अमरराज आचार्य
दाङ, २९ साउन । लुम्बिनी प्रदेशमा गत आर्थिक वर्ष २०८१÷०८२ मा तीन हजार बढी घरेलु तथा साना उद्योग थपिएका छन् । प्रदेशका १२ वटैमा गरेर तीन हजार दुई सय ६७ वटा घरेलु तथा साना उद्योग थपिएको उद्योग पर्यटन तथा यातायात मन्त्रालयका बरिष्ठ अधिकृत तथा सूचना अधिकारी सन्तोषकुमार सुवेदीले बताएका छन् ।
उनका अनुसार रुपन्देहीमा आठ सय ८२ वटा, बाँकेमा छ सय ५७ वटा, नवलपरासी पश्चिममा तीन सय १७ वटा, कपिलवस्तुमा तीन सय ३३ वटा घरेलु तथा साना उद्योग थपिएका छन् । यसैगरी दाङमा चार सय ४९ वटा, बर्दियामा दुई सय ४५ वटा, पाल्पामा ८४ वटा, गुल्मीमा ५८ वटा, अर्घाखाँचीमा ७० वटा घरेलु तथा साना उद्योग थपिएका छन् ।
यसैगरी प्युठानमा ३७ वटा, रोल्पामा ७८ वटा र रुकुम पूर्वमा ५७ वटा घरेलु तथा साना उद्योग थपिएको मन्त्रालयको वार्षिक तथ्याङ्कले देखाएको छ । यो अवधिमा प्रदेशमा दुई हजार छ सय ९० वटा घरेलु तथा साना उद्योगको लगत कट्टा गरिएको छ । यो सङ्ख्या घरेलु तथा साना उद्योग कार्यालयसम्म पुगेर उद्योगको लगत कट्टा गराउनेको मात्र हो ।
उद्योग तथा वाणिज्य फर्म बन्द रहेका तर कार्यालयसम्म नपुग्नेको सङ्ख्या पनि धेरै रहेको व्यवसायीको भनाइ छ । बैंकको ऋणका लागि वास्तविक रूपमा बन्द भए पनि कागजी रूपमा बन्द नगराउने गरेको आर्थिक क्षेत्रका अगुवा बताउँछन् । व्यवसायीले ‘व्यवसाय नचलेकाले वैदेशिक रोजगारमा जान लागेको’ भन्ने उद्योग बन्द गर्नुका कारण देखाउने गरेका छन् ।
प्रदेशका पहाडी जिल्लामा खुल्ने भन्दा बन्द हुने उद्योग बढी रहेको सूचना अधिकारी सुवेदीले बताए । उनका अनुसार लुम्बिनीमा लगत कट्टा गराउने घरेलु तथा साना उद्योगमध्ये रुपन्देहीमा चार सय २६ वटा, बाँकेमा तीन सय नौ वटा, नवरपरासी पश्चिममा दुई सय १७ वटा, कपिलवस्तुमा दुई सय ६५ वटा छन् ।
यसैगरी दाङमा चार सय ४४ वटा, बर्दियामा दुई सय ७० वटा, पाल्पामा दुई सय ३३ वटा, गुल्मीमा दुई सय ६२ वटा, अर्घाखाँचीमा २३ वटा, प्युठानमा ७१ वटा, रोल्पामा एक सय ४२ वटा र रुकुम पूर्वमा २८ वटा घरेलु तथा साना उद्योगको लगत कट्टा भएको मन्त्रालयको वार्षिक तथ्याङ्कमा उल्लेख गरिएको छ ।
एक वर्षको अवधिमा लुम्बिनीमा सात हजार सात सय ४७ वटा घरेलु तथा साना उद्योग नवीकरण गरिएको सूचना अधिकारी सुवेदीले जानकारी दिए । उनका अनुसार तीन हजार पाँच सय ४१ वटा उद्योगको अन्य संशोधन गरिएको छ । अन्य संशोधनमा स्थान परिवर्तन, थप लगानीलगायतका संशोधान रहेको मन्त्रालयले जनाएको छ ।
यसैगरी आर्थिक वर्ष ०८१÷०८२ मा प्रदेशका १२ वटै जिल्लामा तीन हजार सात सय ६३ वटा वाणिज्य फर्म थपिए मन्त्रालयको वार्षिक तथ्याङ्कमा उल्लेख गरिएको छ । वार्षिक तथ्याङ्क अनुसार रुपन्देहीमा एक हजार एक सय ६३ वटा, बाँकेमा सात सय १२ वटा, नवलपरासी पश्चिममा तीन सय ८६ वटा, कपिलवस्तुमा तीन सय ७४ वटा वाणिज्य फर्म थपिएका छन् ।
यसैगरी दाङमा पाँच सय ७९ वटा, बर्दियामा दुई सय ४९ वटा, पाल्पामा ७५ वटा, गुल्मीमा ५२ वटा, अर्घाखाँचीमा २९ वटा, प्युठानमा ५५ वटा, रोल्पामा ५६ वटा र रुकुम पूर्वमा ३३ वटा वाणिज्य फर्म थपिएका छुन् । एक वर्षको अवधिमा दुई हजार छ सय ३४ वटा वाणिज्य फर्मको लगत कट्टा गरिएको छ । जसमध्ये रुपन्देहीमा दुई सय ४८ वटा, बाँकेमा पाँच सय २७ वटा, नवलपरासी पश्चिममा एक सय ६३ वटा, कपिलवस्तुमा एक सय ३७ वटा वाणिज्य फर्मको लगत कट्टा गरिएको छ ।
यसैगरी दाङमा पाँच सय ५५ वटा, बर्दियामा दुई सय ५२ वटा, पाल्पामा दुई सय ६९ वटा, गुल्मीमा तीन सय २१ वटा, अर्घाखाँचीमा आठ वटा, प्युठानमा ४९ वटा, रोल्पामा ९४ वटा र रुकुम पूर्वमा ११ वटा वाणिज्य फर्मको लगत कट्टा गरिएको मन्त्रालयको वार्षिक तथ्याङ्कमा उल्लेख गरिएको छ ।
एक वर्षको अवधिीमा आठ हजार एक सय ६७ वटा वाणिज्य फर्म नवीकरण गरिएको मन्त्रालयसँग तथ्याङ्क छ । यसैगरी पाँच हजार आठ सय ३० वटा वाणिज्य फर्मको अन्य संशोधन गरिएको मन्त्रालयको वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ । नयाँ उद्योग तथा व्यवसायमा आकर्षण बढ्न नसकेको तथ्याङकले देखाएको छ । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८१÷०८२ मा व्यवसायमा आकर्षण बढाउन विविध योजना ल्याएको थियो ।
नयाँ दर्ता हुन आउने उद्योगलाई उद्योग दर्ता शुल्कमा ५० प्रतिशत छुट दिइएको थियो भने आधा छुट पाउनेमध्येमा पनि अपाङ्ग, महिला, दलितका लागि थप ५० प्रतिशत छुटको व्यवस्था गरिएको थियो । यसरी छुट दिँदा पनि व्यवसाय दर्ताप्रति आकर्षण बढ्न नसकेको सूचना अधिकारी सुवेदीले बताए ।