नेविसंघद्वारा जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगिता, न्यौपाने प्रथम

दाङ, ९ साउन । नेपाल विद्यार्थी संघ दाङको आयोजनामा खुला जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

नेपाली कांग्रेसका सस्थापक, प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं महामानव बिपी कोइरालाको ४३ औँ स्मृति दिवसका अवसरमा शुक्रवार घोराहीस्थीत महेन्द्र बहुमुखी क्याम्पसमा वक्तृत्वकला प्रतियोगिता भएको हो ।

प्रतियोगितामा भुपेन्द्र न्यौपाने प्रथम, आयुष देवकोटा द्वितीय, मदन परियार तृतीय र तेजस्वी डाँगी सान्त्वना भएका थिए । प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्नेलाई १० हजार, द्वितीय स्थान पाप्त गर्नेलाई सात हजार पाँच सय, तृतीय स्थान प्राप्त गर्नेलाई पाँच हजार र सान्त्वना स्थान प्राप्त गर्नेलाई दुई हजार पाँच सय नगद र प्रमाणपत्र प्रदान गरिएको थियो ।

नेपाल विद्यार्थी संघ दाङका अध्यक्ष कुलराज पोख्रेलको अध्यक्षता तथा नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीको प्रमुख आतिथ्यतामा प्रतियोगिता भएको थियो । जिल्लास्तरीय बक्तृत्वकला प्रतियोगितामा २५ जना प्रतियोगी सहभागी रहेका थिए । प्रतियोगिताको निर्णायकमा डा. सुदीप गौतम, आदिम केसी र सन्ध्या रेग्मी रहेका थिए । नेविसंघले ‘शिक्षा विधेयक र विद्यार्थी आन्दोलन : किन जरुरी छ, आवाज उठाउन’ भन्ने विषयमा बक्तृत्वकला प्रतियोगिता आयोजना गरेको थियो ।

नेविसंघ दाङका सदस्ूय दिपेन्द्र खड्काको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सदस्य अर्जुन भट्टराईले गरेका थिए । नेविंघले ७७ वटै जिल्लामा बिपीको स्मृति दिवसको अवसरमा बक्तृत्वकला प्रतियोगिता आयोजना गरेको थियो ।