दाङ,२१ साउन । घोराहीमा आँफुलाई प्रहरीको असइ बताउने ब्यक्तिको कोठाबाट चोरीको मोवाइल फेला परेपछि दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरि बुधबार कालिकोट जिल्लाको तिलागुफा नगरपालिका–१ घरभइ घोराही– १५ शिववस्ती टोलमा बस्दै आएका २७ बर्षीय जगत शाही र जुम्ला जिल्ला हिमा गाउँपालिका–६ घरभइ घोराही– १५ शिववस्ती टोलमा बस्दै आएका २९ बर्षीय दिपक अधिकारीलाई पक्राउ गरेको हो ।
घोराही उपमहानगरपालिका–१४ शिद्धार्थ टोल निवासी गीता न्यौंपानेको डेरा कोठाबाट साउन १८ गते बिहान साढे ९ बजेतिर मोवाइल चोरी भएको थियो । ५६ हजार मूल्य बराबरको मोवाइल चोरी भएकै दिन न्यौपानेले दुई जना युवालाई आफ्नो कोठाबाट निस्कदै गरेको देखेकी थिइन । आफ्नो कोठामा मोबाईल फेला नपरेपछि न्यौपानेले चोरीको आशं गर्दै ती दुई युवालाई सोधपुछ गर्दा उनीहरुले आँफुलाई नेपाल प्रहरीको असई रहेको बताएका थिए । उनीहरुले आँफुहरुलाई चोरीको आरोप लगाउने भन्दै उल्टै न्यौंपानेलाई धम्की दिएका थिए ।
दुईमध्ये अधिकारीले आफ्नो मोबाइलमा नेपाल प्रहरीको पोशाक लगाएको (असईको फुली लगाएको) फोटो समेत देखाएका थिए । न्यौपानेलाई संकास्पद लागेपछि प्रहरीलाई जानकारी गराएपछि प्रहरीले दुवै जनालाई पक्राउ गरेर घट्नाका बारेमा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिएका छन् । उनका अनुसार प्रहरीले शाही र अधिकारीको कोठामा खान तलासी गर्ने क्रममा न्यौंपानेको हराएको मोवाइल उनीहरुकै कोठामा फेला परेको थियो । त्यसपछि प्रहरीले दुबै जनालाई नियन्त्रणमा लिएएर दाङ देउखुरी अदालतबाट पाँच दिनको म्याथथप गरेर घटना अनुसन्धान गरिरहेको छ ।