गणेश विश्वकर्मा
हालै मात्र, म चीनको राजधानी बेइजिङमा आयोजना गरिएको ″द्यभति बलम च्यबम ऋयगलतचष्भक‶ अवधारणाअन्तर्गत अन्तरदेशीय व्यापार तथा सहकार्यमा केन्द्रित एक अन्तर्राष्ट्रिय कार्यशाला गोष्ठी कार्यक्रममा नेपालको प्रतिनिधिमण्डलका सदस्यको हैसियतमा सहभागी हुन पाएको थिए। तीन साता लामो कार्यशाला गोष्ठीमा नेपाल, दक्षिण अफ्रिका, केन्या, इथोपिया, नाइजेरिया, गाम्बिया, अल्बानिया, इजिप्टसहित आठ देशको प्रतिनिधिमण्डल सहभागीता रहेको थियो।
कार्यशाला गोष्ठीले केवल चीनको भौतिक विकास मात्र होइन, त्यो देशको सामाजिक अनुशासन, नीतिगत स्पष्टता, आत्मनिर्भरता र दूरदृष्टिलाई पनि गहिरो रूपमा बुझ्ने अवसर प्रदान ग¥यो। नेपालका दुर्गम गाउँबाट अन्तर्राष्ट्रिय फोरमसम्म पुग्नु आफैंमा एउटा प्रेरणादायी यात्रा थियो। त्यो यात्राले मलाई विश्व परिवेश बुझ्न, राष्ट्र निर्माणमा आवश्यक चेतना निर्माण गर्न र व्यक्तिगत रूपमा पनि गम्भीर आत्ममूल्यांकन गर्न बाध्य बनायो।
चीनको भौतिक विकासले झस्कायो तर सामाजिक अनुशासनले झन् गहिरो प्रभाव पा¥यो । विमानस्थलदेखि सहरका सडकसम्म, विश्वविद्यालयदेखि उद्योगसम्म र सामान्य नागरिकदेखि नीति निर्मातासम्म सबैको साझा विशेषता थियो । अनुशासन, समर्पण र नीतिप्रति स्पष्ट प्रतिबद्धता। त्यहाँ हरेक नागरिक नियम पालना गर्न कटिबद्ध देखिन्थे। सडक पार गर्दा संकेत पालना गर्नु, सार्वजनिक स्थानमा अनुशासन पूर्वक बस्नु र आफ्नो समयको सम्मान गर्नु उनीहरूको संस्कार बनिसकेको थियो ।
योजनाबद्ध रुपमा विकसित बेइजिङ शहरका खुला व्यायामस्थल, सार्वजनिक पार्क, साइकल ट्र्याक र फोहोर व्यवस्थापन प्रणालीहरूले नागरिकमैत्री सोच झल्काउँथे। जुनसुकै उमेरका नागरिक पनि व्यायाम, योग, वा सामूहिक नृत्यमा सहभागी भइरहेका देखिन्थे बिना कुनै बाह्य प्रेरणा। यसले मलाई सोच्न बाध्य बनायो के हामीकहाँ यस्ता अभ्यासहरू हाम्रो सामाजिक संस्कृतिको हिस्सा बन्न सक्छन् ?

चीन भ्रमणको क्रममा हामीले ूग्रेट वालू को अवलोकन ग¥यौं ।साम्राज्यकालीन चीनको साहस, सुरक्षा र समर्पणको भौतिक अभिव्यक्ति हो । त्यहाँ पुग्दा राष्ट्रप्रतिको निष्ठा कति गहिरो हुन सक्छ भन्ने कुरा प्रत्यक्ष महशुस गरियो । त्यस्तै, चीनका प्रथम राष्ट्रपति ‘चेयरम्यान माओ’को समाधिस्थल अवलोकनले समाजवाद, सामूहिकता र चीनको राजनीतिक चेतनाको जरो कहाँबाट सुरु भएको हो भन्ने कुरामा गहिरो सन्देश दिएको छ ।
भ्रमणको अर्को महत्त्वपूर्ण पाटो थियो शैक्षिक, औद्योगिक र कृषि क्षेत्रको अवलोकन। हामीले विभिन्न विश्वविद्यालय र औद्योगिक पार्कहरूमा अध्ययन अवलोकन गर्ने अवसर पायौं। चीनले विज्ञान, प्रविधि, अनुसन्धान र नवप्रवर्तनमा गरेको लगानी देखेर म अचम्मित भएँ। कृषि क्षेत्रमा, एकीकृत तथा प्रविधिमैत्री प्रणालीमार्फत खाद्य आत्मनिर्भरता कायम गरिएको देखियो। पेसागत शिक्षालाई प्राथमिकता दिँदै, उत्पादकत्वमा जोड दिइएको थियो।
युवाहरूको सशक्तिकरण र नेतृत्व विकासको दृष्टिले पनि चीनको मोडेल सिक्न योग्य छ। प्रविधि शिक्षामा लगानी, युवामैत्री नीति र रोजगारमुखी तालिम कार्यक्रमहरूले उनीहरूलाई राष्ट्रिय निर्माणको मेरुदण्ड बनाएको स्पष्ट थियो। यसले मलाई नेपालमा पनि युवालाई उपेक्षा होइन, अवसर दिनुपर्छ भन्ने भावना थप बलियो बनायो।

