गोरखापत्र स्थापनाको दिनलाई पत्रकारिता दिवसका रुपमा मनाउन थालेको धेरै भएको छैन । यद्देपी गोरखापत्र प्रकाशन भएको सय बर्ष काटिसकेको छ । राज्यले नेपालको पत्रकारिता प्रारम्भ भएको दिन मानेर बैशाख २४ लाई पत्रकारिता दिवसका रुपमा मनाउने शुरुवात गरेको हो । यो आफैमा महत्वपूण र उचित कदम थियो । पत्रकारिता दिवसलाई राज्यवाट समेत मनाउने कुराले यो क्षेत्रलाई उत्साहित तुल्याउने नै भयो । पाँच बर्षदेखि राज्यले औपचारिक कार्यक्रमको आयोजना गर्दै मनाउन थालेको भएता पनि यो बर्ष कोराना संक्रमणका कारण भएको लकडाउनले गर्दा त्यो संभव भएन । तर पनि यो दिनको महत्व र यो दिवसले दिने उर्जा तथा प्रेरणामा भने कुनै कमी हुने छैन ।
बिक्रम संवत १९५८ बैशाख २४ गते गारखापत्र साप्ताहिक पत्रिकाका रुपमा प्रकाशन प्रारम्भ भएको थियो । आज गोरखापत्र दैनिकका रुपमा निरन्तर प्रकाशन भैरहेको छ । नेपालका हरेक घटनाक्रमको लामो समयदेखिको साक्षिका रुपमा रहेको गोरखापत्र प्रकाशनको अनुभवले नै नेपालमा अन्य पत्रिकाहरुको प्रकाशन आरम्भका लागि प्रेरणा दिएको कुरामा कसैको फरक मत हुँदैन होला । संचारमाध्यम लामो सयमसम्म संचालन हुन्छन् भन्ने आधारमा संचार नीति तथा यो क्षेत्रमा गरिने लगानीलाई सुनिश्चित गर्नका लागि यो दिनले पक्कै प्रेरणा दिने छ । त्यसैगरी यो क्षेत्रलाई आकर्षणको क्षेत्रका रुपमा विकास गर्नका लागि पनि सरोकारवालाले योजना बनाउने हो भने संस्थाको निरन्तरता संभव रैछ भन्ने कुराको एउटा उदाहरण पनि गोरखापत्र भएको छ । नेपालको पत्रकारिताले यहाँको राजनीतिक, आर्थिक, सामाजिक रुपमान्तरणका लागि अत्यन्त महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । नागरिकको शसक्तिकरण गर्ने अभियानमा पनि पत्रकारिताले महत्वपूण योगदान दिएको छ । त्यसैगरी यो क्षेत्र नागरिकले सबै भन्दा बढी बिश्वास गर्ने क्षेत्रका रुपमा रहेको छ । सही सूचना प्रवाह गर्दै पारदर्शी समाज बनाउने कामले नै राज्यका हरेक गतिबिधिमा नागरिक चासो बढ्छ र नागरिक चासो बढ्यो भने लगत काम र सोंच निरुत्साहित हुन्छन् वा कसैले बद्मासी ग¥यो भने त्यो ‘एक्स्पोज’ भै हाल्छ । पछिल्लो उदाहरणको रुपमा कोरोना परीक्षणका लागि कम गुणस्तरका स्वास्थ्य सामान खरिदको प्रयासलाई हेर्न सकिन्छ । पत्रकारिताले त्यो तथ्य बाहिर ल्याइदिए पश्चात सरकारले संझौता रद्द ग¥यो । अनी त्यो केशलाई अख्तिायारले हेर्न थालेको छ । यो एउटा पछिल्लो उदाहरण मात्र हो । यसरी पत्रकारिताले स्वार्थी समूहका बद्तिनयत छताछुल्ला पारिदिएका उदाहरणहरु प्रशस्त छन् ।
अध्ययन अनुसन्धानले देखाएका छन् कि जहाँ प्रेस स्वतन्त्र छ, त्यहाँ कसैले खान नपाउने अबस्था हुँदैन । नेपालका दुई घटना, भूकम्पको समयमा र अहिले कोरोनाका कारण लकडाउनको समयमा राहतको जुन ढंगले वितरण भयो, त्यसमा पत्रकारिताको महत्वपूर्ण योगदान छ । यो पक्षलाई मष्तिस्कमा राखेर पत्रकारितासंग सम्बन्धित नीति बनाउने र पत्रकारितालाई बुझ्ने गर्न सक्नु पर्दछ । प्रेस स्वतन्त्रताको अभ्यास सहितको पत्रकारिता आजको आबश्यकता हो । त्यो नै असली पत्रकारिता हो । कानुन बनाएर पत्रकारितालाई संकुचनमा ल्याउने राज्यका प्रयासहरु अहिले सुस्ताएका छन् । यो पत्रकारिता दिवसले ती प्रयासहरुलाई खारेज गर्न नै गर्नका लागि सबैमा सुझबुझ जगाइदिन सक्ने बिश्वास गरौं । सबैमा स्वतन्त्र, आलोचनात्मक चेत सहितको पत्रकारिताको पक्षमा दृढताका साथ उभिन सक्ने क्षमताको विकास होस्, हार्दिक शुभकामना ।