४३औँ बिपी स्मृति दिवस
लीलाधर वली / प्रमोद आचार्य
दाङ, ७ साउन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गेहेन्द्र गिरीले नेपाली कांग्रेसका संस्थापक, प्रथम जननिर्वाचित प्रधानमन्त्री एवम् महामानव विश्वेश्वरप्रसाद कोइरालाले प्रतिपादन गरेको राष्ट्रिय मेलमिलाप नीतिलाई आत्मसात गर्न सके वर्तमान समयमा देशको समृद्धि र नेपाली कांग्रेसको आन्तरिक संगठन सुदृढीकरणका लागि महत्वपूर्ण सहयोग पुग्ने बताएका छन् ।
नेपाली कांग्रेस दाङ जिल्ला कार्यसमितिले ४३ औँ बिपी स्मृति दिवसका अवसरमा मङ्गलवार दंगीशरण गाउँपालिका–६ प्रसडुवास्थित भानु माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजना गरेको वृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि केन्द्रीय सदस्य गिरीले पार्टीको आन्तरिक सङ्गठन सुधारका लागि पार्टीभित्र एकता कायम गर्दै संगठन सुधार गर्न मेलमिलापको नीति अत्यन्त आवश्यक रहेको बताएका हुन् ।
बिपीले प्रतिवादन गरेको राष्ट्रिय मेलमिलापको नीति आजको समयमा पनि समय सापेक्ष र सान्दर्भिक रहेको भन्दै केन्द्रीय सदस्य गिरीले भने, ‘पार्टी वा देशभित्र एकले अर्कारुको विरोध वा रिस गरेर होइन, हामी सबै एकढिक्का भएर पार्टीको संगठन सुधार र यसका माध्यमबाट समग्र देशको रूपान्तरणको यात्रामा लाग्न आवश्यक छ ।’
बिपीको आदर्श, मूल्य र मान्यता कांग्रेसका लागि मात्र नभई देशकै लागि दिशानिर्देश बनेको भन्दै नेता गिरीले त्यही कारण स्मृति दिवसका रूपमा साउन ६ गते, जन्मजयन्तीका रूपमा भदौ २४ गते र राष्ट्रिय मेलमिलापको नीति लिएर भारतबाट स्वदेश फर्किएको दिनका रूपमा पुस १६ गते बिपीलाई सम्झने गरेको बताए ।
केन्द्रीय सदस्य गिरीले कांग्रेसको संगठनलाई बलियो बनाउँदै आगामी निर्वाचनमा पहिलो पार्टी बनाउन कांग्रेसलाई आम नागरिकसँग जोड्नुपर्ने र त्यसका लागि ग्रामीण स्तरबाट संगठन निर्माणमा लाग्नुपर्ने बताए । नेपाली कांग्रेस दाङका जिल्ला सभापति शंकरप्रसाद डाँगीको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री खगराज पाण्डेयले कविता वाचन गर्दै भावनात्मक रूपमा कांग्रेसलाई खराब प्रवृत्ति त्यागेर समग्र पार्टी र देश निर्माणमा लाग्न आग्रह गरेका थिए ।

कार्यक्रममा बोल्ने अन्य वक्ताले बिपीको सिद्धान्त र स्थापित मूल्य मान्यताले नै कांग्रेस आजको स्थितिमा आएको भन्दै संगठनलाई बलियो बनाउँदै आगामी निर्वाचनमा पनि प्रमुख शक्तिका रूपमा स्थापित गर्न आन्तरिक एकता आवश्यक रहेको बताएका थिए ।
त्यसका लागि नेतादेखि कार्यकर्ताले महामानव बिपीले प्रतिवादन गरेका विचारलाई आत्मसात गर्न सके मात्र सच्चा श्रद्धाञ्जली हुने बताए । राष्ट्रिय एकता, सामाजिक सद्भावलाई बलियो बनाउन बिपी कोइरालाले प्रतिपदन गरेका सिद्धान्त अहिले पनि उत्तिकै सान्दर्भिक रहेको भन्दै सहभागीले भाषणमा मात्र नभएर व्यवहारमै लागु गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा नेपाली कांग्रेस दाङका पूर्वजिल्ला सभापतिहरू विरकेशवरी गौतम, घनश्याम रेग्मी, कीर्तिबहादुर खड्का, राष्ट्रिय सभाका पूर्वप्रमुख सचेतक अनिता देवकोटा, नेपाली कांग्रेसका नेता तथा लुम्बिनी प्रदेश पूर्वप्रदेश माननीय शंकर गिरी, नेपाली कांग्रेस महासमिति सदस्य भुपबहादुर डाँगी, नेपाली कांग्रेस दाङका नेता केशव आचार्य, नेपाली कांग्रेसका क्षेत्रीय सभापतिहरू क्षेत्र नं. १ का भेषराज पाण्डेय, क्षेत्र नं. २ का भीमप्रकाश खड्का, क्षेत्र नं. ३ का जगत खड्का, महाधिवेशन प्रतिनिधि मधु न्यौपाने, नेपाल थारू संघका केन्द्रीय सदस्य गणेश चौधरी, जिल्ला समन्वय समिति दाङका सदस्य सरस्वती नेपाली, नेपाली कांग्रेस दंगीशरण गाउँपालिका सभापति एवम् दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमका अतिथिलाई नेपाली कांग्रेस दाङका उपसभापतिद्वय कमानसिंह भारती र गिरिराज सुवेदीले खादा लगाएर स्वागत तथा सम्मान गरेका थिए । कार्यक्रमको सहजीकरण नेपाली कांग्रेस दाङका जिल्ला सचिव अर्जुनकुमार योगीले गरेका थिए ।
यसैबिच नेपाली कांग्रेसका संस्थापक, प्रथम जननिर्वाचित प्रधानमन्त्री एवम् महामानव विश्वेश्वरप्रसाद कोइरालाको ४३ औँ स्मृति दिवसको अवसरमा दंगीशरण गाउँपालिका–६ प्रसडुवास्थित भानु माध्यमिक विद्यालयको जग्गामा वृक्षारोपण गरिएको छ । विद्यालयको खाली रहेको जग्गामा विभिन्न नौ प्रजातिका दुई सय ५० बढी बिरुवा रोपिएको नेपाली कांग्रेस दाङका जिल्ला सचिव योगीले जानकारी दिएका छन् ।
जिल्ला सचिव योगीका अनुसार गुल्मोहर, गुलाव, कपुर, अम्बा, टिमुर, अमला, दालचिनी, खयर, टिक, कन्जीलगायतका बिरुवा रोपिएको थियो । वृक्षारोपणमा नेपाली कांग्रेसका नेता कार्यकर्तासँगै स्थानीयको सहभागिता रहेको थियो ।