बिपी कोइरालाबाट के सिक्ने ?

किरणकिशोर घिमिरे

नेपाली राजनीतिका शिखर पुरुष एवं नेपालको प्रजातान्त्रिक आन्दोलनका धरोहर, प्रथम जननिर्वाचित प्रधानमन्त्री, नेपाली कांग्रेसका संस्थापक नेता, दक्षिण एसियामा नै उँचो राजनीतिक कद स्थापित गर्न सफल बीपी कोइरालाको स्मरणमा आज नेपाली कांग्रेसले ४३औँ बीपी स्मृति दिवस मनाउँदै छ ।

बीपी कोइरालाको व्यक्तित्वमा पिताजी कृष्णप्रसाद कोइरालाको विद्रोही चेतको प्रभाव देखिन्छ । पिताजी कृष्णप्रसाद कोइरालाले तत्कालीन राणा शासकका विरुद्ध गरिब नेपालीको फाटेका लुगाको पोको कोसेली रुपमा पठाउनु भएको थियो । त्यसै कारणले उहाँको परिवार नेपालबाट निर्वासनमा भारत जानुपर्ने बाध्यात्मक अवस्था आयो । बाबु कृष्णप्रसाद निर्वासनमा भएका बेला साइँला छोराको रुपमा बीपीको जन्म बनारसमा भएको थियो ।

उहाँ स्कुले जीवनमा रहेकै बेलामा भारतीय स्वतन्त्रताका स्वतन्त्रता संग्रामका क्रममा महात्मा गान्धी बनारसमा कार्यक्रममा आउँदा त्यो कार्यक्रममा बिपी कोइराला पनि सहभागी हुन जानु त्यो क्विक इन्डिया मुभमेन्टमा गान्धीको व्यक्तित्व गान्धीको सत्य प्रतिको निष्ठा स्वतन्त्रता प्रतिको लगाव र अहिंसात्मक धारबाट पनि स्वतन्त्रता प्राप्ति गर्न सकिन्छ भन्ने दृढ विश्वास गान्धीको थियो, त्यो उहाँमा परेको देखिन्छ ।

त्यसको कारण उहाँ भारत छोडो आन्दोलनका गतिविधिमा संलग्न हुँदै जानु र करिब चार वर्षको जेल जीवन बिपी कोइरालाले भोग्नु भयो । यसको कारण स्वतन्त्रताका सन्दर्भमा अन्यायका विरुद्धमा जनताका र न्यायका पक्षमा उभिनु पर्छ भन्ने चेत उहाँसँग रहेको पाइन्छ । त्यसको मूल उद्देश्य नेपालमा राणा शासनका विरुद्ध जो मध्य युगीन शासन व्यवस्थाका विरुद्ध प्रजातन्त्रका पक्षमा सामाजिक न्यायका पक्षमा स्वतन्त्रतामाका पक्षमा जनमत सिर्जना गर्नु र नेपालमा प्रजातन्त्र स्थापना गरी रैतीबाट नेपाली जनतालाई नागरिकको रुपमा उभ्याउनु पुनः उद्देश्य देखिन्छ ।

यस सन्दर्भमा रुसको प्रभाव स्वतन्त्रता समानता र भाइचारा जो फ्रान्सेली क्रान्तिको प्रभाव पनि उहाँको व्यक्तिगत रुपमा ठूलो प्रभाव परेको देखिन्छ । आर्थिक नीतिका सन्दर्भमा सामाजिक न्यायका सन्दर्भमा माक्सवादी चिन्तन माक्सवादी विचारधाराको गहिरो प्रभाव बिपी कोइरालामा परेको छ । यस सन्दर्भमा स्वतन्त्रताका सन्दर्भमा बिपी पूर्ण प्रजातन्त्रवादी, पूर्ण स्वतन्त्र ताका पक्षपाती हुनुहुन्थ्यो भने आर्थिक नीतिका सन्दर्भमा सामाजिक न्यायका पक्षपाति हुनुहुन्थ्यो र विकासका मोडेलका सन्दर्भमा बिपी कोइराला जर्मन विचारक सुमाकर जो उनी स्माल इज ब्युटिफुल भन्थे उनैसँग नजिक भएको हामी पाउँछौं ।

यसरी बिपी कोइरालाको व्यक्तित्वमा तीन वटा प्रभावहरु विद्रोहको चेत पिताजीबाट, स्वतन्त्रता प्राप्तिको चेतना चेतनशीलता र प्रवृति व्यक्तित्वको रुपमा गान्धीसँग आर्थिक विचारका सन्दर्भमा माक्ससँग समानता स्वतन्त्रता र भाइचाराका सन्दर्भमा फ्रान्सेली राज्य क्रान्ति र विकासका मोडेलका सन्दर्भमा सुमाकरको प्रभाव रहेको सुमाकरसंग नजिक भएको देखिन्छ ।

