‘बाह्रकुने दह प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य बन्नपर्छ’

गोरक्ष समाचारदाता
दाङ, १६ साउन । लुम्बिनी प्रदेश सरकारका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले बाह्रकुने दह लुम्बिनी प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य बन्नुपर्ने बताएका छन् ।

बराह क्षेत्र संरक्षण तथा संवर्धन धार्मिक समितिले बाह्रकुने दहमा निर्माण गरेको व्यावसायिक भवनको उद्घाटन गर्दै मन्त्री न्यौपानेले जिल्लामा प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको बाह्रकुने दहलाई स्तरोन्नति गरी प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य बनाउनु पर्ने बताएका हुन् ।

प्रमुख अतिथि रहेका मन्त्री न्यापानेले प्रदेशकै प्रशिद्ध धार्मिक र पर्यटकीय क्षेत्र बाह्रकुने दहको दिगो विकासको आधारका रूपमा समितिले व्यावसायिक भवन निर्माण गरेकोमा प्रशंसा गर्र्दै बाह्रकुने दह, ज्यामिरे दह र मौलाकोटलाई समेटेर आकर्षक पर्यटकीय क्षेत्रको रूपमा विकास गर्नपर्ने बताए । उनले त्यसका लागि मन्त्रालय सहकार्य गर्न तयार रहेको बताए ।

कार्यक्रममा नवनिर्मित भवन ३६ लाख ११ हजार दुई सय रुपैयाँ लागतमा निर्माण भएको कोषाध्यक्ष धनराज पुनले जानकारी दिए । नव निर्मित आठकोठे भवन व्यावसायिक प्रयोजनको लागि प्रयोग गरिने समितिका सचिव शिव घर्तीले जानकारी दिए । यसले मन्दिरको आम्दानीको स्रोत वृद्धि गर्ने अपेक्षा गरिएको छ ।

समितिले आफनै लगानीमा भवन निर्माण गरिएको हो । क्रमागत समितिका अध्यक्ष देवबहादुर घतपर््को अध्यक्षता एवम् उद्योग, पर्यटन तथा यातायात मन्त्रीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला उपसभापति कमानसिंह भारती, घोराही उपमहानगरपालिका–१४ का वडाध्यक्ष भानसिंह बुढा, नगर पर्यटन प्रवर्धन समितिका सदस्य तथा महेन्द्र बहुमुखी क्याम्पसका उपप्राध्यापक सुन्दर गौतम, १३ नं. वडा सदस्य रामकली गुरुङ, समितिका सल्लाहकार तथा १३ नं.का पूर्व वडाध्यक्ष रविलाल घर्तीले मन्तव्य व्यक्त गरेका थिए ।
त्यसैगरी नेपाल मगर संघ जिल्ला समन्वय समितिका अध्यक्ष मुक्त बुढा, बराह क्षेत्र मावि सेवार बनगाउँ विद्यालय व्यवस्थान समितिका अध्यक्ष केशव गिरी, बराह क्षेत्र खानेपानी तथा सरसफाइ समितिका अध्यक्ष गोकर्ण गरी, अम्बिकेश्वरी मन्दिर संरक्षण तथा संवर्धन समितिका अध्यक्ष नारायणप्रसाद अधिकारीलगायतले धार्मिक संरक्षण र पर्यटकीय क्षेत्र विकासमा टेवा पु¥याउन आआफनो तर्फबाट लाग्ने प्रतिबद्धता जनाएका थिए ।

कोषाध्यक्ष धनराज पुनको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव घर्ती मगरले गरेका थिए । कार्यक्रममा राजनीतिक दल, धार्मिक तथा स्थानीय संघसंस्थाका प्रमुख, पत्रकार, वडा जनप्रतिनिधिलगायतको सहभागिता रहेको थियो । उद्घाटन कार्यक्रम अघि परम्परागत रूपमा गर्दै आएको पानी माग्ने पूजा अर्थात् बराह देवतामार्फत वरुण देवताको भव्य पूजा सम्पन्न गरिएको समितिले जनाएको छ ।