दुई वर्षमा सात हजार बढी हेक्टरमा सिँचाइ सुविधा

बालाराम खड्का
तुलसीपुर, २२ साउन । दाङमा दुई वर्षको अवधिमा सात हजार छ सय ३२ हेक्टर जमिनमा थप सिँचाइ सुविधा विस्तार भएको छ । सिँचाइ सुविधा विस्तारसँगै जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय तुलसीपुर, दाङले दुई आर्थिक वर्षमा खेतीयोग्य जमिन तथा बस्ती जोगाउन जिल्लाका विभिन्न ठाउँमा ७२ दशमलव ७७ किलोमिटर नदी क्षेत्रमा तटबन्धसमेत गरेको जनाएको छ ।

आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक विकास कार्यक्रमको प्रगति तथा सेवा प्रवाहसम्बन्धी सार्वजनिक सुनुवाइ कार्यक्रममा डिभिजन प्रमुख कृष्णबहादुर विकले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै यो अवधिमा एक सय ३१ वटा सिँचाइ बाँध, मुहान संरक्षण, एक सय ६२ दशमलव ७२ किलोमिटर पक्की नहर निर्माण, १२ हजार पाँच सय ४६ दशमलव ८८ हेक्टर जमिन तथा आठ हजार छ सय ५८ घरधुरी तट्बन्धबाट सुरक्षित भएको बताए । उनका अनुसार आर्थिक वर्ष २०८१÷०८२ मा दुई सय ६९ वटा योजना सम्पन्न भएका छन् । कुल दुई सय ७१ वटा योजनामध्ये दुई सय ६९ वटा योजना सम्पन्न गरेको डिभिजन प्रमुख विकले जानकारी दिए ।

गत आर्थिक वर्षमा जल उत्पन्न प्रकोप न्यूनीकरण तथा व्यवस्थापन कार्यक्रम अन्तर्गत ७ वटा योजना, सिँचाइ आयोजना मर्मत सुधार तथा विस्तार कार्यक्रम अन्तर्गत एक सय ४५ वटा, मझौला तथा वैकल्पिक प्रविधिमा आधारित सघन सिँचाइ कार्यक्रममा ३२ योजना र जलाशय निर्माण तथा पोखरी संरक्षण कार्यक्रममा पाँच वटा योजना सम्पन्न गरेको र दुई वटा योजना कार्यान्वयन हुन नसकेको जानकारी गराइएको थियो । आर्थिक वर्ष २०८१÷०८२ मा मझौला तथा वैकल्पिक प्रविधिमा आधारित सिँचाइ बाँध मुहान पाँच वटा, पक्की नहर कुलो पाँच दशमलव ५९ किलोमिटर निर्माण, पाइप लाइन दुई दशमलव ९८ किलोमिटर विस्तार, सिँचाइ संरचना सुदृढीकरण तीन हजार छ सय ३१ हेक्टर क्षेत्रफल रहेको बताएको छ । कार्यालयले सिँचाइ आयोजना मर्मत, सुधार तथा विस्तार अन्तर्गत १३ वटा सिँचाइ बाँध मुहान, पक्की नहर र कुलो १३ दशमलव १३ किलोमिटर, पाइप लाइन विस्तार एक दशमलव ५४५ किलोमिटर, सिँचाइ संरचना सुदृढीढकरण तीन हजार ३६ दशमलव ७० हेक्टर गरेको जनाएको छ ।

जल उत्पन्न प्रकोप न्यूनीकरण तथा व्यवस्थापन अन्तर्गत नदीमा नियन्त्रण तटबन्ध निर्माण सात दशमलव २८ किलोमटिर, तटबन्धबाट सुरक्षित दुई सय ४६ दशमलव ८८ हेक्टर जमिन र जलासय निर्माण तथा पोखरी संरक्षण ५२ दशमलव ५० हेक्टर रहेको प्रमुख विकले जानकारी दिए । कार्यालयले विनियोजित वार्षिक बजेटको ९२ दशमलव ३८ प्रतिशत रकम खर्च भएको जानकारी दिएको छ । गत आर्थिक वर्षमा कार्यालयले ३४ करोड २४ लाख २८ हजार रुपैँयाँ वार्षिक बजेट विनियोजन गरेकोमा ३३ करोड १५ लाख ९१ हजार नौ सय ५५ रुपैयाँ खर्च भएको जनाएको छ ।

कार्यालयले बहुवर्षीय सिँचाइ आयोजनामध्ये गत आर्थिक वर्षमा दुई वटा ठेक्का लगाएको र एउटा चालु आर्थिक वर्षका लागि बोलपत्र आह्वान गरेको जनाएको छ । जस अन्तर्गत झिङ्नी बबई सिओ, घोराही–३ मा ५३ हेक्टर जमिन सिँचित हुनेछ । यसैगरी घारीचौर सिँचाइ योजना बंगाचुली–७ मा ४० हेक्टर र बस्तीखोला सिँचाइ योजना शान्तिनगर–३ र ४ मा तीन सय ९० हेक्टर जमिन सिँचित हुनेछ । कार्यक्रममा डिभिजन प्रमुख विकले प्रदेश स्थापनापश्चात् जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले गरेको कामबारे जानकारी गराएका थिए ।

कार्यक्रममा उनले कार्यालयको वार्षिक प्रगतिसँगै कार्यालयबाट प्रवाह हुने सेवाबारे जानकारी गराएका थिए । गत आर्थिक वर्षसम्म पाँच लाख रुपैयाँसम्मका टुक्रे योजनाहरू कार्यान्वयनमा लैजान समस्या भएकाले चालु आर्थिक वर्षदेखि १० लाख रुपैयाँभन्दा माथिका योजना योजना कार्यान्वयनमा लैजाने भएकाले सहज हुने बताएका थिए । कार्यक्रममा तुलसीपुर–१३ का वडा अध्यक्ष मोहनलाल पौडेल, १२ नं. वडाध्यक्ष खुसीराम चौधरी, ९ नं. वडाध्यक्ष घनश्याम ढकाल, प्रेस युनियका दाङका अध्यक्ष नारायण खड्कालगायतले बोलेका थिए ।