अमरराज आचार्य
दाङ, ९ साउन । जिल्लामा किसानलाई उत्पादनका आधारमा करिब ५० लाख रुपैयाँ अनुदान रकम उपलब्ध गराइएको छ । दुध र मासु उत्पादन गरेर बिक्री गरेको आधारमा किसानलाई ४९ लाख ९९ हजार रुपैयाँ अनुदान रकम वितरण गरिएको हो ।
भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङले आर्थिक वर्ष २०७५ देखि सुरु गरेको कार्यक्रम अहिले पनि जारी छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङले सहकारी तथा फर्ममार्फत् किसानलाई अनुदान दिने गरी यो कार्यक्रम सुुरु गरेको थियो ।
सहकारी तथा फर्ममा दूध तथा मासु उपलब्ध गराउने किसानको विवरण सङ्कलन गरेर त्यसैका आधारमा केन्द्रले किसानलाई अनुदान रकम उपलब्ध गराउने व्यवस्था छ । कार्यालयले दुधमा प्रतिलिटर दुई रुपैयाँ, जिउँदो खसी÷बोकामा प्रतिकेजी २५ रुपैयाँ, राँगा र बङ्गुरमा प्रतिकेजी १५÷१५ रुपैयाँ, माछामा प्रतिकेजी १० रुपैयाँ र अण्डामा प्रतिहजार गोटामा दुई सय ५० रुपैयाँका दरले अनुदान दिँदै आएको छ ।
किसानसम्मै पुग्ने सबैभन्दा प्रभावकारी अनुदान प्रतिफलमा आधारित अनुदान भएकोले प्रभावकारी भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका दाङका सूचना अधिकारी कृष्णकुमार न्यौपाने बताए । सहकारी तथा फर्म्मार्फत् किसान कै खातामा अनुदान रकम जाने गरेको सूचना अधिकारी न्यौपानेले बताउँछन् ।
किसानले अनुदान रकम पाए÷नपाएको बुझ्न बैंक स्टेटमेन्ट हेर्नुका साथै अनुगमन समेत गर्दै आएको सूचना अधिकारी न्यौपानेले बताए । ‘डेरी, फर्म अथवा सहकारीले किसानबाट लिएको दुध तथा मासुको विवरण अनुसार किसानलाई अनुदान रकम उपलब्ध गराउने व्यवस्था छ’, उनले भने, ‘अनुदान रकम पाउने किसानले तोकिएको मापदण्ड अनुसार दुध तथा मासुको कारोबार गरेकै हुनुपर्छ ।’
सहकारीको माध्यमबाट हुनेमा खसी बोका भेडा वार्षिक एक सयवटा, निजी ३० वटा, सहकारीमार्फत् बंगुर ४० वटा, राँगा २० वटा, माछा १० टन र माछा निजी क्षेत्रको एक हजार केजीको कारोबार भएको हुनुपर्छ ।
प्रतिफलमा आधारित अनुदानका लागि २३ आवेदन दर्ता गरेका थिए । आवेदक सङ्ख्यामध्ये फिल्ड भेरिफिकेसन तथा मूल्याङ्कन समितिबाट आठवटा अस्वीकृत भएका थिए । अनुदानको लागि स्वीकृत भएका १० सहकारी र पाँच निजी फर्म थिए । जसमा दुग्ध काराबार गर्ने ६ वटा सहकारी, मासुको कारोवार गर्ने चारवटा सहकारी परेका थिए । स्वीकृत भएका सहकारी तथा फर्म मार्फत रकम प्रदान गरिएको हो ।
पशु सेवा केन्द्र दाङले आवेदक पाँच पालिकाका सहकारी तथा फर्ममार्फत् अनुदान वितरण गरेको हो । दुधतर्फ आठ सय ४२ किसानलाई १६ लाख ५२ हजार रुपैयाँ अनुदानमा वितरण गरिएको छ । मासुतर्फ खसी÷बोकामा पाँच सय ६८ किसानलाई १३ लाख नौ हजार रुपैयाँ अनुदानमा वितरण गरिएको छ ।
