‘पढाईमा असर पर्ने गरि हुने दरबन्दी मिलान स्वीकार्य हुन्न’

दाङ,२८ साउन । विद्यालयको पढाईमा असर पर्ने गरि हुने दरबन्दी मिलन मान्य नहुने माध्यमिक बिद्यालय सौडियारले जनाएको छ ।

घोराही उपमहानगरपालिका–७ सौडियारले बिद्यालयलाई कुनै पनि खालको अहित हुने गरि हुन लागेको शिक्षक दरबन्दी मिलान स्विकार्य नहुने जनाएको छ । बिद्यालयको तर्फबाट बिज्ञप्ति जारी गर्दै शिक्षक दरबन्दी मिलानको नाममा हुन लागेको ब्यक्तिगत मिलान र त्यसमा पनि बिद्यालयको शैक्षिक बाताबरणमा नै असर गर्ने गरि हुन लागेको दरबन्दी मिलान मान्य नहुने विद्यालयले जनाएको छ ।

माध्यमिक विद्यालय सौडियारमा कक्षा ११–१२ समेत सञ्चालन भएको भन्दै कक्ष ११–१२ तर्फ पढाउने कुनै विषयगत शिक्षक नभएको अवस्थामा शिक्षक दरवन्दी कटान भए त्यो मान्य नहुने जनाएको छ । कक्षा ११–१२ को समेत पठनपाठन तल्लो तहबाटै हुँदै आइरहेको समयमा दरवन्दी कटाउने कुरा मान्य नहुने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निशानदाजु भट्राईले बताएका छन् ।

शिक्षा सुधारका लागि प्रयास गरिरहेको समयमा तल्लो तह पढाउने शिक्षक कटौती हुँदा त्यसको असर विद्यार्थीमा पर्ने भएकाले त्यसतर्फ ध्यानदिन समेत विद्यालयले सरोकारवाला निकायलाई आग्रह गरेको छ । विद्यालय जस्तो ठाउँमा राजनीति गरेर बालबालिकाको भविष्य अन्धकार बनाउन नहुने भन्दै राजनीतिक स्वार्थपुर्तीका लागि दरवन्दी मिलानको नाममा विद्यालयलाई कमजोर बनाउने खेल कुनै पनि हालतमा ठिक नहुने विद्यालयले जनाएको छ ।