रुकुम पश्चिम,७ साउन । रुकुम पश्चिममा भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता भएका छन् । मंगलबार राति टिपर भेरी नदीमा खसेको हो ।
जाजरकोटको नलगाड नगरपालिकाको दल्लीबाट जाजरकोटकै रिम्नातर्फ आउँदै गरेको रा१क १५०१ नम्बरको टिपर रुकुमपश्चिमको आठबीसकोट नगरपालिका १४ पिपलचौरस्थित भेरी नदीमा खसेको इलाका प्रहरी कार्यालय रिम्नाका प्रहरी नायव निरीक्षक शिउकुमार चौधरीले जानकारी दिएका छन् ।
प्रहरी नायव निरीक्षक चौधरीका अनुसार टिपरमा चालकसहित तीन जना सवार रहेका थिए । उनीहरुको अवस्था अज्ञात रहेको छ । उनका अनुसार बेपत्ताको खोजीका लागि रुकुमपश्चिम र जाजरकोटको प्रहरी टोली परिचालन गरिएको छ । भेरी नदीमा पानीको मात्रा अत्यधिक भएकाले खोजी गर्न कठिनाइ भइरहेको उनको भनाइ छ ।
बेपत्ता भएकाहरुको नाम, ठेगाना खुलेको छैन । दुर्घटना भएको टिपर भेरी करिडोरको काम गर्दै आएको यती विल्डर्सको हो ।