यसैगरी अण्डा र माछातर्फ पाँच निजी फर्मलाई २० लाख ३८ हजार रुपैयाँ अनुदानमा वितरण गरिएको छ । कार्यालयका अनुसार दुग्ध उत्पादक सहकारी संस्था, लमही–३ मार्फत् एक सय ७७ किसानले उत्पादन गरेको एक लाख ४४ हजार लिटर दुधमा दुई लाख १८ हजार रुपैयाँ अनुदानमा वितरण गरिएको छ ।
हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थामार्फत् ८० जना किसानले उत्पादन गरेको एक लाख नौ हजार लिटर दुधका लागि दुई लाख ९९ हजार, बाघमारे सहकारी संस्था बबई–५ मार्फत् एक सय आठ किसानले उत्पादन गरेको एक लाख ७८ हजार लिटर दुधका लागि दुई लाख ६९ हजार रुपैयाँ अनुदानमा वितरण गरिएको छ ।
यसैगरी नीलकमल सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेड लमही–१ मार्फत् दुई सय ५३ किसानले उत्पादन गरेको तीन लाख ६५ हजार लिटर दुधमा पाँच लाख ५१ हजार, दीप कृषि सहकारी संस्था शान्तिनगर–२ मार्फत् एक सय सात किसानले उत्पादन गरेको एक लाख दुई हजार लिटर दुधको लागि एक लाख ५५ हजार र जनता बहुमुखी तथा दुग्ध उत्पादक सहकारी संस्था तुलसीपुर–१८ मार्फत् एक सय १७ किसानले उत्पादन गरेको एक लाख चार हजार लिटर दुधका लागि एक लाख ५७ हजार रुपैयाँ अनुदानमा वितरण गरिएको छ ।
खसी÷बोकातर्फ पशु सेवा दाङले ज्यामिरे सामाजिक उद्यमी महिला सहकारी संस्था–१३ मार्फत् ५७ किसानले उत्पादन गरेको आठ हजार किलो मासुबापत एक लाख ५५ हजार, कर्मठ सामाजिक उद्यमी महिला सहकारी संस्था लमही–९ मार्फत् ४२ हजार किलो मासु उत्पादन गरेका तीन सय ५६ किसानलाई आठ लाख सात हजार, समुन्नति सामाजिक उद्यमी महिला सहकारी संस्था लमही–२ मार्फत् १० हजार किलो मासु उत्पादन गरेका ६२ जना किसानलाई एक लाख ९४ हजार र नीलकमल सामाजिक उद्यमी महिला सहकारी संस्था लमही–१ मार्फत् आठ हजार किलो मासु उत्पादन गरेका ९३ जना किसानलाई एक लाख ५१ हजार रुपैयाँ अनुदानमा वितरण गरिएको छ ।
यसैगरी अण्डातर्फ दीपक कुखुरा फर्म दंगीशरण–५ लाई तीन लाख १७ हजार अण्डाबापत ५९ हजार रुपैयाँ अनुदान उपलब्ध गराइएको छ । माछातर्फ न्यू स्वर्गद्वारी कृषि फर्म लमही–३ लाई ६५ हजार किलो माछा उत्पादनबापत सात लाख ३८ हजार, लामा फिस हाउस लमही–३ लाई ४६ हजार किलो माछा उत्पादन गरेबापत पाँच लाख ३२ हजार, पोख्रेल माछा फर्म लमही–३ लाई ३९ हजार किलो माछा उत्पादनबापत चार लाख र निक मत्स्य पालन लमही–१ लाई २२ हजार किलो माछा उत्पादन गरेबापत दुई लाख ५६ हजार रुपैयाँ अनुदान रकम उपलब्ध गराइएको छ ।