तुलबहादुर कवँर मगर
सिसहनिया, ९ साउन । राप्ती गाउँपालिका– ५ थकरीकोटमा सोलार पम्प प्रणाली मर्मत भएपछि केही सातादेखि अवरुद्ध भएको खानेपानी सेवा पुनः सुचारु भएको छ ।
गत असार महिनाको अन्तिम सातामा सोलार कन्ट्रोलरमा विद्युत सर्ट भई जलेपछि सोलार लिफ्टिङ प्रणाली पूर्णरूपमा बन्द भएको थियो । जसका कारण गाउँमा खानेपानी आपूर्ति पूर्णरूपमा अवरुद्ध भएको थियो ।
राप्ती गाउँपालिकाले समस्या समाधानका लागि आवश्यक कन्ट्रोलर खरिद गरी प्राविधिक टोली पठाएर मर्मत गराएपछि बिहिबारदेखि पुनः खानेपानी सेवा सञ्चालनमा आएको हो ।
स्थानीय निश्चल सारु मगरका अनुसार खानेपानी सेवा बन्द हुँदा स्थानीय बासिन्दालाई करिब एक घण्टाको दुरीमा रहेको कुवाँ तथा खोल्साबाट पानी ल्याउनुपर्ने बाध्यता थियो । पालिकाको पहाडी तथा विकट मानिने गाउँमा हाल ६५ घरधुरी छन् । जहाँ करिब दुई किलोमिटर टाढा रहेको प्राकृतिक मुहानबाट सोलार प्रविधिको माध्यमबाट लिफ्टिङ गरी खानेपानी गाउँसम्म पु¥याइएको छ ।
गाउँपालिका अध्यक्ष प्रकाश विष्टले मानव जीवनमा अत्यावश्यक मानिने खानेपानी सेवामा कुनै पनि अवरोध नआओस् भनेर पालिकाले तत्काल मर्मतको व्यवस्था मिलाएको जानकारी दिए ।
उनले आगामी दिनमा यस्ता सेवा निरन्तर चलिरहून् भन्ने उद्देश्यले थप दिगो उपायका योजना निर्माण गरिने बताए । स्थानीयबासीले समस्या समाधानमा सक्रियता देखाएकोमा गाउँपालिकाप्रति आभार व्यक्त गरेका छन् ।