दाङमा घरेलु तथा साना उद्योग : दर्ता ४४९, बन्द ४४४

लीलाधर वली
दाङ, ५ साउन । दाङमा एक वर्षको अवधिमा साढे चार सय घरेलु तथा साना उद्योग दर्ता भएका छन् । घरेलु तथा साना उद्योग कार्यालय दाङका अनुसार जिल्लामा आर्थिक वर्ष २०८१÷०८२ मा चार सय ४९ वटा घरेलु उद्योग दर्ता हुँदा चार सय ४४ वटा उद्योग बन्द ९लगत कट्टा गरिएको० भएका छन् । कार्यालयका अनुसार असार महिनामा मात्र २३ वटा नयाँ घरेलु तथा साना उद्योग दर्ता हुँदा एक सय ६ वटाको लगत कट्टा गरिएको छ ।

त्यसैगरी आर्थिक बर्ष २०८१÷०८२ मा एक हजार ७४ वटा घरेलु तथा साना उद्योग नवीकरण हुँदा चार सय ८९ वटा उद्योगको उद्देश्य संशोधन भएको घरेलु तथा साना उद्योग कार्यालय दाङले जनाएको छ । कार्यालयका अनुसार उद्योगअन्तर्गत कृषि, जडिबुटीलगायतका थपिएका छन् ।

त्यसैगरी जिल्लामा एक वर्षको अवधिमा पाँच सय ७९ वाणिज्यतर्फ फर्म दर्ता हुँदा पाँच सय ५५ वटाको लगत कट्टा गरिएको घरेलु तथा साना उद्योग कार्यालय दाङका उद्यम विकास सहजकर्ता अनिल चौधरीले जानकारी दिएका छन् । उद्यम विकास सहजकर्ता चौधरीका अनुसार एक हजार तीन सय ५९ फर्म नवीकरण हुँदा ६ सय १६ फर्म संशोधन भएका छन् ।

जिल्लामा एक वर्षको अवधिमा उद्योगतर्फ ८० करोड ४७ लाख ७८ हजार दुई सय ५९ रुपैयाँ र वाणिज्यतर्फ एक अर्ब पाँच करोड ८३ लाख ३१ हजार रुपैयाँ गरेर एक अर्ब ८६ करोड ३१ लाख नौ हजार दुई सय ५९ रुपैयाँ लगानी भएको घरेलु तथा साना उद्योग कार्यालय दाङका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिएका छन् ।

लगत कट्टा गर्ने व्यवसायीले व्यवसाय नचलेर ऋणमा फसेको, विदेश जानु पर्ने भएकाले व्यवसाय बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको बताउने गरेको सूचना अधिकारी पौडेल बताए । ‘जिल्लामा नयाँ व्यवसाय दर्ता गर्ने र बन्द गर्नेको वार्षिक तथ्याङ्क हेर्दा एकै खाले देखिन्छ’,कार्यालयका सूचना अधिकारी पौडेलले भने,‘व्यवसायिक क्षेत्रमा खास्सै उत्साह देखेको छैन ।’

एक हजार बढीलाई रोजगारी सिर्जना

जिल्लामा एक वर्षको अवधिमा एक हजार २८ वटा घरेलु तथा साना उद्योगसँगै वाणिज्य फर्म दर्ता हुँदा एक हजार चार सय १६ जनालाई रोजगारी सिर्जना भएको छ । घरेलु तथा साना उद्योग कार्यालय दाङका अनुसार जसमा नौ सय २२ जना पुरुष र चार सय ९४ जना महिला रहेका छन् । कार्यालयका अनुसार चार सय दश महिला र पाँच सय ५९ जना पुरुष गरेर नौ सय ६९ जना नयाँ उद्यमी जिल्लामा थपिएका छन् ।

डेढ करोड राजस्व सङ्कलन

आर्थिक वर्ष २०८१÷०८२ मा घरेलु तथा साना उद्योग कार्यालयले डेढ करोड बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयका सूचना अधिकारी पौडेलका अनुसार उद्योगतर्फ ६६ लाख ४९ हजार ६ सय ५२ रुपैयाँ र वाणिज्यतर्फ ९३ लाख ५८ हजार ६ सय १४ रुपैयाँ गरेर एक वर्षको अवधिमा एक करोड ६० लाख ११ हजार १६ रुपैयाँ राजस्व सङ्कलन गरिएको छ ।

कार्यालयले असार महिना मात्र १५ लाख ९९ हजार दुई सय ५० रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । जसमा उद्योगतर्फ ६ लाख ४९ हजार चार सय ५० रुपैयाँ र वाणिज्यतर्फ नौ लाख ४९ हजार आठ सय रुपैयाँ राजस्व सङ्कलन गरेको कार्यालयले जनाएको छ ।