिक खेतीको अभ्यास सान्दर्भिक र सकारात्मक रहेको बताए ।
‘अहिले टोल टोलमा क्यान्सरका बिरामी भेटिन थालेका छन्, घरघरमा नसर्ने दीर्घ रोगका बिरामी बढिरहेका छन्, यसको प्रमुख कारण विषादी प्रयोग भएका फलफूल र तरकारीको उपभोग हो’, शर्माले भने, ‘अब यसको विकल्प खोज्नै पर्ने बेला भएको छ ।
परम्परागत रूपमा जैविक मल र जैविक विषादीको प्रयोगलाई अब जिल्लाका १० वटै स्थानीय पालिकाले वार्षिक कार्यक्रममा राख्नुपर्ने उनको सुझाव थियो । कार्यक्रमका विशिष्ट अतिथि तथा तुलसीपुर उपमहानगरपालिका–१६ का अध्यक्ष शिवानन्द डाँगीले विषादी र रासायनिक मललाई विस्थापन गरी प्राङ्गारिक मल र जैविक विषादीको अभियानले माटोको ऊर्वरा शक्ति बढाउने भएकाले यसलाई सबै क्षेत्रमा विस्तार गर्दै लैजानुपर्ने बताए ।
‘हामीले पालिकामा यो विषयमा प्रस्ताव गर्ने छौँ’, डाँगीले भने । कार्यक्रममा अर्का विशिष्ट अतिथि तुलसीपुर उपमहानगरपालिका–१८ का अध्यक्ष माधव वलीले हजार माइलको यात्रा शून्य माइलबाटै सुरु हुने भएकाले नमुना अर्गानिक खेतीको अभियानलाई जिल्लाभर विस्तार गर्नु उपयुक्त हुने बताए । कार्यक्रममा पत्रकार महासंघ दाङका उपाध्यक्ष ओपेन्द्र बस्नेतले अर्गानिक खेतीको अभियानमा सञ्चार क्षेत्रको निरन्तर सहयोग हुने बताए ।
केन्द्रका अध्यक्ष डिल्लीबहादुर रावतको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य केन्द्रका उपाध्यक्ष बालिका तिवारीले गरेकी थिइन भने सहजीकरण सचिव मेनका शर्माले गरेकी थिइन् ।