प्रजातन्त्र र स्वतन्त्रताका लागि बिपी कोइरालालाई कसैसँग पनि सम्झौता नगर्ने बिपीले २०१५ सालको आम निर्वाचनपछि बनेको पहिलो जननिर्वाचित प्रधानमन्त्रीको रुपमा उहाँले आफ्ना नीतिहरु कार्यान्वयनमा लागि रहेका बेला धेरै समय काम त गर्न पाउनु भएन । तर उहाँले प्रधानमन्त्री र मन्त्रीहरुकै तलब सुविधा घटाएर गज्जबको सन्देश दिनु भएको थियो । त्यसैगरी उहाँले आफू प्रधानमन्त्री हुँदा योजना आयोगमा एउटा गरिब किसानको हल जोतेको किसानको फोटो राख्न लगाउनु भयो । उहाँले त्यसलाई हामी गरिब जनताको पक्षमा छौं भन्ने सन्देश पनि स्पष्टरुपले दिनुभयो ।

जुन कुरा अहिले पनि बिपीलाई सम्झदा आउने पहिलो प्रसंगजस्तै बनेको छ । राजनीतिमा जसरी सत्ता पद प्राप्तिले अहिले हामीमा असाध्यै नराम्रो प्रभाव परेको छ । नेपाली राजनीतिक, सामाजिक, ब्युरोक्रेटिक नेतृत्वहरुमा यो सन्दर्भमा बिपीले प्रधानमन्त्रीको कुर्सीलाई फाटेको जुत्ता भन्ने टिप्पणी गर्नुभयो । यसबाट उहाँको स्पस्ट सोचलाई प्रतिविम्बित गर्छ । यदि बिपी कोइरालाले पदलाई प्राथमिकता दिएको भए सत्तालाई प्राथमिकता दिएको भए असंवैधानिक कदममा सहमत भएको भए अकण्टक रुपमा आजीवन प्रधानमन्त्रीको कुरा कुर्सीमा बस्न सक्ने अवस्था थियो ।

बिपीलाई पटक पटक तत्कालिन राजा महेन्द्रले भन्दा त्यसलाई तिलाञ्जली दिएर प्रजातन्त्र, स्वतन्त्रता र सामाजिक न्यायका पक्षलाई अनुशरण गर्नुभयो । समाजको निर्माणमा जो बिपीका ध्येय थियो । त्यसलाई राजा महेन्द्रको उग्र महत्वाकांक्षाका कारण प्रगतिशील पथमा सामाजिक रुपान्तरणका पथमा अगाडि बढेको प्रचण्ड बहुमतको सरकारलाई उग्र महत्वाकांक्षाले जब डेढ वर्षकै समावधिमा संविधान भन्दा बाहिर रहेर राजा महेन्द्रले सेनाको भरमा पच्युत गर्ने सरकार बर्खास्त गर्ने काम गरे त्यसले नेपाली समाजलाई अध्यारो ढोका तिर लग्यो ।

त्यो घटना नै भागेर भारत गएको राजालाई प्रस्थापित गराउने कांग्रेसमाथि धावा बोलेको दिन २०१७ साल पुस १ गते नै नेपालमा राजतन्त्रको अन्तको सुरुवात भयो । अहिले गणतन्त्रात्मक देश नेपालमा बिपी कोइरालाले स्थापना गरेको नेपाली कांग्रेस सत्तामा छ । उहाँले जुन त्याग र तपस्या गरेर यहाँसम्म ल्याइ पुर्‍याउन लागि पर्नु भयो तर अहिले बिपीको सिद्धान्त विर्सिएको चर्चा चल्ने कुरा केही हदसम्म स्विकार गर्न अहिलेको नेतृत्व तयार हुनुपर्छ ।

नेपाली राजनीतिमा बिपी नाममात्र होइन, उहाँले प्रतिपादन गरेको समाजवादको सिद्धान्त एशियाको राजनीतिमा पनि उत्तिकै सान्दर्भिक छ । त्यसैलै आज साउन ६ गते ४३औं स्मृति दिवसको अवसरमा बिपीका सिद्धान्तलाई आत्मसाथ गर्दै अघि बढ्यौ भने सच्चारुपमा बिपीलाई श्रद्धाञ्जली हुन्छ ।