नाक, कान, घाटी रोग विशेषज्ञ डा. गौतम अब प्रतिष्ठानमा

दाङ,७ साउन । वीर अस्पताल काठमाडौंमा कार्यरत वरिष्ठ नाक, कान, घाटी रोग विशेषज्ञ सर्जन डा.दिपेन्द्र गौतमले अव दाङको घोराहीस्थीत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट सेवा सुरु गरेका छन् ।

डा गौतमले बुधबारदेखि प्रतिष्ठानमा हाजिर भएर सेवा दिन सुरु गरेका छन् । नाक, कान, घाटी रोग विशेषज्ञ भएर १५ बर्षदेखि काम गर्दै आएका गौतमले २०१० मा एमडी गरेका थिए । वीर अस्पतालमा १३ बर्ष काम गरेका गौतम नाक, कान, घाटी रोगको अनुभवी विशेषज्ञका रुपमा परिचित छन् । नेपाल सरकारको ११ औँ तहमा नाक, कान, घाटी रोगको प्रमुख कन्सल्टेण्ट सर्जनको रुपमा कार्यरत छन । एशोसियट प्रोफेसर भएको नौ बर्ष भएका विशेषज्ञ चिकित्सक गौतमले नाक, कान, घाटी रोग सम्वन्धी सानादेखि ठुला अप्रेसन अब प्रतिष्ठानमा हुने र जिल्ला बाहिर जान नपर्ने बताएका छन् ।

झापा स्थायी घरभइ काठमाडौं बस्दै आएका गौतमले बीर अस्पतालमा एमएस (इएनटी) बिभागको कोर्डिनेटर भई लामो समय काम गरेका थिए । प्रतिष्ठानका उपकुलपति डा. बिकास लामिछानेले नेपाल सरकारको ११ औँ तहमा कार्यरत विशेषज्ञ चिकित्सक प्रतिष्ठानको सर्त, नियममा रहेर काम गर्ने गरि दाङसँगै छिमेकी जिल्लाका नागरिकलाई सेवा दिन प्रतिष्ठानमा आएको बताए ।

प्रतिष्ठानका रजिस्ट्रार प्रा. श्याम लम्सालले एकपछि अर्को गर्दै प्रतिष्ठानमा विशेषज्ञ चिकित्सक थप्दै गएको र यसले दाङवासी जनतालाई स्वास्थ्य सेवा सहजत बन्दै गएको बताए । प्रतिष्ठान पछिल्लो समय बिरामीको उपचारका लागि भरपर्दो स्वास्थ्य स्थलका रुपमा विकास भएको भन्दै रजिष्ट्रार लम्सालले मुटु रोगको उपचारको लागि मुटु रोग विशेषज्ञसहितको क्याथेल्याब मेसिन पनि अब छिट्टै सन्चालनमा आउने बताएका छन् ।