भरत विश्वकर्मा
रोल्पा, १५ साउन । रोल्पाका अधिकांश भेगका नागरिकले दूषित पानी पिउँदै आएको पाइएको छ । जिल्लाको सबै स्थानीय तहमा स्वास्थ्य कार्यालय रोल्पाले हालै गरेको खानेपानीको परीक्षणले करिब ७३ प्रतिशत नागरिकले दूषित पानी पिउँदै आएको तथ्याङ्क देखाएको छ ।
यसले गर्दा झाडापखला, आउ, हैजा जस्ता महामारीको प्रकोप फैलन सक्ने सम्भावना देखाएको छ । यहाँका नागरिकले पिउँदै आएको खानेपानीमा दिशामा पाइने ‘इकोलाई’ नामक जीवाणु पाइएको हो । स्वास्थ्य कार्यालयले जिल्लाको १० वटै स्थानीय तहमा गरेको परीक्षणबाट अधिकांश खानेपानी दूषित भएको पाइएको छ ।
जिल्लाको स्थानीय तहमा पुगेर २०८२ जेठदेखि असारसम्म परीक्षण गरिएको थियो । जिल्लाको स्थानीय तहमा करिब दुई सय खानेपानीको नमुना परीक्षण गरिएकोमा एक सय ४३ अर्थात् ७३ प्रतिशत नमुनामा दिशामा पाइने जीवाणु ‘इकोलाई’ देखापरेको स्वास्थ्य कार्यालय रोल्पाले जनाएको छ ।
जिल्लाका प्रत्येक स्थानीय तहमा २०÷२० वटा खानेपानीको नमुना परीक्षण गरिएकोमा सुनछहरी गाउँपालिकामा १५, सुनिलस्मृति गाउँपालिकामा १३, लुंग्री गाउँपालिकामा १५, रुन्टीगढी गाउँपालिकामा १६, गंगादेव गाउँपालिकामा १७, त्रिवेणी गाउँपालिकामा १५, माडी गाउँपालिकामा १५, परिवर्तन गाउँपालिकामा १६, थबाङ गाउँपालिकामा नौ र रोल्पा नगरपालिकामा १५ गरी एक सय ४६ मा ‘इकोलाई’ देखिएको स्वास्थ्य कार्यालय रोल्पाका ल्याब टेक्निसियन अधिकृत जितबहादुर डाँगीले जानकारी दिए ।
जिल्लाका १० वटै स्थानीय तहमा करिब दुई सय खानेपानीको नमुना जाँच गरिएकोमा अधिकांशमा ‘इकोलाई’ पोजेटिभ देखिएको उनले जानकारी दिए ।
‘परीक्षण गरिएको नमुनाहरूमा (इकोलाई) दिसामा पाइने किसिमका व्याक्टेरिया देखियो’, स्वास्थ्य कार्यालय रोल्पाका ल्याब टेक्निसियन अधिकृत डाँगीले भने, ‘यो (इकोलाई) देखिँदैमा फेरि सबै ‘इकोलाई’ले हामीलाई हानी नोक्सानी नै गर्छ भन्ने होइन्, कुनै प्रकारका इकोलाईले झाडापखाला, बान्ता गराउनेलगायत पेटसम्बन्धी समस्या निम्त्याउने खालका हुन्छन्, सबै ‘इकोलाई’ले झाडापोखला लगाउँछ भन्ने हुँदैन ।’
पानीमा दिसाजन्य पदार्थ, पशु वा मानवको दिसा मिसिएको हुन सक्ने उनी बताउँछन् । उनका अनुसार मानव शरीरमा रोगसँग लड्न सक्ने क्षमता धेरै हुने भएकाले सङ्क्रमण कम देखिने उनले बताए । उनले पानीलाई शुद्धीकरण गरेर वा उमालेर मात्र खान सुझाव दिए ।
जेठ, असार महिनामा परीक्षण गरिएकाले इकोलाईको मात्रा कम देखिएको तर वर्षाको समयमा यसको समस्या अझ बढी हुने स्वास्थ्यकर्मी बताउँछन् । पानीका पाइप फुट्ने, मुहान सरसफाइ नगर्नु जस्ता लापरवाहीले पानीमा स्कोलाई बढी देखिने स्वास्थ्यकर्मी बताउँछन् ।
पानीको परीक्षण नगरी पिउँदा धेरै नागरिकले अकालमै ज्यान गुमाउनु परेको छ । स्वास्थ्य कार्यालयले वर्षाको समय सुरु भएसँगै यसको विभिन्न जीवाणुहरू देखिने सम्भावना भएको भन्दै जुनसुकै पानी पिउन पिउनु अगावै शुद्धीकरण गरेर मात्र पिउन आग्रह गरेको छ । मुहान सरसफाइ र शुद्धीकरणबारे जनचेतना फैलाउन आवश्यक छ ।
पानीजन्य रोगहरू नेपालको प्रमुख जनस्वास्थ्य समस्या एवम् गम्भीर सरोकारको रूपमा रहेको छ । नेपालमा अझै पनि करिब ८५ प्रतिशत नागरिकले शुद्ध पानी खान पाएका छैनन् । दिगो विकासको लक्ष्यले स्वच्छ खानेपानी र सरसफाइको उपलब्धताका साथै यसको दिगो व्यवस्थापनको सुनिश्चितता गर्ने प्रत्याभूत गरे पनि धेरै नागरिक स्वच्छ खानेपानीको पहुँचमा पुग्न सकेका छैनन्् ।
नेपालमा अझै कतिपय नागरिक कुवाँ वा खोल्साको पानी पिउन बाध्य छन् । प्रशोधनबिनै पानी पिउने नागरिकको बाध्यताले महामारी निम्त्याउने जोखिम रहेको स्वास्थ्यकर्मी बताउँछन् ।
पानीको मुहान वरिपरि जथाभावी दिसापिसाव गर्ने, वर्षाको समयमा बाढीले ल्याएको फोहोर मिसिनु, जनावर तथा पशुपन्छी पानीका मुहान वरिपरि छाडा छाड्नु वा मरेका जनवार पानीको मुहान नजिक फाल्नु, पानीको मुहान वा बहाव क्षेत्रमा फोहोर थुपार्ने औद्योगिक क्षेत्र वा उद्योग कलकारखाना तथा स्वास्थ्य संस्थाबाट निष्कासित हानीकारक फोहोर सिधै मुहानमा मिसाउनुजस्ता क्रियाकलापले पानी प्रदूषित गराई विभिन्न प्रकारका महामारीको प्रकोप फैलन सक्ने सम्भावना रहने स्वास्थ्यकर्मीको भनाइ छ ।