भवन निर्माणमा उर्जा प्रभावकारी प्राथमिकता

बालाराम खड्का
तुलसीपुर, १६ साउन । घर तथा भवन निर्माण गर्दा बलियो र भुकम्प प्रतिरोधी मात्र नभई उर्जा प्रभावकारी भवन निर्माणमा जोड दिन थालिएको छ । त्यसका लागि तुलसीपुर उपमहानगरपालिकाले उर्जा प्रभावकारी भवन निर्माणका लागि प्राविधिक तथा मिस्त्रीलाई तालिम दिन सुरु गरेको छ ।

तुलसीपुर उपमहानगरपालिका भवन अनुमति तथा मापदण्ड कार्यान्वयन शाखाका प्रमुख इन्जिनियर श्रीनारायण चौधरीले घर तथा भवन निर्माण गर्दा त्यसको सुरक्षासँगै स्वस्थतामा ध्यान दिन आवश्यक रहेकाले पहिलो पटक प्राविधिकलाई उर्जा प्रभावकारी भवन निर्माणसम्बन्धी तालिम दिइएको बताए ।

तुलसीपुर उपमहागरपालिका र लमही नगरपालिकाका गरी करिब ३५ जना प्राविधिक र इन्जिनियरलाई तीनदिने तालिम दिइएको भन्दै यस अघि घर निर्माण गर्ने मिस्त्रीलाई समेत तालिम दिइएको बताए । गर्मीको समयमा घर वा कार्यालयमा बस्दा अधिकांशले पङ्खा, एसी, कुलरको प्रयोग बढी हुन्छ । यसैगरी जाडो मौसममा बिजुली वा ग्यासबाट चल्ने हिटर, ब्यायलर, हिट पम्प लगाएर कोठा तताउने गरिन्छ । जाडो र गार्मी मौसममा कसरी स्वस्थ र उर्जा खपतबाट घरलाई बस्नलायक बनाउन सकिन्छ भन्नेतर्फ आफूहरू लागेको इन्जिनियर चौधरीले बताए ।

‘हामी भूकम्प प्रतिरोधी घर मात्र बनाउने भन्नेमा लागेका थियौँ तर थोरै डिजाइन तथा छुटेको प्रविधिलाई जोडेर उर्जा प्रभावकारी भवन निर्माणतर्फ लागेको छौँ’, उनले भने । उनले त्यसका लागि तुलसीपुर उपमहानगरपालिकाले कार्यविधि निर्माण गरेर लागु गर्न थालेको बताए ।

मानिसको सुरक्षाका लागि होस् या सहज जीवन सञ्चालन, उद्योग व्यवसाय सञ्चालन या सार्वजनिक कार्यहरू गर्न, घर वा भवनको निर्माण गर्ने गरिन्छ । सामान्यतः एकपटक निर्माण गरिएको पक्की घर दुई÷तीन पुस्तासम्म रहने हुँदा निर्माण गर्दा नै वातावरणमैत्री, स्वास्थ्यमैत्री तथा ऊर्जामैत्री घर बनाउनेतर्फ ध्यान दिनुपर्ने प्राविधिक बताउँछन् ।

आधुनिक जीवनशैलीले नेपालमा भवन क्षेत्रमा ऊर्जाको खपत बढेको छ । घर अधिक चिसो वा तातो हुँदा अनेक स्वास्थ्य समस्या आउने मात्र नभई मानिसको उत्पादनशीलतासमेत घट्ने गर्छ । पछिल्लो समयमा तराई, पहाड र हिमाली क्षेत्रमा एउटै खालको कङ्क्रिटका घर निर्माण गरिएका छन् ।

गर्मी र जाडो ठाउँमा निर्माण हुने घर एकै खालको हुनु हुँदैन । यसले गर्दा कतै घर तताउन र कतै चिसो राख्न अतिरिक्त ऊर्जाको खपत बढ्ने गरेको छ । भवन निर्माण गर्दा स्थानीय मौसम अनुकूलन र ऊर्जा दक्ष वातानुकूलित प्रणालीको प्रयोगमा ध्यान दिनुपर्ने इन्जिनियर चौधरीको भनाइ छ । तुलसीपुर उपमहानगरपालिकामा उर्जा प्रभावकारी भवन निर्माण स्वीकृतिसम्बन्धी कार्यविधि, २०८१ निर्माण भएको छ ।

तुलसीपुर उपमहानगरपालिका क्षेत्रभित्र भवन निर्माण स्वीकृति प्रक्रियामा उर्जा प्रभावकारितासमेत कायम गरी पर्यावरणमैत्री भवन बनाउन इच्छुक घरधनीलाई सहजीकरण गर्न तथा सबै सरकारी तथा सार्वजनिक प्रयोगका भवनमा त्यस्तो प्रविधिको प्रयोगलाई ऐच्छिक गरी उदाहरणको रूपमा स्थापित गर्नुपर्ने भएकाले े तुलसीपुर उपमहानगरपालिका नगरकार्यपालिकाको बैठकले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ दफा ११ (२) देहाय ६को (५) सङ्घीय तथा प्रदेश कानूनको अधीनमा रही सहरी विकास, बस्ती विकास र भवनसम्बन्धी नीति, कानून र मापदण्ड तथा सो सम्बन्धी योजना तर्जुमा, आयोजना पहिचान, अध्ययन कार्यान्वयन र अनुगमनको अधिकार तथा दायित्व बमोजिम यो कार्यविधि पारित गरी लागु गरेको छ ।

उर्जा प्रभावकारी भवन निर्माणमा प्राविधिकको सिप तथा क्षमता अभिवृद्धिका लागि तुलसीपुरमा आयोजित तीनदिने तालिमको समापन कार्यक्रममा बोल्दै तुलसीपुर उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत केशवराज पार्धेले विशेष गरी भूकम्पपछि मानिसले बलिया र सुरक्षित भवन निर्माण गर्नतर्फ चासो राखे पनि स्वस्थ छ वा छैन भन्नेतर्फ ध्यान दिन नसकेको बताए ।

उनले स्वस्थ भवन भए मात्रै त्यहाँ बस्ने मानिस स्वस्थ रहन सक्ने बताए । बिल्डिङ इनर्जी इफिसियन्सी ईन नेपाल (बिन) परियोजनाका इन्जिनियर अभिषेक कर्णले उर्जा प्रभावकारी भवन भनेर सुन्दै गर्दा नयाँ लागे पनि यो नयाँ अवधारणा मात्रै भएको बताए । भवन निर्माण गर्नुपूर्व कम खर्चमा उर्जा प्रभावकारी भवन निमार्ण गर्न सकिने भएकाले प्राविधिकसँग परामर्श लिन इन्जिनियर कर्णले सुझाए ।

तालिमका सहभागीले नयाँ प्रविधिमा भवन निर्माण हुँदै गर्दा उर्जा प्रभावकारी भवन निर्माणसम्बन्धी तालिमले आफूहरूमा थप क्षमताको विकास भएकाले सजिलो हुने बताएका थिए । बिन परियोजनाले अहिले लुम्बिनी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका ६० स्थानीय तहसँग सहकार्य गरिरहेको बिल्डिङ इनर्जी इफिसियन्सी इन नेपाल (बिन) परियोजनाका तुलसीपुर फोकल पर्सन सन्तोष भट्टराईले जानकारी दिए ।

महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकामा निर्माण हुने भवनहरू ऊर्जा प्रभावकारी बनाउन सकिए आर्थिक तथा सामाजिक क्षेत्रमा सकारात्मक प्रभाव पर्नुका साथै वातावरणीय लाभ पाउन सकिने प्राविधिक बताउँछन् ।