सांस्कृतिक दृष्टिले चीन अझै पनि मौलिक परम्परालाई जोगाउँदै अघि बढिरहेको देखियो । हामीलाई बिदाइको दिन आयोजक संस्थाले मायाको चिनो स्वरूप चिनियाँ परम्परागत कला झल्किने माटोबाट निर्मित कपहरू उपहारस्वरूप प्रदान गरे। त्यो केवल एक सस्तो उपहार थिएन, त्यो थियो उनीहरूको सांस्कृतिक गर्वको प्रतीक। यसको गहिरो सन्देश थियो । साँस्कृतिक पहिचान जोगाएर पनि आत्मनिर्भर बन्न सकिन्छ ।
नेपालमा भने उल्टो अवस्था देखिन्छ । कुनै पनि औपचारिक वा अर्धऔपचारिक कार्यक्रममा प्राय विदेशी सामानले बनेका, मूल्य नभएका तर मूल्यवान देखिने वस्तुहरू मायाको चिनोका नाममा वितरण गरिन्छन् । यसले हाम्रो मौलिक हस्तकला, संस्कृति र पहिचानप्रतिको बेवास्तालाई देखाउँछ । मैले चीनबाट फर्केर एक कुरा गहिरो महसुस गरे, अब हामीलाई आत्मसम्मान र स्वदेशी उत्पादनको कदर आवश्यक छ ।
चीनको विकास यात्राको मूल सूत्र हो, अनुशासन, योजना र दीर्घकालीन सोच हो । उनीहरूले आजका लागि होइन, भविष्यका पुस्ताका लागि योजना बनाएका छन्। विश्वविद्यालयहरूमा अनुसन्धानमैत्री वातावरण छ, उद्योगमा नवीनता छ, सरकारमा स्पष्ट नीति छ र जनतामा राष्ट्रप्रतिको गहिरो आस्था छ ।
त्यहाँको औद्योगिक पार्कहरूमा युवाहरू साना–साना स्टार्टअपबाट सुरु गरेर विश्व बजारसम्म प्रतिस्पर्धा गर्न सक्ने वातावरण पाएका छन् । सरकारको सघन सहयोग, अनुदान र संरक्षण नीतिले साना उद्यमहरूलाई मजबुत बनाएको छ । शिक्षा, स्वास्थ्य, प्रविधि र कृषि सबै क्षेत्रमा समान रूपले लगानी भएको देखिन्छ ।

नेपाल जस्तो मुलुकको सन्दर्भमा चीनको यो अभ्यास प्रेरणादायी छ । तर अन्धो नक्कल होइन, आफ्नो भूगोल, संस्कृति र आवश्यकता अनुरूप सन्दर्भ विश्लेषण गरेर अभ्यासमा रूपान्तरण गर्न सक्नुपर्छ। हामीसँग कृषि सम्भावना, जलस्रोत, युवा जनशक्ति, मौलिक संस्कृति र हस्तकलाको अपार सम्भावना छ। तर नेतृत्वको दूरदृष्टि, नीति कार्यान्वयनको इच्छाशक्ति र नागरिक सचेतना कमजोर छ ।
चीनबाट फर्केर म यही निष्कर्षमा पुगेँ , समृद्धि चमत्कार होइन, त्यो दीर्घकालीन योजना, कठोर परिश्रम, अनुशासन र निरन्तर अभ्यासको परिणाम हो। त्यो हाम्रो देशमा पनि सम्भव छ, यदि हामीले संकल्प ग¥यौं भने।
नेपालको समृद्धिको सपना देख्नुभन्दा पहिले हामीले वास्तविकता चिन्नुपर्छ । हाम्रो कमजोरी कहाँ छ ? हामी किन पछि परिरहेका छौं ? चीनले आफ्नो आत्मबल र आत्मविश्वासमार्फत राष्ट्र निर्माण गरिरहेको छ भने हामी किन असहाय र परनिर्भरतामा रमाइरहेका छौं ? अब नेतृत्वले जिम्मेवारी लिने बेला आएको छ । प्रत्येक नगरिकहरुले राज्यप्रतिको आफ्नो दायित्व निर्वाह सचेतापूर्वक गर्नुपर्छ ।
नीतिहरूमा स्पष्टता, कार्यान्वयनमा द्रुतता, युवामा लगानी र स्वदेशी उत्पादनमा गर्वको भावना आवश्यक छ। युवाले अब अवसरको पर्खाइ होइन, सृजनाको बाटो रोज्नुपर्छ। प्रत्येक गाउँ, नगर र समुदायबाट नै आत्मनिर्भर राष्ट्रको आधार निर्माण गर्न सकिन्छ ।
यस अन्तर्राष्ट्रिय भ्रमणले मलाई केवल नयाँ देश घुमाउने अवसर दिएको छैन, यसले मेरो सोच, दृष्टिकोण र संकल्पमा आमूल परिवर्तन ल्याएको छ । अब म फर्किएको छु,सङ्कल्पसहित, जिम्मेवारीसहित, परिवर्तनको चेतनासहित । मेरो देश, मेरो समाज, मेरो गाउँलाई अगाडि बढाउने अभियानमा यही सिकाइ, अनुभव र ऊर्जा सुम्पन तयार छु ।
(लेखक गणेश विश्वकर्मा राजनीतिक र सामाजिक रूपमा सक्रिय युवा अभियन्ता हुनुहुन्छ। उहाँ हालै द्यभति बलम च्यबम ऋयगलतचष्भक अवधारणाअन्तर्गत चीनको बेइजिङमा सम्पन्न अन्तर्राष्ट्रिय गोष्ठीमा नेपाली प्रतिनिधिमण्डलका सदस्यको रूपमा सहभागी हुनुभएको थियो ।)